Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • सडक दुर्घटना र चालकको जिम्मेवारी (सरोकार)
विचार/ब्लग

सडक दुर्घटना र चालकको जिम्मेवारी (सरोकार)

–सन्तोष पन्त

पृष्ठभूमि

विज्ञापन

विगत केही वर्षदेखि हामी नेपालीले सडक दुर्घटना र त्यसको क्षतिका बारेमा नपढेको, नसुनेको दिन प्रायः छैन होला । प्रत्येक समाचारका हेडलाइन बनेर सडक दुर्घटना र सोबाट भएको जनधनको क्षतिको विवरण आउने गरेको छ । हाम्रा आँखा र कान यो हेर्दा र सुन्दा यति अभ्यस्त भइसके कि एकैछिनमा सामान्य बन्न थालिसकेको छ । सडक दुर्घटनाबाट ज्यान गुमाएका परिवारलाई थाहा हुन्छ त्यसको पीडा, सडक दुर्घटनाका कारण गम्भीर घाइते भएर जीवनभर परिवारको बोझ बनेर बस्नुपर्दाको पीडा घाइतेलाई थाहा हुन्छ, अनि घाइतेको सेवा, शुश्रूषाका लागि आफ्नो ऊर्जाशील समय घरमा वा अस्पतालमा बिताउँदाको पीडा घाइतेको परिवारलाई मात्र थाहा हुन्छ । जनधनको क्षतिको सबैभन्दा डरलाग्दो तथ्याङ्क सडक दुर्घटनाको रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष करिब १३ लाख मानिसको मृत्यु सडक दुर्घटनाका कारण हुने गरेको र करिब ५ करोड मानिसहरु घाइते हुने गरेको देखिन्छ भने नेपालमा पनि प्रत्येक वर्ष करिब ३ हजारको संख्यामा मानिसको मृत्यु सडक दुर्घटनाका कारण हुने गरेको छ । देश विकासको कुरा गर्दा सडक पूर्वाधार विकासको कुरा गरिन्छ । यति किलोमिटर बाटो बनाइयो, यति किलोमिटर पिच गरियो भनेर उपलब्धिको दाबी गरिन्छ, तर निर्माण भएका सडकहरु कति सुरक्षित भएका छन्, कति ट्राफिकमैत्री भएका छन् भनेर हेर्ने र त्यसमा समयसापेक्ष सुधार गर्ने तथा कडाइका साथ सडक अनुशासन पालना गराउने संयन्त्र प्रभावकारी बन्न नसक्दा सडक काल बन्दै गएको छ । यस्तै सिलसिला चल्दै जाने हो भने दुर्घटनाका लागि आफ्नो पालो पर्खेर बस्नुको विकल्प हुँदैन कि भनेर सोच्ने बेला आइसकेको छ ।

विज्ञापन

दुर्घटनाको अभिलेख

नेपाल प्रहरीको सडक दुर्घटनाको अभिलेख हेर्दा आर्थिक वर्ष २०७७/०७८ मा ३३१३५ सवारीसाधनको संलग्नतामा २०,६४०, आर्थिक वर्ष २०७८/०७९ मा ३९,३७९ सवारीसाधनको संलग्नतामा २४,५२७ वटा र आर्थिक वर्ष २०७९/०८० मा ३७,३९२ वटा सवारीको संलग्नतामा २३,५९७ वटा सवारी दुर्घटना भएको देखिन्छ । विगत तीन वर्षमा सडक दुर्घटनामा १ लाख ९ हजार ९०६ वटा सवारीसाधनको सडक दुर्घटनामा संलग्नता भई ६८ हजार ७७४ वटा सडक दुर्घटना हुनु सामान्य विषय होइन । एक लाखभन्दा बढी सवारीसाधन दुर्घटना हुँदा कति क्षति भयो होला त्यसको कुनै लेखाजोखा नै छैेन र मानवीय क्षतिको अवस्था झनै चिन्ताजनक छ । आर्थिक वर्ष २०७७/०७८ मा सडक दुर्घटनाका कारण २५०० जनाको मृत्यु र २५,०४८ जना घाइते भएको, आर्थिक वर्ष २०७८/०७९ मा २८८३ जनाको मृत्यु र ३३,००४ जना घाइते भएको, आर्थिक वर्ष २०७९/०८० मा २३६८ जनाको मृत्यु र ३०,२२६ जना घाइते भएको अभिलेख देख्दा जोकोहीको पनि आङ सिरिङ्ग हुन्छ । तीन वर्षमा ७ हजार ७५१ जना विभिन्न उमेर समूहका मानिसहरु सडक दुर्घटनाका कारण मारिनु र ८८ हजार २७८ जना मानिसहरु घाइते हुनुले हाम्रा तीनै तहका सरकार मानवीय सुरक्षामा कति संवेदनशील छन् र हामी आमसडक प्रयोगकर्ताहरु पनि कति सडक सुरक्षाका सवालमा संवेदनशील छौँ भन्ने यथार्थ चित्रण गरेको छ । सडक दुर्घटना र सोबाट भएको जनधनको क्षतिले हाम्रो सडक सुरक्षाको व्यवस्थापनलाई र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई नै गिज्याइरहेको भान हुन्छ ।

कारण विश्लेषण

हुन त, कुनै सडक दुर्घटना भएपछि उक्त दुर्घटनाको कारण विश्लेषण कत्तिको दक्ष मानिस वा समूहबाट भएको हो, कारण विश्लेषणका लागि के–कस्ता सामग्रीको प्रयोग भयो र अध्ययन कसरी भयो भन्नेमा धेरै कुरा भर पर्छ । तर, लामो समयसम्म अनुसन्धानका क्षेत्रमा काम गरेका नेपाल प्रहरी संगठनका सदस्यहरुले गरेको दुर्घटनाको कारण विश्लेषणलाई अर्को विकल्प नभएसम्म होइन, छैन, थिएन भन्न मिल्ने अवस्था देखिँदैन । सडक दुर्घटना भएपछि दुर्घटना स्थलको अनुसन्धान गर्ने, चालकलाई हिरासतमै राख्नुपर्ने वा छोड्न सक्ने निर्णय गर्न सक्ने, चालकलाई मुद्दा चल्न सक्ने वा नसक्नेसम्मको राय लेख्ने कानुनी जिम्मेवारी भएको नेपाल प्रहरीले गरेको घटनाको कारण विश्लेषणलाई अध्ययन गर्दा सवारी चालकका कारण अधिकांश सडक दुर्घटना भए/गरेको देखिन्छ । हुन त, हामी अधिकांश कुनै न कुनैरुपमा चालक हौँ, सडकको प्रयोग गर्छौं, सवारी चलाउँछौँ र हामीले पनि महसुस गरेको विषय हो, हामी आफू सुरक्षित र धैर्य भएर यात्रा गरियो भने धेरै हदसम्म दुर्घटना टर्ने गरेको छ । सडक दुर्घटनाको कारण विश्लेषण गर्दा नेपाल प्रहरीले सवारी चालकका कारण, सवारीका कारण, यात्रुका कारण, सडकका कारण, मौसमका कारण र चौपायाका कारण गरेर ६ वटा आधार बनाएर तथ्याङ्क अपडेट र विश्लेषण गर्ने गरेको छ । जसमा आर्थिक वर्ष २०७७/०७८ मा भएका २०,६४० वटा सडक दुर्घटनामा १८,६३८ वटा दुर्घटना अर्थात् ९०.३० प्रतिशत दुर्घटना सवारी चालकका कारण भएको देखिएको छ भने २०७८/०७९ मा २१,६७५ अर्थात् ८८.३३ प्रतिशत र २०७९/०८० मा २०,९६८ अर्थात् ८८.८६ प्रतिशत सडक दुर्घटना चालकका कारण भएको देखिन्छ र समग्र तीन वर्षको तथ्याङ्क हेर्दा ८९.१० प्रतिशत सडक दुर्घटना चालकका कारण भए/गरेको पाइनु साँच्चै चिन्ताको विषय हो । जबसम्म सडकमा चालकलाई जिम्मेवार बनाउन सकिँदैन वा कानुनी घेराले डोर्‍याउन र बाँध्न सकिँदैन तबसम्म यो पीडादायी तथ्याङ्क देख्न, पढ्न र भोग्न बाध्य हुनु नै पर्छ । तसर्थ, समग्र सडक प्रयोगकर्ताका साथसाथै सवारीका चालकहरुलाई जिम्मेवार बनाउनु आजको अपरिहार्यता हो ।

केही प्रयास

हुन त, कानुनले यातायात व्यवस्थापन तथा नियमनको जिम्मा यातायात व्यवस्था विभाग, यातायात व्यवस्था कार्यालय, जिल्लास्थित यातायात व्यवस्थापन समिति, स्थानीय तह र नेपाल प्रहरीलाई दिएको भए पनि धेरै हदसम्म यो जिम्मेवारी यातायात व्यवस्था विभाग र केही थोरै जिम्मेवारी नेपाल प्रहरीको देखिन्छ । तर, आमसर्वसाधारणको मानसपटलमा सुरक्षित र सहज आवागमन व्यवस्थापन नेपाल प्रहरी गर्छ र गर्नुपर्छ भन्ने मान्यताले जरा गाडेको छ । यसैअनुरुप यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ ले नेपाल प्रहरीलाई दिएका अधिकारका अतिरिक्त केही अधिकार प्रत्यायोजन गरी व्यवस्थापन गर्न खोजेको देखिन्छ । जुन व्यवस्थापनभन्दा पनि नियमनतर्फ केन्द्रित छ र जरिवाना असुल तथा कारबाहीतर्फ केन्द्रित छ । नेपाल प्रहरी विशेषगरी ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमहरु जस्तैः चालकसँग एक मिनेट, यात्रुसँग दुई मिनेट, चालकको स्वास्थ्य परीक्षण, सवारीको यान्त्रिक परीक्षण, सवारी चालक प्रशिक्षण कार्यक्रम, कसुर गर्ने चालकलाई कारबाहीसहितको प्रशिक्षण कार्यक्रम, चालकको स्वास्थ्य अवस्था चेकजाँच, विभिन्न सन्देशमूलक होर्डिङ बोर्ड, स्टिकर आदि टाँस र विभिन्न प्रकृतिका जनचेतनामूलक कार्यक्रम आदि सञ्चालन गरेको देखिन्छ । व्यवस्थापन तथा नियमन गर्ने निकायहरुले सडक दुर्घटना न्यूनीकरणका लागि गरेको प्रयासको फेहरिस्त हेर्ने हो भने निकै मेहनत गरेको, निकै प्रयास गरेको देखिन्छ, तर ती अधिकांश प्रयासहरु खासै उपलब्धिमूलक भएका छैनन् भन्ने कुरा सडक दुुर्घटना र जनधनको क्षतिको तथ्याङ्कले स्पष्ट पारेको छ । तसर्थ, व्यवस्थापन तथा नियामक निकायहरुले आजसम्म गरेका प्रयासहरुबारे समीक्षा गर्ने बेला आएको छ र अब कसरी चालकलाई जिम्मेवार बनाउन सकिन्छ ? कसरी ट्राफिकमैत्री सडक पूर्वाधार तयार गर्न सकिन्छ ? कसरी सम्पूर्ण सडक प्रयोगकर्ताहरुमा सडक सचेतना अभिवृद्धि गर्न सकिन्छ ? सडक तथा आवागमन व्यवस्थापनका सवालमा प्रचलित कानुन तथा कार्यविधि पर्याप्त छ वा छैन ? अहिले सडक तथा आवागमन व्यवस्थापनको जिम्मा दिएका निकायहरुबारे यही ठीक छ वा जिम्मेवारी हेरफेर गर्नुपर्छ भन्नेमा समीक्षा गर्ने बेला आएको छ । अब निदाउन हुँदैन, यथास्थितिमा चल्दैन र चल्नुहुँदैन भन्ने पाठ सिकाएको छ सडक र सडक दुर्घटनाको अवस्थाले ।

चालकको जिम्मेवारी

सडकको ट्राफिक चापअनुसार, ट्राफिकमैत्री र सुरक्षित सडक पूर्वाधार तयार गरी सडक फर्निचरहरुले सुसज्जित गरी सम्पूर्ण सडक प्रयोगकर्ताहरुलाई सडकको सुरक्षित प्रयोगसम्बन्धमा जानकारी गराई सडकमा आवागमन सञ्चालन गर्नु सरकारको दायित्व हो भने सुरक्षित र संयमितरुपमा सडकको प्रयोग गर्नु आमसडक प्रयोगकर्ताको दायित्व हो । नेपाल प्रहरीको तथ्याङ्कले सडक दुर्घटनाका विभिन्न कारणहरुमध्ये पहिलो कारणको रुपमा चालकलाई देखाएकोले सम्पूर्ण चालकहरुले ‘म म’ भन्दै यसलाई आत्मसात् गरेर जिम्मेवार भएर सडकमा यात्रा गर्नु आजको आवश्यकता हो । सवारी चलाउनुपूर्व प्रत्येक चालक सडकसँग सम्बन्धित प्रचलित ऐन, नियम र आवागमनसम्बन्धी व्यवस्थापनबारे पूर्ण जानकार हुनैपर्छ । चालक अनुमतिपत्र प्राप्त गर्दैगर्दा त्यस्ता जानकारी लिएर आफूलाई जिम्मेवार बनाउनुपर्छ । आफूलाई पूर्ण ज्ञान भएको र अवस्था ठीक भएको सवारी मात्र सडकमा ल्याउने चालकको पहिलो जिम्मेवारी हो । हुन्छ, चलिहाल्ला, जे होला, देखा जाला भन्ने जस्तो गरेर वा कसैको दबाबमा कदापि कुनै पनि सवारी यात्राका लागि सडकमा निकाल्न हुँदैन । अर्को मह¤वपूर्ण कुरा सवारी चलाउँदा अगाडिको सवारीसँगको रोक्ने दूरी (सोच्ने र ब्रेक लाग्ने दूरी)लाई पूर्ण ख्याल गरेर आफ्नो लेनमा धैर्यताका साथ तोकिएको तथा नियन्त्रित गतिमा मात्र सवारी चलाउने जिम्मेवारी चालकले पूर्णरुपमा वहन गर्नुपर्छ । आजका धेरै सडक दुर्घटना अत्यधिक गतिका कारण, लेन अनुशासन पालन नगरेका कारण, रोक्ने दूरी कायम नगरेका कारण, कसैलाई अगाडि जान नदिएर छेकेका कारण, अगाडि कुनै सवारी देख्नै नहुने ओभरटेक गरी हाल्नुपर्ने कारणले भएका छन् ।

आज सडक प्रयोग गर्ने सवारीका चालकहरुमा तीव्र प्रतिस्पर्धा छ, अरुको अस्तित्वलाई ख्याल नगर्ने अनि सडक प्राथमिकताका कुरामा पटक्कै ध्यान नदिने गर्नाले दुर्घटना भएको छ । केही समय पर्खन सकेमा मात्र पनि दुर्घटना टर्न सक्छ भने बलमिच्याइँ गरेमा दुर्घटना हुने प्रबल सम्भावना हुन्छ । थकान, तनाव भएको बेलामा होस् या मादक तथा लागू पदार्थको सेवन गरेको अवस्थामा होस्, कदापि सवारी चलाउन नहुने जानकारी हुँदाहँुदै पनि सवारी चलाउनाले धेरै दुर्घटना भएको देखिएको छ । कतिपय सवारीका चालकले आफूले मादक पदार्थ सेवन गरेर आफ्ना परिवार, सन्तानसमेत दुर्घटनामा पारेको पनि पाइएको छ । सार्वजनिक सवारीको चालक त झनै जिम्मेवार बन्नुपर्छ, किनकि पचासौँ जना यात्रुले कुनै चिनजानबिना नै चालकको विश्वास गरेर आफ्नो जीवन सुम्पेका हुन्छन् । चालकले सवारी चलाउँदै गर्दा कुनै सतर्कता नअपनाई, कुनै शङ्का नगरी मस्त सुतिरहेका पनि हुन्छन् । त्यस्ता सवारी चालकको सानो गल्तीले पनि ठूलो जनधनको क्षति हुन सक्छ । चालकको सानो गल्ती जीवनभरका लागि पश्चात्तापको आगो बनेर जलाउन सक्छ, अभिशाप बन्न सक्छ । तसर्थ, चालक जिम्मेवार बन्नु र जिम्मेवारीपूर्वक सडकको प्रयोग गर्नुको विकल्प छैन । सार्वजनिक सवारीका चालकप्रति समाजको दृष्टिकोण पनि त्यति सकारात्मक नभएकोले पनि चालकलाई जिम्मेवार बन्न उत्प्रेरित नगरेको हुन सक्छ । तसर्थ, चालकलाई उचित सम्मानसहित जिम्मेवार बनाउनेतर्फ सबै आआफ्नो ठाउँबाट लागौँ र जनधनको सुरक्षाको अहं जिम्मेवारी बोकेका चालकलाई साँच्चै म जिम्मेवार छु भन्ने बोध गराऔँ ।

>>[email protected]

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस