आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा अब सरकारी कार्यालयमा एक घन्टामै सेवा !
समाचार

चितवनमा अब सरकारी कार्यालयमा एक घन्टामै सेवा !

चितवन ।

काम लिएर सरकारी कार्यालय पुग्ने जोकोहीका लागि एक घन्टामै काम हुनु भनेको नौलो विषय लाग्न सक्छ । तर, चितवनमा भने अबदेखि सरकारी कार्यालयहरुले कामको प्रकृतिअनुसार एक घन्टाभित्रै सेवा दिनुपर्ने भएको छ । जिल्लास्थित सरकारी कार्यालयहरुले आफ्नो कार्यालयबाट दिन सकिने सेवाहरुबारे सबै सेवाग्राहीले देख्ने र बुझ्ने गरी कार्यालयको अग्रभागमा सूचना जारी गर्नू भनी प्रशासन कार्यालयले निर्देशन दिएको छ ।

विज्ञापन

जिल्ला प्रशासन कार्यालय चितवनले परिपत्र जारी गरेको छ । चितवन प्रशासनका अनुसार हरेक सरकारी कार्यालयले कुनै पनि सेवाग्राहीको कागजपत्र मिलेको अवस्थामा वा सबै कागजात जुटेको अवस्थामा एक घन्टाभित्रै सेवा दिने भनी आफ्नो कार्यालयको तर्फबाट बिहीबार कार्यालय भवनमा सूचना सार्वजनिक गरेको छ ।

विज्ञापन

सम्बन्धित कार्यालयबाट दिइने सेवाको प्रकृतिअनुसार अबदेखि जिल्लाका सबै सरकारी कार्यालयहरुले एक घन्टाभित्रै दिन सकिने सेवा र सेवाग्राहीका कागजपत्रअनुसार कम समयभित्रै दिन सकिने सेवाबारे उल्लेख गरी हरेक कार्यालयमा टाँस्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिए ।

कर्मचारीले कागजपत्र पुगेको अवस्थामा समय लाग्छ, आज काम हुँदैन वा काम गर्न भ्याइन्न भनेजस्ता गुनासो सेवाग्राहीबाट आउने गरेको भन्दै उनले त्यस्ता गुनासाहरु आउन नदिनका लागि सुशासनको नयाँ तरिका अपनाइएको बताए ।

कार्यालयहरुमा सेवाग्राहीको भीडभाड कम गर्न यो नियम सहयोगी बन्ने प्रशासनको अपेक्षा छ । चितवनमा नयाँ प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ आएपछि उनले सरकारी कार्यालयहरुमा हुने ढिलासुस्ती र भीडभाड कम गर्न तथा सेवाग्राहीलाई सेवाप्रति सन्तुष्टि दिनका लागि कार्यालय प्रमुखहरुको बैठकमा एक घन्टाभित्रै सेवा दिन सकिने अवस्थामा सेवा दिन भनेका थिए । तर, सेवाग्राहीको अत्यधिक भीड लाग्ने मालपोत, नापी, राजस्व कार्यालयमा एक घन्टाभित्रै सेवा पाउन मुस्किल देखिन्छ ।

मालपोत कार्यालय भरतपुरका प्रमुख शेरबहादुर भण्डारीले कार्यालयमा एक घन्टाभित्रै सेवा दिन केही असहज हुने बताए । सेवाग्राहीले कागजपत्र पूरा नगरी आउने, भीडभाड गर्ने र कर्मचारी सेवाग्राहीको तुलनामा थोरै भएकाले समस्या हुने गरेको उनले बताए । तर पनि केही सेवाहरु तत्काल दिन सकिने उनको भनाइ छ । प्रशासनको निर्देशनअनुसार सेवा दिनका लागि आफूहरु तयार रहेको मालपोत प्रमुख भण्डारीले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस