चितवन ।
चितवनमा मानिसलाई अपहरण गरी ज्यान मार्ने धम्की दिँदै २५ लाख रुपैयाँ माग गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
विज्ञापन
कात्तिक ८ गते भरतपुर महानगरपालिका वडा नं. १ बस्ने सोमराज सुवेदीलाई फोन गरी अपहरणको धम्की दिने ५५ वर्षको रामचन्द्र थापालाई प्रहरीले भरतपुरको मालपोत चोकबाट रकम माग गर्दै गरेको अवस्थामा सोमबार पक्राउ गरेको हो । उनले एनसेलका अपरिचत नम्बरहरुबाट बारम्बार फोन गरी हिन्दी भाषाको प्रयोग गरी सुवेदीलाई धम्क्याएका थिए । थापालाई प्रहरीले रकम माग गरिरहेकै बखत भरतपुरस्थित मालपोतचोकबाट पक्राउ गरेको हो । थापा यसअघि पनि विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीेले पुष्टि गरेको छ । उनीविरुद्ध २०६६ जेठ २७ मा चोरीसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो । त्यसैगरी सोही साल असार ३ गते अवैध हतियार देखाई लुटपाट गरेको अभियोगमा डाँका मुद्दा समेत दर्ता भएको थियो । त्यसैगरी प्रहरी वृत सातदोबाटो, ललितपुरमा थापाविरुद्ध लागूऔषधसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो । २०७५ मंसिर १३ गते जिप्रका चितवनमा उनीविरुद्ध डाँकासम्बन्धी कसूरमा मुद्दा दर्ता भएको पाइएको छ । उनी ९ वर्ष कैद तोकिएकोमा २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा ४ वर्ष ६ महिना ३ दिन कैद भुक्तान गरी कारागार कार्यालय भरतपुरबाट आम माफी पाई छुटेका थिए ।
फेसबुक प्रतिक्रियाहरु