सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • Breaking News
  • भरतपुरको दिव्यनगरमा मस्तिष्कघात भएर अपाङ्गता भएका बालबालिकालाई स्रोत कक्षा सुरु
Breaking News

भरतपुरको दिव्यनगरमा मस्तिष्कघात भएर अपाङ्गता भएका बालबालिकालाई स्रोत कक्षा सुरु

चितवन।

 

विज्ञापन

भरतपुर महानगरपालिकाले दिव्यनगरमा मस्तिष्कघात भएर हिडडुल गर्न र बोल्न नसक्ने बालबालिकाको लागि स्रोत कक्षाको सुरुवात गरेको छ ।

विज्ञापन

 

दिव्यनगरमा रहेको आदर्श माध्यमिक विद्ययालयको ६४ औं वार्षिकोत्सवको अवसरमा उक्त स्रोत कक्षाको आज महानगरपालकाकी मेयर रेनु दाहालले उद्घाटन गरेकी हुन् ।
विद्यालयलाई वार्षिकोत्सवको शुभकामना दिँदै मेयर दाहालले महानगरपालिकाले शिक्षाको पहुँचमा सबै बालबालिकालाई पु¥याउन अटिजम विद्यालय स्थापना गरेको बताइन् । उनको अनुसार आर्दश माविकै क्षेत्रमा रहेको भवनलाई रङ रोगन गरी यस अन्य मस्तिष्कघात भएर अपाङ्गता भएका बालबालिकाको लागि स्रोत केन्द्र सञ्चालनमा ल्याइएको हो ।
विद्यालयमा निःशुल्क पढ्न पाउनुपर्ने बालबालिकाको अधिकारलाई मध्यनजर गर्दै महानगरले सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन लक्ष्य लिएको बताउँदै उनले भनिन्,‘यो स्रोत केन्द्रलाई आवश्यक पर्ने थप स्रोतसाधन महानगरपालिकाले आगामी दिनमा उपलब्ध गराउँदै जान्छ ।’
त्यस्तै स्रोत केन्द्रमा टाढाका विद्यार्थी पनि रहेकोले विद्यालयमा बसको आवश्यक भएको विषय कार्यक्रममा सहभागीले उठाएका छन् । तर, यस वर्ष विद्यालय बसको कार्यक्रम नभएकोले र गत वर्ष बस प्रदान गरेकाले विद्ययालयले राम्रो गरे आगामी वर्ष महानगरले यस कार्यक्रमलाई पनि अगाडि बढाउने मेयर दाहालले बताइन् । शैक्षिक क्षेत्रमा विकास गरेकै कारण ५ वर्षअघि विद्यार्थीको संख्या क्रमश घट्दो क्रममा रहेको आदर्श माविमा अहिले विद्यार्थीको संख्या बढेर ७०० को हाराहारीमा पुगेको छ, जसको कारण आज यस विद्ययालयमा आउँदा आफूलाई विश्वविद्यालय वा क्याम्पसमै आएको सरह अनुभूति हुने उनले बताइन् ।
महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्रप्रसाद पौडेलले संविधानले प्रत्याभूत गरेको अपङ्गता भएको बालबालिकाको उचित शिक्षा प्राप्त गर्ने अधिकारलाई सम्मान गर्दै महानगरले सबै बालबालिकाको शैक्षिक अधिकार सुनिश्चितगर्न प्रयत्न गर्दै आएको बताए । भरपुर २६ मा मस्तिष्क पक्षघात भएका बालबालिकाहरु जुन नियमित विद्यालय जान नसक्ने, थेरापीसहितको शिक्षण सिकाई गर्नुपर्ने अवस्थाका बालबालिकाहरु विगत दुई वर्ष देखि अभिभावकहरुकै पहलमा सञ्चालन हुँदै आएको जानकारी दिए ।
उनले विगत दुई वर्षदेखि पीडित अभिभावकहरुकै पहलमा सञ्चालन हुँदै आएको मस्तिष्क पक्षघात स्रोत कक्षाको बारेमा महानगरपालिकालाई थाहा भए पश्चात महानगरले आदर्श विद्यालयको सूचनाकेन्द्र रहेको उक्त भवनमा रंगरोगन गरी आवश्यक पर्ने पूर्वाधार, कक्षाकोठा, शौचालयलगायतको व्यवस्थापन गरेर स्रोत कक्षा सञ्चालनमा आएको बताए ।
उनले यस स्रोत कक्षामा विशेष प्रकारको थेरापी गराउने बताए । उनले भने, ‘कठिन अवस्था भएको मस्तिष्कघात भएका बालबालिकालाई विशेष प्रकारको थेरापी गराउँदै दैनिक क्रियाकलापको बारेमा सिकाउँदै जानेछौँ । ’

 

 

मस्तिष्कघातका लागि अभिभावक स्वाबलम्बन समूह भरतपुर २६ का अध्यक्ष लक्ष्मीकान्त घिमिरेले स्रोत कक्षामा १० जना अटिजम भएका बालबालिकाहरु रहेको बताए । उनले महानगरभित्र ६५ जना मस्तिष्क पक्षघात भएका बालबालिका छन् । स्रोतसाधनको अभावका कारण उनीहरुलाई स्रोत कक्षासम्म ल्याउन कठिनाई भएको उनको भनाइ छ । उनले भने,‘संस्थाको उद्देश्य पीडित अभिभावकलाई मस्तिष्क पक्षघात सम्बन्धी तालिम दिने हो । बालबालिकालाई दैनिकी कृयाकलापलाई कसरी सहजहुन्छ त भनि सिकाउने हो ।’उनले यस तालिमले बालबालिकाहरुको दैनिकी क्रियाकलापलाई सहज बनाउन सहयोग हुने बताए ।
स्रोत केन्द्रकी स्रोत शिक्षिका हरिकला भुसालले आफू पनि एक पक्षघात बच्चाको अभिभावक भएकोले बच्चाको हेरचाहा गर्दा देशका विभिन्न ठाउँमा यससम्बन्धी कार्यक्रममा सहभागी भएको र आजबाट सञ्चालनमा आएको यस स्रोत केन्द्रमा आफू प्रतिस्पर्धाबाट छनोट भएको जानकारी दिइन् । उनकाअनुसार यस केन्द्रमा बच्चाको क्षमता अनुसार उनीहरुलाई दैनिक क्रियाकलाप गर्न लगाइन्छ । साथैै पढ्न चाहने बच्चालाई पनि उनीहरुको बौद्धिक क्षमताका आधारमा गीतबाट पढ्न सिकाइन्छ । तर, आफूहरुको लक्ष्य चितवनलगायत सबै क्षेत्रका बालबालिकालाई समेट्ने भए पनि यातायातको व्यवस्था नहुँदा निकै कठिन भएको भुसालको दुःखेसो छ । यसअघि भरतपुर महानगरपालिका वडा नम्बर–१० बालमन्दिर रोडमा अटिजम विद्यालय सञ्चालनमा ल्याएको थियो ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस