काठमाडौं ।
भर्खरै मात्र दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल फेरि विभाजनको डिलमा पुगेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले जिल्ला तथा प्रदेशमा गरेको मनोनयनका विषयलाई लिएर पार्टीभित्र तिब्र विवाद उत्पन्न भएपछि नेताहरूले विभिन्न विषयमा बहस थालेका छन् ।
विज्ञापन
ठाकुरले गरेको मनोनयनप्रति असन्तुष्ट रहँदै आएको पक्षले पार्टी कार्यालयमै तालाबन्दी गर्ने तयारी गरिएको छ । पछिल्लो समय लोसपा नेपालभित्र अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षबीच द्वन्द्व बढ्दै गइरहेपनि थामथुम पार्दै आइरहेका थिए । अहिले भने उनीहरूबीचको द्वन्द्व सतहमा आएको छ ।
विज्ञापन
अध्यक्ष ठाकुरले गरेको पछिल्लो मनोनयनप्रति महतोपक्ष लगायत ठुलो शक्ति असन्तुष्ट देखिएको छ । आन्तरिक द्वन्द्वकै क्रममा असन्तुष्ट पक्षले पार्टी कार्यालयमा तालाबन्दीको तयारी गरिरहेको बताइएको छ । पार्टीमा विवाद बढ्दै गएपछि महतो पक्ष र अन्य असन्तुष्ट पक्षबीच छलफल भएको र अलग पार्टी बनाउनेबारे चर्चा भएको बताइएको छ ।
अध्यक्ष ठाकुरले मंसिर २५ गते प्रदेश २ को लोसपा अध्यक्षमा जितेन्द्र सोनललाई मनोनयन गरेपछि जनकपुरमा लोसपाका ३० जना नेता तथा कार्यकर्ताले तत्कालै विज्ञप्ति जारी गर्दै विरोध जनाएका थिए । पार्टीका वरिष्ठ नेता महतोकै इशारामा उनीहरुले विज्ञप्ति जारी गरेको बताइएको छ ।
एकल ढंगबाट भइरहेको मनोनयनको विरुद्ध पार्टीको ठुलो शक्ति संघर्षमा उत्रिएको छ । सामूहिक निर्णयका आधारमा पार्टी सञ्चालन गर्ने गरी एकल नेतृत्वका लागि म्याण्डेट दिए पनि नेतृत्व वर्गले मनोमानी गरिरहेका कारण बाध्य भएर आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको नेताहरूको भनाई छ ।
कसैलाई एउटा पनि पद नदिइएको तर कसैलाई तीन–तीनवटा पद दिएर पार्टीमा अराजकता निम्त्याइएको भन्दै ठाकुरको चर्को आलोचना पार्टीभित्र हुने गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु