वन तथा वातावरणमन्त्री प्रदीप यादवले निकुञ्जका कारण माडीवासीलाई परेका समस्या समाधान गर्न मन्त्रालयले पहल गर्ने बताएका छन्। चितवन राष्ट्रिय निकुञ्ज हुँदै गएको हुलाकी सडक, भूमिगत विद्युतीकरण, रोकिएका पुलहरुलगायत संरचना आज निरीक्षणपश्चात् मन्त्री यादवले रोकिएका काम अगाडि बढाइने बताएका हुन्।
निरीक्षणका क्रममा सँगै रहेकी भरतपुर महानगरप्रमुख रेनु दाहालका अनुसार मन्त्री यादवले तत्काल काम अघि बढाउनका लागि आवश्यक प्रक्रिया थाल्न निर्देशन दिएका थिए। निरीक्षणमा वन मन्त्रालयका सचिव डा. पेमनारायण कँडेल र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेललगायतको उपस्थिति थियो।
विज्ञापन
माडीमा हाल विद्युत् लाइन लगेको क्षेत्रमा थप काम गर्न कुनै समस्या नहुने र नयाँ ठाउँ प्रयोग गर्नुपरेमा आवश्यक प्रक्रिया अघि बढाउन र सबै समस्या एकमुष्ट रुपमा तत्काल प्रस्तुत गर्न मन्त्री यादवले निर्देशन दिए। माडी चितवन क्षेत्र नं ३ मा पर्दछ।
विज्ञापन
जिल्लाका दलीय प्रतिनिधि, स्थानीय निकायका प्रमुखहरुसहित नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको एक टोलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी त्यहाँको समस्याबारे अवगत गराएको थियो। सो क्रममा प्रधानमन्त्री देउवाले यस विषयमा तत्काल सम्बोधन गरिने आश्वासन दिएका थिए।
महानगर प्रमुख दाहालले भनिन्, ‘मन्त्रीज्यू निकै सकारात्मक हुनुहुन्छ। हामीलाई विश्वास छ निकुञ्जका कारण माडीमा भएको समस्या अब समाधान हुन्छ।’ माडी हुँदै जाने हुलाकी सडक स्तरोन्नति, पुल निर्माण, खर्कट्टा बगई सडक निर्माण र भूमिगत विद्युतीकरणको काम निकुञ्जकै कारण समस्यामा परेका थिए।
प्रधानमन्त्रीसँगको भेटमा गरिएको अर्को भरतपुर विमानस्थल विस्तारको प्रस्तावमा गत साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको उपस्थितिमा भरतपुरमा छलफल गरिएको थियो। यसैगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका विषयमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएकामा सो विषयमा पनि छलफल सकारात्मकरुपले अघि बढेको महानगरप्रमुख दाहालले जानकारी दिइन्।
फेसबुक प्रतिक्रियाहरु