रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पानी जहाजको टिकटको पैसा फिर्ता माग्न भनेका छन् । शुभकामना कार्यक्रममा सहभागी हुन गृहजिल्ला रौतहट आएका नेता नेपालले चन्द्रनिगाहपुरमा पत्रकारहरुसँग कुरा गर्दै उक्त कुरा गरेका हुन् ।
पूर्व प्रधानमन्त्री ओलीले मिति नै तोकेर पानी जहाजको टिकट काट्ने उर्दी दिएकोमा सो मिति टरिसकेकाले टिकट काटेको भए पैसा फिर्ता लिन अध्यक्ष नेपालले सुझाव दिए ।
विज्ञापन
‘घरघरमा ग्यासको चुल्हो चलिरहेको देखिरहनुभएको छ ?’ केपी ओली लक्षित व्यङ्ग गर्दै उनले भने, ‘पानी जहाजको टिकट काट्नुभएको होला हैन् ? कसले लिनुभयो टिकट ? पैसा फिर्ता लिनुभयो कि भएन ?’
उनले केपी ओली प्रधानमन्त्री हुँदा वालुवाटारमा हेलिप्याड बनाएकोले पानी जहाज चढ्न नपाए त्यहीँ गएर हेलिकप्टर चढ्न पनि सुझाए । ‘प्रधानमन्त्रीको निवासमा हेलिप्याड, राष्ट्रपतिको निवासमा हेलिप्याड, यस्तो पनि तमाशा हुन्छ ? ’ उनले प्रश्न गरे, ‘झापा जिल्लामा अर्बौको टावर । के त्यो टावरमा चढेर धानको बाला हेर्ने हो ?’
गफाडी नम्बर एक
नेता नेपालले केपी ओलीलाई गफाडी नम्बर एकको संंज्ञा दिदैँ एकैदिन १६५ बढी अस्पतालको शिलान्यास गरेर तमाशा गरेको समेत भने । ओली देशकै लागि अभिशाप भएको आरोप पनि लगाए ।
सर्वोच्च अदालतको विवादको बारेमा आफुहरुको गठबन्धनमा छलफल नभएको भन्दै उनले प्रधानमन्त्री शेर बहादुर देउवा विदेश भ्रमणबाट फर्किएपछि सबै बसेर छलफल पश्चात निकास दिने बताए ।
‘अर्लि इलेक्सनको सम्भावना छैन’
कुनैपनि अवस्थामा ‘अर्लि इलेक्सन’ को सम्भावना नरहेको जनाउँदै उनले समय अनुसार सबै तहको निर्वाचन हुने जनाए । उनले चुनावसम्म अहिलेको पाँच दलिय सरकारी गठबन्धन रहने जनाउँदै चुनावमा मिल्नेसम्म तालमेल मिलाउनेमा आशावादी रहेको जिकिर गरे । ‘पुरै उम्मेदवारको हकमा चुनावी तालेमेल मिलाउँन सक्दा सबैभन्दा राम्रो । आधा मिलाउँन सक्दा त्यो पनि राम्रो । हामी सबै विकल्पको लागि तयार छौँ ।’ उनले भने ।
कर्मचारी संयन्त्र- लद्दु घोडा
अर्को एक प्रसंगमा उनले नेपालको कर्मचारी संयन्त्रलाई लद्दु घोडाको संज्ञा दिदैँ कर्मचारीको ढिलासुस्तीले पनि सोचे अनुसारको विकासको काम हुन नसकेको बताए । ‘हाम्रो व्युरोक्रेसी लद्दु घोडा जस्तै छ’ उनले भने, ‘यसलाई चावुक लगाउनुहोस् दुई कदम अगाडि बढ्छ , फेरि नलगाउनुहोस् थचक्क बस्छ गर्दै गर्दैन् । ’ उनले ६ वटा प्रदेशमा काँग्रेस, माओवादी र समादवादीले बराबर संख्यामा प्रदेश सरकारको नेतृत्व गरिरहेको भन्दै सुदरपश्चिमको प्रदेश सरकारमा तत्काल आफुहरुको कुनै दावी नरहेको जनाए ।
पत्रकारहरुसँगको कुराकानीमा अधिकासं समय केपी ओलीको आलोचनामा खर्चिएका उनले अहिले देशमा देखिएका सबै समस्याको जडनै ओलीनै रहेको आरोप लगाए ।
फेसबुक प्रतिक्रियाहरु