शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ओलीको पार्टी प्राइभेट कम्पनी भैसक्यो: माधव नेपाल
समाचार

ओलीको पार्टी प्राइभेट कम्पनी भैसक्यो: माधव नेपाल

नेपालगञ्ज- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको एमाले पार्टी अब प्राइभेट कम्पनीमा परिणत भइसकेको ठोकुवा गरेका छन्। ओलीले नेतृत्व गरेको पार्टी ओरालो दिशामा अगाडि बढेको उनको भनाइ छ।

नेकपा (एस)निकट युवा संघ नेपालले शनिबार नेपालगन्जमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अब ओलीसँग कम्युनिस्ट पार्टीमा हुनुपर्ने कुनैपनि गुण नरहेको बताए। ‘केपीले कम्युनिस्टको सिद्धान्त, माक्सवादको मूल सिद्धान्त सबै त्यागिसकेका छन्,’ उनले भने ‘त्यो पार्टीमा व्यक्तिवाद छ, गुट मात्र छ।’ व्यक्तिवादले पार्र्टी चल्न नसक्ने र एमाले पार्टीभित्र अब इमान्दार कार्यकर्ताको भविष्य नरहेको बताए।

विज्ञापन

केपी ओलीले क्रान्तिकारी ज्वाला निभाइसकेको नेपालले जिकिर पनि गरे। केपीले कम्युनिस्टको सिद्धान्त परित्याग गरिसकेको बताउँदै उनले अगाडी भने, ‘केपी ओलीले पार्टीका सबै विधि, विधानलाई लत्याइदिए, जसले गर्दा पार्टीभित्र व्यक्तिवाद हावी भयो, प्राइभेट कम्पनीमा रूपान्तरण हुन पुग्यो।’ ओलीले मनपरी ढंगबाट पार्टीलाई विभाजनको स्थितिमा पुर्‍याएको नेपालले बताए।

विज्ञापन

ओलीले एकलौटी रूपमा एमाले पार्टी कब्जा गरेको र चारैतिरबाट ढोका थुनेका कारण आफूहरूले नयाँ पार्टी स्थापना गरेको बताए। ‘एकलौटी रूपमा पार्टी कब्जा गर्ने काम गरियो, पार्टीको विधि, विधान जति सबैलाई लत्याउने काम ओलीले गरे,’ उनले भने, ‘जनताले दिएको मतको सदुपयोग नै गरिएन, ओलीको दम्भले एमाले पार्टीलाई यो अवस्थामा पुर्‍यायो।’ तत्कालीन समयमा एमाले र माओवादीबीच भएको सहमतिलाई समेत ओलीले कार्यान्वयन नगरेको नेपालको आरोप छ।

‘पार्टीले गलत बाटो रोजेपछि राष्ट्रलाई नोक्सान पुर्‍याउन थाल्यो, जनतालाई नोक्सान पुर्‍याउन थाल्यो, त्यसपछि हामीले आवाज उठाउन थालेका हौं,’ उनले स्मरण गर्दै भने। जनआन्दोलनको माध्यमबाट राजतन्त्रलाई फाल्न सकिन्छ भनेर कसैले कल्पना पनि नगरेको अवस्थामा त्यो सम्भव भएको स्मरण गराउँदै अध्यक्ष नेपालले भने, ‘समयको माग छ, भने विचार स्पष्ट छ, भने संकल्प गर्नुपर्छ, दृढ हुनुपर्छ, असम्भव भन्ने कुरा केही छैन, न्यायको जित हुन्छ, त्यसैले हामीले हामीले पनि नयाँ संकल्प गरेका छौं।’ नयाँ संकल्प स्वरूप नेकपा(एकिकृत समाजवादी) पार्टीको जन्म भएको बताए।

सो क्रममा नेकपा(एकिकृत समाजवादी)का केन्द्रिय सदस्य एवम् संविधानसभा सदस्य दलबहादुर सुनार, जिल्ला अध्यक्ष अशोक कोइराला, युवा संघका केन्द्रीय अध्यक्ष नरेशकुमार शाही लगायतले सम्बोधन गरेका थिए। अध्यक्ष नेपाल शनिबार दिनभर पार्टीका विभिन्न कार्यक्रममा ब्यस्त भए। उनले पार्टीको बाँकेस्थित सम्पर्क कार्यालय उद्घाटन गर्नुका साथै विभिन्न ठाउँमा पुगेर कार्यकर्तालाई सम्बोधन गरेको जिल्ला अध्यक्ष कोइरालाले जानकारी दिए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस