सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • बालुवाटारमै अलमलियो सत्ता गठबन्धन, आक्रामक चुनावी अभियानमा ओली
समाचार

बालुवाटारमै अलमलियो सत्ता गठबन्धन, आक्रामक चुनावी अभियानमा ओली

स्थानीय निर्वाचन मिति नजिकिँदै गर्दा चुनावी सभामा व्यस्त हुनुपर्ने सत्तारुढ दलका शीर्ष नेताहरु बालुवाटारभित्रै अलमलिएका छन्।

पाँच दल प्रधानमन्त्रीको सरकारी निवासभित्रै भागबण्डामा अल्झिरहँदा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने आक्रामक चुनावी अभियान चलाइरहेका छन्।

विज्ञापन

सत्तारुढलाई सिट बाँडफाँटले सताइरहँदा ओली भने इतर दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन देशका विभिन्न जिल्ला पुगिरहेका छन्।

विज्ञापन

गत चैत २४ मै १० दिनभित्र उम्मेदवार छानिसक्ने सहमति गरेको गठबन्धन अनेक चरणका छलफलमा सहमति जुट्न नसक्दा संकटमा फसेको छ।

देशका ६ महानगर र ११ उपमहानगरपालिकामा चुनावी तालमेल र नेतृत्व लिनेबारे समझदारी बन्न नसक्दा गठबन्धन नै संकटमा परेको छ।

सोमबार बसेको गठबन्धन बैठकले ५ महानगरपालिका बाँडफाँट गरिएको छ। तर अझै पनि पोखरा महानगरमा विवाद जारी छ। पोखरा महानगर र ११ उपमहानगर मिलाउन मंगलबार पनि गठबन्धन बस्ने भएका छन्।

गठबन्धनले आफूविरुद्ध मोर्चा कसिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओली भने निरन्तर देश दौडाहा अभियानमा छन्। उनले जिल्ला जिल्ला पुगेर ठूला सभा गरिरहेका छन्। एकै दिनमा तीनदेखि चारवटासम्म सभा उनले भ्याइरहेका छन्।

ओलीको दौडधूप
ओली एक महिनादेखि एक दिन आराम नगरी देश दौडाहा अभियानमा छन्। सोमबार बालुवाटारमा सत्ता गठबन्धन भागबण्डामा लागिरहँदा ओली सोलुखुम्बु पुगेर चुनावी सभामा भाषण गरिरहेका थिए। आइतवार मात्रै एमालेको सभालाई सम्बोधन गर्न उनी हुम्ला पुगेका थिए।

ओली जाने हरेक सभामा मान्छे पनि राम्रोसँग उतारिरहेका छन्। ओलीले चुनावी सभाका भाषणहरूको अधिकांश समय आफ्नो साथ छाडेका नेताहरुको आलोचनामा खर्चिरहेका छन्।

सोमबार पनि महानगर र उपमहानगरको भागवण्डा मिलाउन नसकेको सत्ता गठबन्धनप्रति सोलुखुम्बुबाट ओलीले कडा कटाक्ष गरे। बालुवाटारमा जारी गठबन्धनको बैठकलाई ओलीले ‘कुखुरो ओथारो’ बसेको भन्दै तर त्यसले अण्डा कोरल्ने टुंगो नभएको भन्दै कटाक्ष गरे।

ओली ७ चैतमा राजधानीमा आयोजित पहिलो पोलिटब्युरो बैठकमा सहभागी भएका थिए। ८ चैतमा राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी भए।

त्यसअघि ५ चैतमा पार्टीको सम्पर्क समन्वय कमिटीद्वारा आयोजित कार्यक्रममा सहभागी भए। ६ चैतमा इलामको सूर्योदय नगरपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्न पुगेका ओली त्यसयता आराम गरेर बसेका छैनन्।

९ र १० चैतमा आयोजित केन्द्रीय कमिटी बैठकमा सहभागी भएपछि ओलीले दौडधूप तीव्र पारेका छन्। ११ चैतमा उदयपुरमा आयोजित आमसभामा सहभागी ओली १२ चैतमा काठमाडौंमा भएको मुस्लिम इत्तिहाद संगठनको महाधिवेशनमा पुगे।

त्यसयताका सबै दिनहरू ओली पार्टी प्रवेशदेखि आमसभा र कार्यकर्ता भेलामा सहभागी भइरहेका छन्। १४ चैतमा कपिलवस्तु, १५ र १६ चैतमा काठमाडौंमा आयोजित विभिन्न कार्यक्रममा ओली सहभागी भए।

१७ चैतमा त ओलीले एकैदिन ३ वटा जिल्लाका कार्यक्रममा पुगेर भाषण गरे।

त्यसदिन दैलेख, जुम्ला र कालिकोटमा आयोजित आमसभालाई ओलीले एकैदिन सम्बोधन गरेका थिए। त्यसयता ओली काठमाडौं र बाहिरका जिल्लामा दैनिकजसो पुगिरहेका छन्।

यसबीचमा उनी सुनसरी, बझाङ, पर्वत, बाग्लुङ, बाँके, बर्दिया, खोटाङ, लमजुङ, सोलुखुम्बु लगायतका जिल्लाहरुमा पुगे। जहाँ उनले चुनावलक्षित सभालाई मात्रै सम्बोधन गरेनन्, एमाले प्रवेश अभियानलाई पनि तीव्र बनाए।

गठबन्धन बालुवाटारमै अलमलियो
निर्वाचन आयोगले घोषणा गरेअनुसार स्थानीय निर्वाचन आउन अब २५ दिन मात्रै बाँकी छ। निर्वाचन आचारसंहिता समेत लागू गरेर आवश्यक तयारीका लागि आयोग जुटिसकेको छ। म्यादी प्रहरीको तालिम सकिएको छ भने आधाभन्दा धेरै मतपत्र छापिएको छ।

तर, सत्तारुढ गठबन्धनकारी ५ दलका शीर्ष नेताहरुलाई भने भागबण्डाको ‘सकस’ ले बालुवाटार बाहिर निस्कन दिएको छैन।

सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बेला मौका आफ्नो निर्वाचन क्षेत्र रहेको चितवन पुगेर उद्घाटन र शिलान्यास भ्याइरहेका छन्।

तर, उनले पनि चुनाव लक्षित सभालाई समय दिनै सकेका छैनन्। गठबन्धनभित्रै किचलो मिलाउन नसक्दा उनी पनि देश दौडाहामा जान सकेका छैनन्।

उता, प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि विभिन्न उद्घाटनका कार्यक्रमलाई बहाना बनाउँदै चुनावी दौडधूप बढाएका थिए।

तर, पछिल्लो हप्ता केन्द्रदेखि प्रदेशसम्मका समस्या समाधानदेखि टिकट माग्नेको व्यवस्थापनमा लाग्दा बालुवाटारबाट निस्कन समेत पाएका छैनन्।

आइतबार बिहानैदेखि सत्ता गठबन्धनका नेताले बालुवाटार छाडेका छैनन्। प्रधानमन्त्री निवाससमेत रहेको सरकारी भवनभित्र कुन स्थानीय तहमा कसले बाजी मार्ने रस्साकस्सी जारी छ।

गठबन्धनमा आवद्ध एउटा दलले अर्कोलाई ‘अपमान’ गरेको भन्दै नेताहरु एकपछि अर्को चेतावनीको भाषा बोलिरहेका छन्।

आजै पनि माओवादी अध्यक्ष प्रचण्डले ५ वटै दलसँग चुनावी तालमेल हुन्छ भन्ने नरहेको पत्रकार सम्मेलनमा बताएका थिए।

भागबण्डाकै चपेटामा रहेको सत्ता गठबन्धनले अहिलेसम्म एउटा पनि संयुक्त चुनावी सभा गर्न सकेको छैन।

सत्तारुढ मुख्य घटक नेपाली कांग्रेसका नेताहरुले गठबन्धनविरुद्ध आवाजहरू उठाएपछि त्यसको दबाब महसुस गठबन्धन दलका शीर्ष नेताहरुले गर्न थालेका छन्।

यसअघि सत्तारुढ पाँच दलले २९ चैतमा संयुक्त अपिल जारी गरेका थिए ।

११ र १२ वैशाखलाई निर्वाचन आयोगले मनोनयन दर्ताको समय तोकिसकेको छ। कांग्रेसले आगामी वैशाख ९ गतेसम्म सहमति नजुटे त्यही बेलुका नाम पठाउन भनेको छ।

एमाले अघिअघि, अरु पछिपछि
गत २८ असारमा सत्ताको बागडोर देउवाको हातमा पुगेपछि बिदा भएका ओली त्यसपछि नितान्त पार्टीका काममा सहभागी भए। निर्वाचन त उनले अघिल्लै वर्षदेखि चाहेका थिए।

दुई पटकसम्म संसद विघटन गरेका ओलीले निर्वाचन मिति समेत घोषणा गरिसकेका थिए। यो निर्वाचन यसै पनि एमालेले चाँडोभन्दा चाँडो चाहनु स्वभाविक हो।

एमालेकै दबाबमा निर्वाचन आयोगले चुनावको मिति घोषणा गरेको ओलीदेखि दोस्रो तहका नेतासम्मले सार्वजनिक कार्यक्रममा भन्दै आएका छन्।
निर्वाचन मिति घोषणासँगै ओलीले तयारी तीव्र बनाएका छन्।

एमालेले स्थानीय निर्वाचनका उम्मेदवारहरूको नामावली धमाधम टुंगो गरिरहेको छ। धेरै ठाउँमा सर्वसम्मत छानिँदैछन्। केही ठाउँमा निर्वाचन विधि पनि प्रयोग गरिएको छ।

तर सत्ता गठबन्धन दलहरु अहिलेसम्म पालिका भागबण्डाकै ‘अल्झन’ मा फसिरहेका छन्। उनीहरुले चुनावी सभाको समय पनि विवाद मिलाउँदै सकिरहेका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस