चितवन ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसी सम्झौताबारे सरकार जिम्मेवार नबनेको आरोप लगाउनुभएको छ । उपाध्यक्ष पाण्डेले एमसीसी संसदबाट पारित गर्ने विषयलाई सरकारले बुद्धिमतापूर्ण ढङ्गले अघि नबढाए देश राजनीतिक तथा आर्थिक सङ्कटमा फस्नसक्ने चेतावनीसमेत दिनुभयो ।
विज्ञापन
आज सोमवार चितवनको भरतपुरमा स्थानीय सञ्चारकर्मीसँच उहाँले एमसीसीले गर्दा अमेरिकासँगको सम्बन्धमा जटिलता आए त्यसले देशमा राजनीतिक तथा आर्थिक सङ्कट आउन सक्ने तर्क गर्नुभएको हो । उपाध्यक्ष पाण्डेले एमसीसी अघि बढाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दलभित्रै गम्भीर असहमति रहेको दाबी पनि गर्नुभयो ।
विज्ञापन
उहाँले भन्नुभयो, ‘जनतामा अहिले एमसीसीलाई लिएर छलफल भइरहेको छ । तर संसदबाट अनुमोदन गरेर मात्रै त्यो पैसा दिन्छु भनेर अमेरिकाको एमसीसी फन्डले भनिरहेको कारणले अरू धेरै सहायता क्याबिनेटले निर्णय गरेर दुई पक्षीय निर्णयमा स्वीकृत गर्ने गरिन्छ ।
संसदबाटै अनुमोदन चाहिन्छ भन्ने सर्त नेपाल सरकारले पनि मानिदिएको कारणले अहिले संसदमा नगइकन यो म दिन्नँ भन्ने र यो पैसा लिनुहुन्न भन्ने बहस विवाद पनि तीव्र छ । यही बीचमा सरकारले सम्भवतः यो अधिवेशन यति छिटो डाक्याे ? भन्दा एमसीसी पारित गर्न भन्ने प्रसङ्ग चलिराख्या छ । हिजै मात्रै पनि सर्वदलीय बैठक बसेको कुरा छ । बैठकमा हाम्रो पार्टी सहभागी भएन । तर उनीहरूको बैठक विना निष्कर्ष टुङ्गियो ।
अहिले पनि एमसीसीलाई लिएर गर्नुहुँदैन, यसलाई लिनुहुँदैन भन्ने दलहरूको भनाइको कारणले गर्दा प्रधानमन्त्री र अन्य दलहरूकै बीचमा पनि गम्भीर असहमती देखिन्छ । प्रधानमन्त्री यो गर्ने कि नगर्ने ? भन्नेमा छन् । र यो घटनाले नेपालको अहिले देखापरेका कतिपय राजनीतिक सङ्कटलाई गहिराे बनाउने हाे कि भन्ने अवस्था पनि देखा पर्दैछ ।
यस्तो बीचमा नेपाल छ । नेपाल सरकारले कुनै देशले दिएको पैसा लियो वा लिएन भन्ने कुरा ठूलो कुरा होइन । तर यो राजनीतिक सम्बन्धमा गएर समस्या सृजना गरिदियो भने हामीले गम्भीर क्षति बेहाेर्नुपर्ने हुन्छ । जस्तो:– अमेरिकासँगको सम्बन्ध जटिल बनिदियो भने भोलि वैदेशिक सहायताको पक्ष कमजोर बन्न गएर नेपालले एक प्रकारको राजनीतिक र आर्थिक सङ्कट भोग्नुपर्ने अवस्था आउन सक्छ । हामीले बडो बुद्धिमतापूर्वक यो समस्याको समाधान खोज्नुपर्ने हुन्छ । तर सरकार यो ढङ्गले जिम्मेवार बनेर काम गर्न खोजिरहेको छैन ।’
उपाध्यक्ष पाण्डेले देश आर्थिक सङ्कट उन्मुख रहेको पनि दोहोर्याउनुभयाे ।
फेसबुक प्रतिक्रियाहरु