सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • अक्सफोर्ड कलेजको बस गाँजा खाएर चलाएको पुष्टि
समाचार

अक्सफोर्ड कलेजको बस गाँजा खाएर चलाएको पुष्टि

भरतपुर । चितवनको टिकौली जंगलमा गत साउन ३१ गते भएको दुर्घटनामा मुख्य जिम्मेवार भनिएको अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाएको पाइएको छ । चालकमाथि गरिएको मादक पदार्थ सेवन र लागू पदार्थ सेवन जाँचका क्रममा चालकले गाँजा खाएको पुष्टि भएको हो ।

प्रहरीले भने अस्पतालबाट आधिकारिकरुपमा रिपोर्ट नआइसकेकाले रिपोर्ट के–कस्तो छ भनी जानकारी दिन नसकिने बताएको छ । तर, चितवन मेडिकल कलेजमा गरिएको प्रयोगशाला परीक्षणका क्रममा चालक नवलपुरको गैँडाकोट नगरपालिका–९ बस्ने वर्ष २६ का आशिष परियार (भरत)ले गाँजा खाएको पुष्टि भएको छ । प्रहरीले चालकलाई सवारी अङ्गभङ्गअन्तर्गत मुद्दा चलाएको छ ।

विज्ञापन

प्रहरीले पछिल्लो समयमा कुनै दुर्घटना भएमा शङ्का लागेको अवस्थामा मादक पदार्थ सेवन र लागू पदार्थ सेवन जाँच गराउने गरेको छ ।

विज्ञापन

गत साउन ३१ गते दिउँसो पूर्व–पश्चिम सडकको टिकौली जंगलमा एउटा अक्सफोर्डको कलेज बसले शव बोकेको बोलेरो र ६ वटा मोटरसाइकललाई ठक्कर दिएको थियो । भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको गैँडाकोटको अक्सफोर्ड कलेजको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकेर देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको थियो । साथै अन्य ६ वटा दुईपाङ्ग्रे सवारीलाई पनि ठक्कर दिएको थियो ।

दुर्घटनाका घाइतेहरुमध्ये केहीको अझै उपचार जारी छ । घटनाको प्रकृति हेर्दा निकै खतरनाक रहेको थियो । प्रहरीले तीव्र गतिका कारण बसले नियन्त्रण गुमाई दुर्घटना गराएको जनाएको छ । दुर्घटनामा २० जना घाइते भएका थिए । घाइते सबैको कलेजले नै उपचार गर्ने भनी जिम्मा लिइसकेको छ ।

उनीहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भएको छ । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकोमा क्रमशः स्वास्थ्य सुधार हुँदै आएको प्रहरीले जनाएको छ । दुर्घटनाका कारण दाहसंस्कारमा सहभागिता जनाउने र क्रिया बस्नुपर्नेहरु नै उपचारमा बस्न परेको थियो ।

चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले युवा उमेरका चालकबाट हुने दुर्घटनामा मादक पदार्थ सेवन भए/नभएको जाँच हुँदै आएकोमा पछिल्लो समय लागू पदार्थ सेवन भए/नभएको पनि जाँच गर्न थालिएको बताए । चितवनमा गत महिना मुग्लिन–नारायणगढ सडकको दासढुङ्गामा झापाबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटनापछि चालकमा गरिएको लागू पदार्थ सेवनको क्रममा लागू औषधजन्य पदार्थ खाएको पुष्टि भएको थियो । प्रहरीले सवारी जाँचको क्रममा पनि मादक पदार्थसँगै लागू पदार्थ पनि जाँच गर्ने गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस