काठमाडौं।
सभामुख अग्निप्रसाद सापकोटाले संसदको गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन्। स्पेनबाट बिहीबार बिहान स्वदेश फर्किएका सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो धारणा राखेका हुन्।
विज्ञापन
स्पेनमा रहँदा पनि राष्ट्रिय राजनीतिको विषयमा सामान्य जानकारी राखेको बताउँदै उनले अब समस्या समाधानको उपाय खोज्ने बताए। सर्वोच्च र संसदको गतिरोधबारे सोधिएको प्रश्नमा उनले भने, ‘कसरी पहलकदमी लिने र धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामा म यहाँ आइसकें, अब सोच्छु ।’
उनले अगाडि भने, ‘सर्वदलीय बैठक, अरू बैठक गरेर उपाय खोज्नका लागि म त्यसमै केन्द्रित भएर लाग्ने छु।’ अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा यही मंसिर ८ गते स्पेनको म्याड्रिड गएका थिए। सम्मेलनलाई सभामुख सापकोटाले १२ गते सम्बोधन गरेका थिए।
नेपाली संसदीय प्रतिनिधिमण्डलमा सभामुख सापकोटासहित प्रतिनिधि सभा सदस्य देव प्रसाद गुरुङ, लक्ष्मी कुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी र अगम प्रसाद वान्तवा राई थिए। सोही प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सभामुखका प्रमुख स्वकीय सचिव अर्जुन के.सी. र कम्प्युटर अधिकृत सुरेशराज सेढाईं पनि थिए।
फेसबुक प्रतिक्रियाहरु