सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • ‘नेपालमा माओवादीलाई हराउने तागत कसैसँग छैन, अब एक नम्बर हुन्छौँ’ : प्रचण्ड
समाचार

‘नेपालमा माओवादीलाई हराउने तागत कसैसँग छैन, अब एक नम्बर हुन्छौँ’ : प्रचण्ड

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र कांग्रेसको अधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नभई भीड जम्मा गर्ने थलोको रुपमा रहेको टिप्पणी गरेका छन्।

शनिवार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले नेकपा(एमाले) र नेपाली कांग्रेसको अधिवेशनमा विचार र सिद्धान्तको बहस नभएको भन्दै टिप्पणी गरेका हुन्।

विज्ञापन

एमाले अधिवेशनलाई पञ्चर्‍यालीको संज्ञा दिदैँ उहाँले एमाले अधिवेशन विचार हिनताको र विचार शुन्यताको अधिवेशनको रुपमा सम्पन्न भएको बताए।

विज्ञापन

त्यस्तै अहिले चलिरहेको नेपाली कांग्रेसको अधिवेशनमा पनि राष्ट्र कस्तो बनाउने र समाजवादउन्मुख राज्य कसरी बनाउने भन्ने सम्बन्धमा बहस नगरिएको भन्दै आलोचना गरे।

‘अरु पार्टीले ठुल्ठुला अधिवेशन भनेर भीड जम्मा गर्ने गरेका छन्। तपाईँ हामीले देख्यौँ, एमाले नामको अधिवेशन पनि देख्यौँ। अहिले कांग्रेसको अधिवेशन चलिराखेको छ। एमालेकोलाई त मैले पञ्चर्‍याली भन्दा अरु देख्दिनँ’, उनले भने, ‘त्यो बिल्कुल पञ्चर्‍याली, सिद्धिने बेलाको, निभ्ने बेलाको बत्ति भन्याजस्तो मात्रै हो त्यो। त्यहाँ न कुनै विचार, न कुनै बहस, न कुनै विधि, न कुनै पद्धती, निरंकुशताको, विचार शून्यता र विचार हिनताको अधिवेशनको रुपमा गयो त्यो। दुनियाँले देख्यो। तपाईँ हामी सबैले देख्यौँ नि त्यहाँ कुनै प्रस्ताव माथि छलफल भयो? कुनै विचारमा बहस भयो? त्यहाँ मार्क्सदको म पनि उच्चारण गरियो नेतृत्वबाट कहीँ? समाजवादको कुरा गरियो भन्दा कहीँ केही छैन।’

उनले एमालेको महाधिवेशनमा व्यक्तिको पूजा गरिएको पनि बताए। ‘त्यहाँ व्यक्ति पुजाको कुरा गरियो। व्यक्तिको अन्धताको प्रचार गरियो। र सिद्धान्तहिनताको प्रदर्शन गरियो। नेपाली कांग्रेसको पनि हामी हेरिराख्या छौँ, उहाँहरुको त झन विचार, सिद्धान्त, सम्मेलन भनेको हिजो उद्घाटन भयो, आज नोमिनेशन हुन्छ, भोलि फिर्ता लिने गर्ने हुन्छ। पर्सि चुनाव हुन्छ सिद्धियो’, उनले भने, ‘त्यहाँ राष्ट्र कस्तो बनाउने? कसरी लैजाने? हाम्रो संविधानले भनेको समाजवादउन्मुख राज्य कसरी बनाउने होला भन्नेतिर बहस छैन।’
अध्यक्ष दाहालले माओवादी पार्टीभित्र वैचारिक अस्पष्टताका कारण गुटबन्दी र अराजकता लगायतका समस्या देखिएको बताए। पार्टी भित्र विचारको समस्या रहेको र गन्तव्य स्पष्ट नभएको उनले बताए।

दाहालले आगामी राष्ट्रिय सम्मेलनबाट २१ औँ शताब्दीलाई सुहाउँदो नयाँ विचार लिएर आउने र पार्टीलाई विचारमा सशक्त बनाउने पनि बताए।

‘हाम्रो यावत् समस्याहरु छन्। गुटबन्दीका समस्या, अराजकता समस्या, स्वार्थ, पदलोलुपताका समस्या, हिजो कसरी क्रान्ति सफल पार्ने भन्ने चिन्ता हुन्थ्यो। आज कसरी पद प्राप्त गर्ने भन्नेमा गर्छौँ हामी। त्यो पद मैले पाउँदिन कि, म त्यहाँ पुग्दिन कि भन्ने चिन्ता बढी हुन्छ। यस्तो भएको सन्दर्भमा, यो सबैको चुरो कारण न कार्यकर्ता हो, न नेता हो’, उनले थपे, ‘नेता र कार्यकर्ताको व्यक्तिगत समस्याका रुपमा यसलाई बुझिनु हुँदैन। यो विश्व इतिहासको र नेपालको पनि इतिहासमा क्रान्तिको नयाँ विचारको खोजीको चुनौती हो। यो सबै हामीभित्र देखा पर्ने कुरा भनेको विचारको समस्या हो। वैचारिक स्पष्टताको अभावको समस्या हो।’

दाहालले आफूहरुको समस्या गन्तव्यमा अलमल रहेको पनि बताए। ‘क्लियर चित्र देखिदैन। हेर्न खोज्यो चित्र धमिलो हुन्छ। हेर्दै गयो भने अध्यारो देखिन्छ। अध्याँरो देखेपछि त कसरी जाँगर आउने, जोश आउने, रुपान्तरण, त्याग, के का लागि गर्ने भन्ने हुन्छ? यो सबैको चुरो कुरो एक्काइसौँ शताब्दीमा नयाँ क्रान्ति किनकी म नयाँ कुरा भन्न लाग्दैछु र नयाँ दस्तावेज ल्याउँदैछु’, उनले भने, ‘निरन्तरतामा क्रमभंग भन्दै आएको छौँ। हामी अर्को क्रमभंगको चरणमा प्रवेश गर्दैछौँ। यो जानकारी तपाईँहरुलाई गराउन चाहान्छु। यही निरन्तरताले हुँदैन। त्यसकारण पहिलो क्रमभंगता विचारबाटै हुनुपर्‍यो।’

उनले माओवादी अस्पष्ट भएका कारण हेपिनुपरेको बताए। उनले माओवादीलाई हराउने तागत नेपालमा कसैको नभएको पनि दाबी गरे। अध्यक्ष दाहालले आगामी चुनावमा नम्बर १ पार्टी हुनेगरी आक्रामक रुपमा प्रस्तुत हुन नेता, कार्यकर्तालाई आग्रह गरे।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस