काठमाडौं ।
नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मंसिर २७ गते हुने निर्वाचनबाट नै सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुने संभावना बलियो देखिएको छ ।
विज्ञापन
कांग्रेसको सभापतिमा निर्वाचित हुन खसेको मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ । कुनै पनि उम्मेदवारले पचास प्रतिशत मत कटाउन नसके बढी भोट पाउने दुई जनाबीच पुनः प्रतिस्पर्धा गराउनुपर्ने कांग्रेसको वैधानिक प्रावधान रहेको छ ।
शनिबार भएको उम्मेदवारी मनोनयनमा सभापतिमा ६ जनाले मनोनयन दर्ता गराएका छन् । सभापतिका ६ उम्मेदवारमध्ये चार जनाबीच प्रतिस्पर्धा हुने देखिएको छ । तर, पहिलो चरणको मतदानमै देउवाले बहुमत पाउने आकलन गरिएको छ ।
कांग्रेसको संगठनमा जानकारी राख्नेहरुका अनुसार कम्तीमा दुई कार्यकाल एक व्यक्तिले नेतृत्व लिने अभ्यास कांग्रेसमा देखिएको छ ।
गिरिजाप्रसाद कोइरालाले तीन पटक नेतृत्व गरेका थिए । सुशील कोइरालाको भने सभापति रहेकै अवस्थामा निधन भएको थियो । तेह्रौं महाधिवेशनमा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित देउवाले सार्वजनिक रुपमा नै चौधौं महाधिवेशनमा पनि आफूलाई निर्वाचित गराउन अपिल गरिसकेका छन् । कांग्रेसको संगठनमा बढ्दै गएको देउवाको पकड र रणनीतिका कारण देउवाले पहिलो चरणमै बहुमत पाउन सक्ने विश्लेषकहरुको अनुमान छ ।
संगठनमा पकड
विद्यार्थी कालदेखि नै संगठनमा सक्रिय र नेतृत्वदायी भूमिकामा रहेका देउवाको कांग्रेस संगठनमा दह्रो पकड देखिएको छ । तत्कालीन अवस्थामा पार्टी विभाजनका क्रममा देशव्यापी छुट्टै संगठन बनाएका देउवाले पार्टी एकतापछि पनि आफू पक्षधर जिल्लादेखि केन्द्रीय नेताहरुलाई नेतृत्वमा स्थापित गरे ।
बाह्रौं महाधिवेशनमा सुशील कोइरालासँग पराजित भएपनि कोइरालाको निधनपछि भने उनी बलियो हुँदै गए । तेह्रौं महाधिवेशनमा सभापति बनेका देउवा त्यसयता दुई पटक प्रधानमन्त्री बने भने पार्टी र सरकारको नेतृत्वका हैसियतले आफ्नो प्रभाव तल्लो तहसम्म पुर्याउन उनी सफल देखिएका छन् ।
अधिकांश जिल्लामा देउवा समर्थित नेताहरु सभापतिमा निर्वाचित भएका छन् भने अधिवेशन भएका छ मध्ये चार वटा प्रदेशमा देउवा समर्थित उम्मेदवार प्रदेश सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै नतिजा महाधिवेशनमा पनि देखिने सहजै अनुमान लगाउन सकिन्छ ।
सिटौलाको साथ, गच्छदार र थापा पनि सँगै
तेह्रौं महाधिवेशनमा सभापतिको उम्मेदवार रहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला यसपटक सभापतिको उम्मेदवार छैनन् । अघिल्लो महाधिवेशनमा दोश्रो चरणको मतदानमा सिटौलाले देउवालाई सघाएका थिए ।
यस पटक भने सिटौलाले देउवालाई सुरुमै समर्थन जनाएका छन् । सिटौलाले महामन्त्रीमा प्रदीप पौडेल र सहमहामन्त्रीमा उमाकान्त चौधरीलाई देउवाको प्यानलबाट उम्मेदबार बनाएका छन् । नेपाली राजनीतिमा सिटौला कुशल रणनीतिकारका रुपमा परिचित छन् ।
विजयकुमार गच्छदार पनि देउवासँगै छन् । देउवाकै कार्यकालमा उपसभापति रहेका गच्छदार तत्कालिन मधेशी जनाधिकार फोरम लोकतान्त्रिकलाई नेपाली कांग्रेसमा समाहित गराएका थिए । गच्छदारसँगै नेपाली कांग्रेसमा प्रवेश गरेका अधिकांश महाधिवेशन प्रतिनिधिले देउवालाई नै मतदान गर्ने निश्चित छ ।
एक वर्षअघि मात्रै राप्रपाको एउटा हिस्सासहित कांग्रेसमा प्रवेश गरेका सुनीलबहादुर थापा पनि देउवाकै प्यानलमा छन् । थापालाई देउवाले सहमहामन्त्रीमा नियुक्त गरेका थिए । अहिले भने थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । थापासँगै कांग्रेसमा आएकामध्ये केही अहिले पनि महाधिवेशन प्रतिनिधिमा छानिएका छन् । उनीहरुको भोट देउवालाई नै पर्ने निश्चित छ ।
इतर पक्षमा देखिएको विभाजन
शेरबहादुर देउवालाई चुनौती दिँदै आएको इतर पक्ष अहिले विभाजित छ । इतरपक्षबाट प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दिएका छन् । सिंह बाह्रौं महाधिवेशनबाट निर्वाचित महामन्त्री भए पनि पहिले उनी पार्टी विभाजनका बेला देउवासँगै थिए । पछि मात्रै सिंह कोइराला समूहमा प्रवेश गरेका हुन् । देउवालाई टक्कर दिने सिंहको व्यक्तित्व बनिनसकेको टिप्पणी भइरहेको छ ।
कोइराला परिवारबीचमा देखिँदै आएको एकता यसपटक टुटेको छ । शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दिए पनि शशांक कोइराला खुलेका छैनन् भने सुजाता कोइराला प्रकाशमानको प्यानलबाट उपसभापतिको उम्मेदवार बनेकी छन् । कांग्रेसको राजनीतिमा देखिँदै आएको कोइराला परिवारको वर्चश्व यसपटक छिन्न भिन्न भएको छ । संस्थापन इतरको नेतृत्व गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलले यस पटक सभापति पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। कसैलाई खुलेर समर्थन नगरेकाले सो समूहबीचको मत बाँडिने र त्यसबाट देउवालाई नै फाइदा पुग्ने देखिएको छ ।
भ्रातृ संगठन र जनसम्पर्क समिति
कांग्रेसका अधिकांश भ्रातृ संस्थामा देउवा पक्षकै नेतृत्व रहेको छ । भ्रातृ संस्थाहरुले पठाएका अधिकांश महाधिवेशन प्रतिनिधि देउवा खेमाकै छन् । शुभेच्छुक संस्थाहरुले पनि देउवालाई नै मत हाल्ने प्रतिनिधि पठाएका छन् ।
विदेशस्थित जनसम्पर्क समितिहरुमध्ये अधिकांशले अन्तिम समयमा मात्रै अधिवेशन गरेर महाधिवेशन प्रतिनिधि चयन गरेका छन् । जनसम्पर्क समितिहरुप्रति देउवा उदार देखिन्छन् । बाह्रौं र तेह्रौं महाधिवेशनको तुलनामा विदेशस्थित जनसम्पर्क समितिहरुबाट देउवाले बढी मत पाउने छन् । उनले बढी मत पाउँदा अन्य उम्मेदवारले स्वभाविक रुपमा नै कम पाउने छन् ।
देउवा प्रधानमन्त्री छन् ।
देउवाले नै निकट भविष्यमा नै तीनै तहको निर्वाचन गराउने छन् । आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रतिबद्धता देउवाले व्यक्त गरिसकेका छन् । यस कारणले पनि अधिकांश महाधिवेशन प्रतिनिधिहरुले देउवालाई मतदान गर्ने अनुमान गरिएको छ ।
फेसबुक प्रतिक्रियाहरु