काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाले प्रवेश गरेपछि पहिलो पटक कपिलवस्तुमा सम्बोधन गर्ने क्रममा आफ्नो न्वारानको नाम सुर्जेकुमारी रहेको बताएपछि सामाजिक संञ्जालमा निकै आलोचना र ‘ट्रोल’को सिकार बनेकी नायिका करिश्मा मानन्धरले नेपालका सबै महिलाहरुको नाम सूर्यकुमारी होस् भन्ने आफ्नो चाहाना रहेको बताएकी छिन् ।
उनले भनिन्– ‘अब सत्य सुन्न मन नलागेको हो कि ? म असाध्यै हर्षित छु त्यसबारेमा चाहि । किनभने उहाँहरुलाई मेरो न्वारानको नाम सुनेर बडा चिन्ता लागेछ होइन ? बडा चिन्तित हुनुभयो । मेरोबारे सोच्नु भयो त्यसमा खुशी छु । म ‘पोलिटिक्स’मा लागेर जुन नाम कमाएको थिए त्यो खत्तमै गरे विचरा सूर्यकुमारी करिश्मा भनेर भन्नु भयो, त्यस्तो चिन्ता लिने जनता हुनुहुन्छ मेरो त्यसमा पनि खुशी छु ।
विज्ञापन
त अर्को खुशी कहाँ निर छु भने फेरि ४,५ हजारको ‘कमेन्टस्’ले मलाई पुगेन के, त्यहाँ के भन्या छ भने,– ‘मेरो नाम पनि सूर्यकुमारी, मेरो नाम पनि सूर्यकुमारी भन्या छ । म चाहान्छु त्यो एक करोड कमेन्टस् हुनुपर्छ ‘मेरो नाम पनि सूर्यकुमारी’ भनेर होइन ? किनभने ३ करोड जनसंख्यामा आधी जनसंख्या महिलाको छ नि त ! भनेपछि हरेक महिला सूर्यकुमारी जस्तै पाओस्, त्यस्तो होओस्, अनि मात्रै यो मुलुक अघि बढ्छ ।
विज्ञापन
कपिलवस्तुमा अघिल्लो साता अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा बोल्ने अवसर पाएकी करिश्मा उत्साही तर नर्भस देखिएकी थिइन् ।
भाषणको सुरुमा मञ्चमा आसिन पार्टीका नेताहरूलाई सम्बोधन गर्दा नै करिश्माले गडबडी गरिन् । उनले विष्णु पौडेललाई वरिष्ठ उपाध्यक्ष र शंकर पोखरेललाई वरिष्ठ महासचिव भनेकी थिइन् । आफूलाई बोल्न अवसर दिएकोमा उनले आभार प्रकट गरिन् ।
‘एमालेमा म एउटा नयाँ मान्छे हो । भर्खर छिरेको मान्छेलाई बोल्न अघि सानुभएकोमा धन्यवाद । यहाँबाट थाहा हुन्छ, यो पार्टीको हृदय कति विशाल छ भनेर । यहाँ नयाँहरुलाई मौका दिइन्छ । यहाँ महिलाहरूलाई मौका दिइन्छ । त्यसैले पनि नेकपा एमाले बनेको रहेछ,’ करिश्माले भनिन्, ‘आइ एम क्वाइट इम्प्रेस्ड ।’
विगतमा जहाँ–जहाँ भौतारिए पनि आज बुझ्ने भएपछि बल्ल सही ठाउँमा आइपुगेको उनले बताइन् । ‘अब चाहिँ समाजका लागि योगदान दिन सक्छु भन्ने आत्मविश्वास जागेको छ, केही गर्ने आँट आएको छ,’ उनले भनिन् ।
छोटो भाषणको अन्त्यमा उनले एउटा नयाँ खुलासा पनि गरिन् । ‘एउटा कुरा रिभिल गरिदिउँजस्तो लाग्यो,’ उनले भनिन्, ‘मेरो न्वारनको नाम पनि सुर्जेकुमारी हो है ।’
करिश्माले थपिन्, ‘सूर्यले सोलार सिस्टमलाई धानेको छ । सूर्यले नेपाललाई धान्ने छ । लालसलाम ।’ भाषण टुंग्याउँदै करिश्माले नेकपा एमाले जिन्दावाद, केपी ओली जिन्दावाद, भोट केमा सूर्यमा भन्दै नारावाजी गरेकी थिइन् ।
फेसबुक प्रतिक्रियाहरु