मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • समाचार
  • ‘देउवा पनि ट्रम्प जस्तै ‘उपद्रो’, कुर्सी छाड्नै नमान्ने, पार्टी कब्जा गर्न विधान मिचिरहने’
समाचार

‘देउवा पनि ट्रम्प जस्तै ‘उपद्रो’, कुर्सी छाड्नै नमान्ने, पार्टी कब्जा गर्न विधान मिचिरहने’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने कोसिस गरिरहेको आरोप लगाएका छन्।

वरिष्ठ नेता पौडेलले सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर सम्पन्न गरिएका कतिपय वडा अधिवेशनहरू आफूहरुलाई मान्य नहुने चेतावनी समेत दिएका छन्।

विज्ञापन

नेपाली कांग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै उनले आफू पक्षका नेता, कार्यकर्ताहरूलाई पाखा लगाउने काम पार्टी नेतृत्वले गरेको भन्दै आक्रोश समेत पोखे।

विज्ञापन

उनले पार्टीको आगामी महाधिवेशनमा नेतृत्व रुपान्तरण गरेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन्।

त्यसो गरेर मात्रै कांग्रेसलाई लोकतान्त्रिकरणको बाटोमा हिँडाउन सकिने वरिष्ठ नेता पौडेलले बताए।

‘वडा अधिवेशनहरू भयो भनेर नाटक रच्न खोजिएको छ। हामी यसलाई मान्दैनौँ । हामी त्यसविरुद्ध यस्तो चुनाव हुनुहुँदैन, त्यसरी धाँधलीका प्रपञ्च रच्न, यसरी सत्ता र शक्तिको दुरुपयोग गर्न नेपाली कांग्रेस जस्तो पार्टीलाई सुहाउँदैन’, उनले भने,

‘नेपाली कांग्रेस जस्तो लोकतन्त्रको पाठशाला भएको पार्टीलाई आज यस किसिमले सत्ता र शक्तिको प्रयोग गरेर यसको चुनावलाई अपवित्र पार्ने काम, साथीहरुलाई पाखा लगाउने काम भएको छ। हामी त्यसको विरोध गर्न चाहन्छौं।’

उनले यस किसिमले देशैभरी पार्टीमा क्रियाशील सदस्यतादेखि नै धाँधली गरेर सत्ता हत्याउने कोसिस गरिएको आरोप लगाए। ‘पार्टी कब्जा गर्न खोजिएको यो दुस्साहस, जो गर्न खोजिएको छ’, उनले भने, ‘त्यो दुस्साहस हो । हामी हुन दिँदैनौँ । नेपाली कांग्रेसलाई हामी लोकतन्त्रको बाटोबाट कुनै पनि हालतमा विचलित हुन दिँदैनौँ ।’

वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीको क्रियाशील सदस्यता छानविन गर्ने काममा समेत देशभर धाँधली गरेको आरोप समेत लगाए।

उनले पार्टीको आगामी महाधिवेशनबाट सही नेतृत्व चयन गर्नेगरी अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन्।

विवादबीच डडेलधुरामा अधिवेशन गराएपछि देउवाप्रति संस्थापन इतर पक्ष आक्रोशित बनेका बेला पौडेलले आफ्ना भनाइ राखेका हुन्।

‘पार्टीको विधानविपरीत काम हुँदा पार्टी आज कहाँ पुगेको छ? महाधिवेशन ४ वर्षमा पनि गरिएन’, उनले भने, ‘विधानको म्याद सकिएपछि संविधान टेकेर ६ महिना म्याद थपिएको छ। निर्वाचन आयोगसँग दर्ता बचाइदेऊ भनेर गुहार माग्नुपरेको छ। राष्ट्र हाँक्ने पार्टी आज कुन हालतमा पुगेको छ। यो सबै कसको कारणले भएको हो? नेताको महत्त्वाकांक्षा र सधैँ कुर्सीमा बस्न चाहने, छोड्न नचाहने नेताले यो सबै भएको हो।’

नेता पौडेलले संसारमा अनेक थरी नेता रहेको बताए। ‘महात्मा गान्धी र हिटलर दुवै नेता भए पनि उनीहरुको चरित्र फरक थियो’, उनले भने, ‘नेपालमा पनि समाजलाई गलत दिशातिर लानेका कारण समस्या भएको छ। नेपालमा पदमा टाँसिइरहनेका कारण समस्या भएको छ।’

उनले देउवाको तुलना नै डोनाल्ड ट्रम्पसँग गरे। ‘अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘उपद्रो’ गरेका थिए’, पौडेलले भने, ‘कांग्रेस सभापति देउवा पनि ट्रम्पकै पथमा अघि बढेका छन्।’

ट्रम्पको घमण्ड र महत्वाकांक्षाले अरुलाई नमानेको पनि उनले बताए। ‘ट्रम्प जस्तो महत्वाकांक्षी नेताले कसैलाई मानेन, सम्मान पनि गरेन। उनको कुनै हर्कतले अन्तिमसम्म पनि कुनै काम गरेन। अमेरिकामा डोनाल्ड ट्रम्प आउँदा, नेपालमा केपी ओली आएका थिए’, उनले भने, ‘तेस्रो विश्वका देशहरुमा लोकतान्त्रिक पद्धतिबाट आएकाबाटै लोकतन्त्र असुरक्षित भएको छ। अहिले नेतृत्वमा गएकाहरु आफ्नो स्वार्थ र महत्वकाङ्क्षाले देशलाई गलत बाटोमा लाँदैछन्।’

उनले पालो पुगेपछि सत्ता हस्तान्तरण गर्नुपर्नेमा जोड दिए। ‘लोकतन्त्रमा अन्धभक्त हुनु राम्रो होइन’, उनले देउवातिर लक्षित गर्दै भने, ‘पालो पूरा भएपछि त अर्कोलाई नेतृत्व हस्तान्तरण गर्न हो नि।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस