– हर्षराज सुवेदी
२०७० साल साउन महिनाअघिको कुरा । साँझ परेपछि सधैँझैँ बेलु्काको खाजा खान रामबालक शाह त्यही होटलमा गयो जहाँ ऊ वर्षौदेखि जाने गथ्र्यो । त्यहाँ पुगेपछिको माहोल रङ्गीन हुन्थ्यो । जीउ त्यसै त्यसै तरङ्गित हुन्थ्यो, सर्सराउँथ्यो । त्यहाँ प्रवाहित हुने दारूपानीको गन्धबाट थकित शरीरमा जीवन सञ्चारित हुन्थ्यो । कुनाको टेबुलतिर ऊ बस्थ्यो । त्यो दिन पनि त्यहीँ बस्यो । स्टिलको गिलासभरि भेलीको झोल (दारूपानी) आउँथ्यो, आयोे । प्लेटमा चिउरा र कुखुराको खुट्टा, टाउको हुन्थ्यो सधैँ । चिरिप्प एक चुस्की तानेपछि एक फाँको चिउरा मुखमा हाल्यो । चिउरासँगसँगै मसिनो सियो मुखभित्र पुगेको थाहा भयो । सियोबाट घातक असर नहुँदै मुखको गाँस हातमा निकाल्यो । पहिला आफूले हेर्यो, नजिकै अर्कोलाई देखायो । निधो भयो, सियो नै हो । अहो गिजामा रोपिएको भए, जिउरोमा गडेको भए ! साहुलाई बोलाएर देखायो, प्रस्ट सियो थियो, टल्क्यो । होटल साहु नाजवाफ भयो, इन्कार गर्ने ठाउँ थिएन । वर्षौंदेखि होटल साहु र रामबालकको खुवाउने, खाने चिनजानले गर्दा अप्रिय भनाभन तथा झैझगडा भएन । एकछिनपछि होटलको वातावरण पूर्ववत् सुचारू भयो । मानौँ, त्यहाँ केही भएकै छैन ।
विज्ञापन
दोस्रो घटना २०६९ माघ २१ गते घटित भएको हो । भरतपुरबाट तीन जना गैँडाकोटबाट राजेन्द्र न्यौपानेसहित ४ जना बुटवल जाँदै थियौँ । बुटवल, चौराहा पुग्दा ढिलै भयो, भोक लाग्यो । बिहानको खाना खाने समय गुज्रिसकेको थियो । बेला न कुबेला इष्टमित्र गुहार्नुभन्दा होटल खोज्नतिर लागियो । चोकदेखि उत्तर बुटवलतिर लाग्दा देब्रेतर्फ आकर्षक सजावटसहितको ‘सिद्धार्थ कटेज एण्ट रेस्टुरेन्ट’ देखा प¥यो । होटलभित्र छिरियो । मेनु हेरियो । तन्दुरी रोटीका साथ रहरको फ्राइ दाल र मिसमास तरकारी खाने सहमति भयो । भोकले तिरमिराएको अवस्थामा थपी थपी खाना खाइयो । भोक मीठो कि भोजन भनेजस्तै । हामी तीन जना थप्दै खाँदै थियौँ, राजेन्द्र उठेर बाथरुम तिर लागे । हामी तीन जना खाना सकेर मात्र उठ्यौँ । खाँदाखाँदैको तन्दुरी केही तरकारी र थोरै दाल छोडेर उठेका रहेछन् राजेन्द्र । राजेन्द्रले हामी तीनैजनालाई काउन्टर अगाडि बोलाए । उनको भागमा परेको दालको कचौरामा अन्दाजी डेढ इन्चको स्टिलको पेचकिला डुबेको रहेछ । हाम्रो आग्रहअनुसार सेवामा खटिएको वेटरमार्फत साहु÷मेनेजरलाई उभ्याइयो । राजेन्द्रले उनीसँग छेडखान गर्न लागे । प्रशासनमा जाने धम्की दिए । होटल स्टाफ लापर्बाहीप्रति नतमस्तक भए, गले । खानाको रकम नलिने भए । तैपनि राजेन्द्रलाई चित्त बुझेको थिएन । तर, हामीले उसलाई सम्झाइबुझाई गर्यौँ । काम गर्दा मानवीय गल्ती हुन्छ भन्यौँ र होटलवालाले खानाको रकम लिन नमान्दानमान्दै पनि भुक्तानी दिएर बुटवलतिर लाग्यौँ ।
२०३८/३९ सालतिर हो, भरतपुरमा प्रख्यात र चलनचल्तीको एउटा मात्र होटल ‘टाइगर होटल’ थियो । गाउँ, जिल्लादेखि केन्द्रसम्मका नेता, कर्मचारी, जनप्रतिनिधि र साधारण नागरिकसमेतको भीडभाड भइरहने होटलको सञ्चालक हुनुहुन्थ्यो कविराज गिरी । गिरी दम्पती होटल सञ्चालनमा कुशल र पोख्त थिए, उस्तै मिलनसार । मीठो र लरक्क पारेर बोल्न माहिर । एकलौटी व्यापार थियो उनीहरुको । कहिलेकाहीँ म पनि खाना खान पुग्थेँ । एक बिहान मैले पनि कोठामा स्टोभ भर्भराउन छोडेर माडी, कीर्तनपुर निवासी मेरा मित्र घनश्याम भण्डारी (जनकल्याण मावि कल्याणपुरको प्रअबाट हाल सेवानिवृत्त)को साथ खाना खान टाइगर होटल पुगेँ । प्रायः सबै टेबुल ग्राहकहरुले खचाखच थिए । हामीहरु छेउको एउटा खाली टेबु्लमा बस्यौँ । खानाका सबै परिकार तयार भएर होला एक जना कामदारले ठूला–ठूला स्टिलका गिलास टेबुल टेबुलमा फटाफट राख्दै गयो । अर्कोले त्यस्तै ठूला जगबाट गिलासमा पानी खन्याउँदै गयो । केही समयमा दालभातको थाली आउँदै थियो । भण्डारीले घाँटी भिजाउन पानीको गिलास उठाउनु मात्र भएको थियो । गिलासभित्र पानीमा मरेर ढाडिएको मुसो या छुचुन्द्रो तैरिरहेको देख्नुभयो । तत्काल होटल सञ्चालक गिरीलाई बोलाइयो । गिरीजीले देख्नुभयो, ‘सरी’ भन्नुभयो । उहाँको होटलपछाडि धाराको नजिक पानी सञ्चय गर्ने दुइटा ड्रम थिए । कामदारले ड्रमभित्र सञ्चित गरेको पानी झ्याप झ्याप जग गाड्दै झिक्थे र टेबुलको गिलासहरुमा खन्याउँथे । हतारमा पानी भर्दा र खन्याउँदा सावधानी नपुगेर भएको होला । गिलासको पानी फालेर अर्को ठाउँबाट ल्याउन लगाइयो । ड्रमको पानी घोप्ट्याएर फाल्न लगाइयो । अर्को टेबुलमा बस्नेहरुलाई थाहा भयो भएन कुन्नि ? हामी भने हल्ला गर्नपट्टि लागेनौँ ।
खानाको प्रसङ्गमा लापर्बाहीका कारण घटित हुने प्रतिनिधि घटना हुन् यी । आफ्नै घरको भान्सामा सावधानी अपनाउँदाअपनाउँदै तरकारीमा लामा लामा रौँ भेटिन्छन् । दालभातमा ढुङ्गा, माटो, सिसाका टुक्रा फेला पर्छन् । बजारमा उस्तै उस्तै लाग्ने दाल तथा गेडागुडी, रंगरोगन र पालिस गरिएका गुणस्तरहीन आइटम प्रशस्त भेटिन्छन् । तयारी धुलो खुर्सानी, मसला, बेसारमा मिसाइएका अखाद्य वस्तु खुलेआम बिक्री भइरहेका छन् । यस विषयमा प्रशासन मात्र होइन, उपभोक्ता पनि चनाखो हुन जरूरी छ ।
हालै भरतपुर महानगरपालिकाले बजार अनुगमन ग¥यो । भरतपुर, नारायणगढ, रामनगर क्षेत्रमा अनुगमन हुँदा सामाजिक सञ्जालमा प्रेषित गरिएका डरलाग्दा दृश्यहरु नागरिकसामु देखा पर्यो । हाम्रा भविष्यका कर्णधारहरुले घरबाहिर होटल, रेस्टुराहरुमा उपभोग गरिरहेका कतिपय खाद्य पदार्थहरु जीउ सिरिङ्ग गर्ने खालका रहेछन् । फ्रिजमा राखिएका बजार पठाउन तयारी दसौँ हजार ममका डल्ला, अनगिन्ती खसीका टाउका, खुट्टा र मासु आदि भात भान्सा र मिठाई पसलभित्रका फोहोर, सडेगलेका सामानका अवस्था, सरसफाइमा चरम लापर्बाही, किराना पसलमा बिक्रीमा रहेका दस–दस वर्षसम्म म्याद गुज्रेका सामानको अवस्था देख्दा हामी कति फोहोरको डङ्गुरमा रमाइरहेछौँ भन्ने देखियो । खुबै भीडभाड भइरहने शिवघाटमा सञ्चालित एउटा कटेज रेस्टुराँको फोहोरको नग्न चित्रले हामी मलखादमा रमाइरहेका जीवाणुझैँ हौँ कि भन्ने देखायो ।
फोहोर गर्ने, मिसावट गर्ने, कालाबजारी गर्नेहरुलाई कसुर हेरी जरिवाना तिराउने, सम्झाउने, बुझाउने पनि गरिएछ । अन्य पालिकाहरुले पनि झल्याकझुलुक गरेको देखिँदैछ । बजार अनुगमन झारा टार्ने मात्र नहोस्, कार्यमूलक होस् । यो क्रम निरन्तर होस् भन्ने आग्रह छ ।
फेसबुक प्रतिक्रियाहरु