चितवन। चितवनको पुरानो र प्रदेशस्तरीय सरकारी अस्पताल भरतपुर अस्पतालले नेपालमै पहिलोपटक ओपिडी टिकट निःशुल्क गरेको छ ।
भरतपुर अस्पताल विकास समितिको निर्णयानुसार आज साउन ८ गतेदेखि भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षणको लागि आउने सबै सेवाग्राहीका लागि ओपिडी टिकट निःशुल्क गरिएको हो ।
विज्ञापन
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले सेवाग्राहीको भीडलाई मध्यनजर गर्दै ओपिडी टिकट निःशुल्क गरिएको जानकारी दिए । उनले यो सुविधा नेपालमै पहिलो भएको बताउँदै विदेशमा पनि टिकटमै निःशुल्क भन्ने आफूले नसुनेको बताए ।
विज्ञापन
यसअघि भरतपुर अस्पतालमा ओपिडी टिकटको ३० रुपैयाँ शुल्क लिँइदै आएको थियो । अस्पतालको सो निर्णयले गरिब तथा विपन्न व्यक्तिहरुको लागि राहत पुग्ने र टिकटबाट प्राप्त हुने शुल्क समितिले बेहोर्ने प्राडा पौडेलले बताए । सर्वसाधारणलाई राज्यबाट राहतको अनुभूति पनि हुने र टिकटकै कारण बिरामी रोकिनु नपरोस् भनेर सो निर्णय गरिएको प्राडा. पौडेलले बताए ।
प्राडा. पौडेलका अनुसार भरतपुर अस्पतालमा दैनिक १२ सयदेखि १७ सय बिरामी उपचारका लागि आउँछन् ।
आइतबार अन्य बारभन्दा बढी भीडभाड हुनेगर्छ । दैनिक औसत १५ सय बिरामीको भीड हुने भरतपुर अस्पतालमा कोरोना सङ्क्रमण तथा अन्य सङ्क्रामक रोग बढ्न नदिन र बिरामीलाई भीडभाडबाट टाढै राख्न परीक्षणका रुपमा ओपिडी शुल्क निःशुल्क गरिएको हो ।
फेसबुक प्रतिक्रियाहरु