Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • समाचार
  • ‘रामभक्त’ ओली नै किन गएनन् बाबा रामदेवको कार्यक्रममा?
समाचार

‘रामभक्त’ ओली नै किन गएनन् बाबा रामदेवको कार्यक्रममा?

योगगुरु बाबा रामदेवको उपस्थितिमा पतञ्जली योगपीठद्वारा काठमाडौँको मण्डिखाटारमा शुक्रबार आयोजित एउटा कार्यक्रमको मञ्च सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको जमघटस्थलजस्तै बन्यो।

कार्यक्रममा सत्तारुढ नेपाली कांग्रेसको सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवादेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) उपस्थित थिए। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवपनि मञ्चमा देखिए।

विज्ञापन

योगगुरु रामदेवले सुरुवात गरेको पतञ्जली योगपिठद्वारा सञ्चालन हुन लागेका दुई टेलिभिजन च्यानल ‘पतञ्जली नेपाल’ र ‘आस्था नेपाल’ को उद्घाटन कार्यक्रममा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली भने देखिएनन्।

विज्ञापन

‘रामभक्त’ ओली र रामदेव
ओली नेतृत्वको एमाले माक्र्सवाद–लेनिनवाद जस्ता भौतिकवादी विचार–दर्शनमा विश्वास राख्छ। लामो समय भौतिकवादी विचार–दर्शनमा आस्था राख्दै आएपनि नेकपामा विवाद देखिन थालेपछि ओली आश्चर्यजनक रुपमा ‘भगवान रामको भक्त’ हुन पुगे।

यसैक्रममा उनले भगवान रामको जन्म चितवनको माडीमा भएको दावी गर्न थाले। जबकि पुरातात्विक दृष्टिले यो कुराको पुष्टि भएको छैन। तर, ओलीले ‘सीताको माइती जनकपुर नेपालमै रहेको’ र जनकपुरबाट नजिकै रहेको ‘अयोध्यापुरी नामक स्थान माडीमा रहेको’ बताउँदै भगवान रामको जन्मस्थान माडी रहेको तर्क गर्दै आएका छन्।

माडीको अयोध्यापुरमा राममन्दिर बनाउन लगाएर ओलीले आफ्नै लगानीमा निर्माण गरिएको रामको मूर्ति समेत स्थापना गरेका छन्। एमाले महाधिवेशनको तयारीको निरीक्षण गर्ने सिलसिलामा कार्तिक तेस्रो साता चितवन जाँदा ओली ती मूर्तिको दर्शन गर्न माडी समेत पुगेका थिए।

ओली जस्तै योगगुरु रामदेव पनि ‘रामभक्त’ हुन्। रामदेवकै आफ्नै अग्रसरतामा उत्तर प्रदेशको अयोध्यामा पतञ्जली योगपीठले गुरुकूल निर्माण गर्दैछ। नरेन्द्र मोदीजस्ता ‘रामभक्त’ प्रधानमन्त्री पाउनु भारतका लागि गौरवको विषय भएको पनि रामदेवले बताउँदै आएका छन्।

तिनै ‘रामभक्त’ भारतीय प्रधानमन्त्री मोदीलाई ‘नव रामभक्त’ ओलीले तीन वर्ष अगाडि सीताको जन्मभूमि जनकपुर मन्दिरमा स्वागत गरेका थिए। ‘रामभक्त’ मोदी बिमस्टेक सम्मेलनको सिलसिलामा नेपाल आएका थिए।

प्रश्न उठ्छ– योगगुरु रामदेवको संस्थाले आयोजना गरेको शुक्रबारको कार्यक्रममा ओली किन उपस्थित भएनन्? सत्तारुढ दलसँग निकटता बढाएर संस्थागत लाभका लागि पतञ्जली योगपिठले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई निम्तो नै नदिएको हो कि?

दुई कारण
पतञ्जली योगपीठका नेपाल प्रमुख शालिग्राम सिँहका भनाईमा, शुक्रबार आयोजित कार्यक्रमका लागि नेपालका पूर्व प्रधानमन्त्रीदेखि सबै राजनीतिक दलका प्रमुखहरुलाई निमन्त्रणा पत्र पठाइएको थियो।

‘सबैजसो प्रमुख दलका प्रमुखहरुले कार्यक्रममा उपस्थिति जनाउनु भयो, एमाले अध्यक्ष ओली भने आउनु भएन’, सिंहले  भने, ‘उहाँको स्वास्थ्य अनुकूल नरहेको र काठमाडौँ बाहिर रहनु भएको जानकारी हामीलाई गराइयो।’

तर योगपीठलाई दिइएको ‘ओलीको स्वास्थ्य अवस्था अनकूल नरहेको’ र ‘ओली काठमाडौँ बाहिर रहेको’ भन्ने जानकारी सत्य लाग्दैनन्।

किनभने, शुक्रबार ओली काठमाडौँमै थिए। योगपीठलाई भनिएजस्तो उनी विरामी पनि थिएनन्।

‘पतञ्जली योगपीठद्वारा आयोजित कार्यक्रममा हाम्रो अध्यक्ष नजानु भएको महाधिवेशनको व्यस्तताले गर्दा हो’, एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले भने, ‘अध्यक्ष ओली लगायत समग्र एमाले पंक्ति महाधिवेशनमा यति धेरै व्यस्त छ कि, महाधिवेशन बाहेक अन्यत्र सोच्ने–भेट्ने फुर्सदै छैन।’

तामाङले भने जस्तै सम्पूर्ण एमाले पंक्ति महाधिवेशनको चटारोमा रहेको कुरा सत्य हो। तर, यस्तो चटारोको बीचसमेत ओलीले नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँग शुक्रबार दिउँसो भेटघाट गर्न भ्याए।

त्यसैले, ‘महाधिवेशनको चटारोकै कारण नभ्याएर’ योगपीठद्वारा आयोजित कार्यक्रममा ओली सहभागी नभएको मान्न पनि सकिँदैन।

जानकारहरुका भनाईमा, रामभक्त हुँदाहुँदै पनि बाबा रामदेवको कार्यक्रममा ओली उपस्थित नहुनुका दुई कारण हुन सक्छन्।

एक, कार्यक्रममा आफूलाई सरकार प्रमुखबाट विस्थापित गरेका प्रधानमन्त्री देउवालगायत सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको उपस्थिति। सत्ताबाट हटेयता ओलीले प्रधानमन्त्री देउवा लगायत सत्तारुढ गठबन्धनमा सामेल दलका नेताहरुसँग कुनै पनि मञ्च ‘सेयर’ गरेका छैनन्।

दुई, आगामी निर्वाचनमा भोटका लागि आफू ‘भारतविरोधी’ र ‘राष्ट्रवादी’ रहेको देखाउने प्रयास। किनभने, भारत विरोधी राष्ट्रवाद निर्वाचनमा सफलता प्राप्त गर्ने मुद्दा बन्दै आएको छ नेपालमा।

सत्तारुढ दलका नेतासँगै बाबा रामदेवसँग मञ्च सेयर गर्दा अरु दललाई ‘भारत परस्त’ र आफूलाई राष्ट्रवादी करार गर्ने आधार ओलीसँग रहँदैन।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस