काठमाडाैं । पूर्वमन्त्री हरि पाण्डेले आफू मन्त्री हुँदा घुस खाएको बताउँदै सरकारले दण्डित गर्नुपर्ने बताएका छन् । पूर्वमन्त्री पाण्डेले आफू मन्त्री हुँदा ‘घुस खाएर धन आर्जन गरेको, मातृभूमिको भारा नतिरेको र आफु समाजमा प्रतिष्ठित हुँ’ भनेर हिँडेकोमा सरकारले दण्डित गर्नुपर्ने बताए ।
विज्ञापन
बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उद्योगपति समेत रहेका पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तामेलीमा रहेको आफ्नो मुद्दा पुनर्जीवित गरेर कारबाही गरेमा आफू जेल जानसमेत तयार रहेको स्पष्ट पारे ।
विज्ञापन
पहिलोपटक भारतले २०४५ सालको अन्तमा लगाएको आर्थिक नाकाबन्दी पछि आफुले विश्व बैंकमा अरुण तेस्रोको बारेमा वार्ता गरेको समेत उनले सुनाए । आफुले पछिल्लो समयमा सकेसम्म राष्ट्रिय उत्पादन र सस्तो सामाग्री प्रयोग गर्दै आएको पनि बताए ।
उनले भने, ‘मैले सम्पत्ति आर्जन गर्न अरुलाई घुस दिएको हो, जे आर्जन गरें त्यसको केही मातृभूमिलाई दिनुपर्ने थियो, त्यो दिएको छैन्, त्यति हुँदा पनि म प्रतिष्ठित भएर यो समाजमा हिँडिरहेको छु । मलाई राज्यले दण्ड दिनुपर्छ । म जेल जान पनि तयार छु ।’
उनले १९ वर्ष अघिको घटना स्मरण गराउँदै आफुले कास्की प्रहरीमा दण्ड गर्न आग्रहसहितको निवेदन दिएको सुनाउँदै भने, ‘कास्की प्रहरीले केही नगरेपछि म अख्तियारमा गएँ र दण्डित गर्न आग्रह गरेको थिए । त्यतिबेला अख्तियारले मेरो मुद्दा तामेलीमा राख्यो । तर कुनै फैसला गरेन, अख्तियारले तामेलीमा राखेको मुद्दा फेरि पुनर्जीवित गराउन यही कार्यक्रममार्फत आग्रह गर्दछु ।’
नेपाली नागरिकको हैसियतले मातृभूमिलाई दिनुपर्ने तर नदिएको हिस्सा फिर्ता दिन चाहेको भएपनि आजसम्म सरकारले लिन नचाहेकोमा पाण्डेले आश्चर्य प्रकट गरे । उनले भने,‘त्यो रकम आज पनि सुरक्षित छ आजपनि सरकारले मागेमा म दिन तयार छु ।’ पाण्डेले २०५९ सालमा अख्तियारको तामेलीमा भएको केस उल्टाएर आफुलाई कारवाही गर्न सरकार र सम्बन्धित निकायसँग पटक–पटक आग्रह गरे ।
अख्तियारले पुरानो फाइल उल्टाइदिएमा आफु निकै खुशी हुनेपनि सुनाउँदै उनले भने,‘मलाई अख्तियारले कारवाही गरोस्, जेल हालोस् । अख्तियारले मलाई कारवाही हुँदा खुशी हुने थिएँ ।’ पाण्डेले ३ करोड रूपैयाँबाट ६ सय विद्यार्थीहरुलाई आफुले छात्रवृत्ति दिइरहेको पनि जानकारी दिए । स्वास्थ्यले साथ दिएमा परिवारदेखि आफु करिब १ वर्ष टाढा बस्ने पनि उनले स्पष्ट पारे ।
फेसबुक प्रतिक्रियाहरु