शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • दल र गुट बदल्ने प्रवृत्तिका कारण लेखराज र भीम रावलले आफ्नै मान्छेको साथ गुमाए
समाचार

दल र गुट बदल्ने प्रवृत्तिका कारण लेखराज र भीम रावलले आफ्नै मान्छेको साथ गुमाए

सुदूरपश्चिममा नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावल र नेता लेखराज भट्टको शक्ति कमजोर हुँदै गएको छ। सुदूरपश्चिममा यसअघि बलियो पकड भएका नेताद्वय रावल र भट्टको शक्ति पछिल्लो राजनीतिक उतारचढावले घट्दै गएकाे हाे।

माओवादी केन्द्र त्याग्दा लेखराज भट्ट रमाधवकुमार नेपाल छाड्दा भीम रावल सुदूरपश्चिममा एक्लिएको एक नेताले बताए।

विज्ञापन

‘दल र गुट बदल्ने प्रवृत्तिका कारण उनीहरु (लेखराज र भीम रावल) ले आफ्नै मान्छेको साथ गुमाएका छन्’ ती नेताले नेपालखबरसँग भने, ‘प्रदेशमा उनीहरुको विगतको जस्तो पकड कायम रहन सकेन। दुवैको शक्ति क्षयीकरण भएको छ।’

विज्ञापन

लेखराज भट्ट माओवादी पृष्ठभूमिका नेता हुन्। तत्कालीन माओवादी केन्द्रमा भट्ट सुदूरपश्चिमको नेतृत्व गर्दथे। माओवादी केन्द्र सुदूरपश्चिममा उनको बलियो पकड थियो। नेता कार्यकर्ताले माओवादी केन्द्र सुदूरपश्चिमको ‘कमान्डर’ नै मान्दथे, भट्टलाई।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का विश्वास पात्र मानिने भट्ट वि.सं. २०६३ देखि माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश इन्चार्ज थिए। वि.सं. २०७५ जेठ ३ गते माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण हुँदा सुदूरपश्चिमका प्रभावशाली नेता भट्ट र भीम रावल एउटै ठाउँ (नेकपा)मा पुगे।

नेकपा हुँदा सुदूरपश्चिमको इन्चार्ज रावललाई बनाइयो। तर, त्यो निर्णय लेखराज भट्टलाई चित्त बुझेन। उनले प्रचण्डलाई निर्णय सच्याएर आफूलाई इन्चार्ज बनाउन पहल गर्न आग्रह गरे।

लेखराजको आग्रह प्रचण्डले मानेनन् र रावललाई नै इन्चार्ज बनाउनेमा सहमति जनाए। लेखराज आफूलाई इन्चार्ज बनाउन प्रचण्डले सहयोग नगरेपछि उनीबाट टाढिएर केपी शर्मा ओलीसँग नजिकिन थाले।

तत्कालीन नेकपाको ध्रुवीकरणमा भट्ट ओली समूहमा लागे। अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइ दिएपछि भट्ट माओवादी केन्द्रमा फर्किएनन्। उनले एमालेमै रहने निर्णय गरे। तर भट्टको यो निर्णयमा सुदूरपश्चिमका उनी निकट माओवादी नेता/कार्यकर्ताले साथ दिएनन्।

माओवादी केन्द्र छोडेर एमालेमा रहँदा भट्टले आफू निकट प्रदेशका माओवादी नेता/कार्यकर्तालाई साथमा राख्न नसक्दा एक्लिएका छन्।

सुदूरपश्चिम प्रदेश सभामा रहेका माओवादी केन्द्रका १४ प्रदेश सांसदमध्ये भट्टले एक जनाको मात्रै साथ पाएका छन्। प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री रहेका अछामका झपड बोहरा भट्टको साथमा उभिएका थिए। माओवादी केन्द्र छोडेर भट्टसँगै एमालेमै रहने निर्णय गरेपछि बोहराको सांसद पदसमेत गुमेको थियो।

लेखराज भट्ट निकट सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि उनको साथ छोडे। तत्कालीन नेकपा हुँदा लेखराजकै सिफारिसमा मुख्यमन्त्री बनेका त्रिलोचन भट्ट माओवादी केन्द्रमै रहेका छन्।

यस्तै उनी निकट टेकेन्द्र भट्ट, खेम बम, महेश जोशी, कुन्ती जोशी, बिनिता चौधरी लगायत नेताको साथ पनि गुमाएका छन्। सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका माओवादी केन्द्रका जिल्ला कमिटी अध्यक्षमध्ये एक जना मात्रै एमाले प्रवेश गरेका छन्।

तत्कालीन नेकपा कञ्चनपुरको अध्यक्ष रहेका वीरबहादुर थापा (पातल) ले भट्टको साथ दिएका छन्। उनी अहिले नेकपा एमाले कञ्चनपुरको पनि अध्यक्ष छन्।

उता नेकपा एमाले विभाजनले भीम रावललाई पनि सुदूरपश्चिम ठूलो धक्का लागेको छ। गृहजिल्ला अछाम र समग्र सुदूरपश्चिममा रावलले आफ्ना विश्वास पात्र गुमाउँदा एक्लिँदै गएका छन्।

एमाले फुटमा नेपाल समूहको साथ छोडेर एमालेमै रहेका रावलले आफू निकट नेताहरुलाई विभाजनमा जानबाट रोक्न सकेनन्। अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी रावल निर्वाचन क्षेत्रमै एक्लिएका छन्। रावल निकट निर्वाचन क्षेत्र नम्बर १ का ६ नेताले एमाले छोडेका छन्।

राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर, प्रदेश सांसद मिना कुमारी साउँद, साँफेबगर नगरपालिकाका इन्चार्ज सिलोज कुँवर, मेयर कुल बहादुर कुँवर, बिर्मलादेवी बुडथापा, चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदले भीम रावलको साथ छोडेर एकीकृत समाजवादीमा गएका छन्।

सुदूरपश्चिम प्रदेश सभाका रावल निकट १७ सांसदमध्ये १३ जनाले उनको साथ छोडेका छन्।

आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, आर्थिक मामिला तथा योजनामन्त्री तारालामा तामाङ, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, राज्यमन्त्री चुनुकुमारी चौधरी, मनाकुमारी साउद, सांसदहरु अमर बहादुर साउँद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी, बलबहादुर सोडारी, प्रकाश रावल र माया भट्ट एकीकृत समाजवादीमा गएका हुन्।

यो सँगै एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो पार्टी बन्यो भने एमाले चौथो स्थानमा झरेको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस