आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुर पुगेर शीर्ष नेताहरुको एकै स्वर : रेणुको नेतृत्वमा कायापलट विकास भयो
समाचार

भरतपुर पुगेर शीर्ष नेताहरुको एकै स्वर : रेणुको नेतृत्वमा कायापलट विकास भयो

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर आकांक्षी रेणु दाहालको उम्मेदवारी यतिबेला प्रतिष्ठाको विषय बनेको छ। पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेकी दाहाललाई जिताउन बिहीबार ‘जम्बो टोली’सहित शीर्ष नेताहरुको चुनावी सभा भरतपुरमा आयोजना गरियो। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठसहित दर्जन बढी नेताहरु चुनावी सभामा रेणुको पक्षमा भोट मागे।

 

विज्ञापन

गठबन्धनका शीर्ष नेताहरु एउटै मञ्चबाट साझा उम्मेदवार जिताउने र गठबन्धनलाई भविष्यसम्म लैजाने उद्घोष गरे। उनीहरुले वितेको पाँच वर्षमा मेयर भएर रेणुले भरतपुरको मुहार फेरेको भन्दै शीर्ष नेताहरुले प्रशंसा गरे। त्यसैले उनलाइ दोहोर्‍याउनु गठबन्धनको दायित्व भएको बताए।

विज्ञापन

चुनावी सभाको सुरुमै आकांक्षी दाहालले भरतपुरमा विकासको मूल फुटेको दाबी गरिन्। महानगरबासीको साझा जनप्रतिनिधिका रुपमा टाउको झुकाउनुनपर्ने गरी काम गरेको उनको दाबी थियो। ‘सडक पूर्वाधारको क्षेत्रमा ६२२ किमी सडक खण्ड निर्माण गरेका छौं। पौने ४ अर्बको खानेपानीका योजना अघि बढाएका छौं। नारायणी तटबन्धनको योजना अघि बढाएका छौं,’ दाहालले भनिन्।

त्यसपछि आएका जसपा नेता श्रेष्ठले भरतपुरको विकास देखेर गर्व लागेको बताए। उनले रेणु दाहालको नेतृत्वले भरतपुरमा कायापलट गरेको उनको दाबी थियो। ‘म धेरैपटक चितवन आइसकेको छु। पहिले र अहिलेको तुलनामा धेरै विकास भएको देखेँ। पाँच वर्षमा विकासको कायापलट भएको रहेछ,’ रेणुलाई ढाड्स दिँदै उनले भने।

कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले रेणुलाई जिताउने अठोट गरे। उनले रेणुलाई जिताउन २९ वटै वडामा गठबन्धनलाई विजयी बनाउन अघि बढेको बताए। ‘रेणु दाहाललगायत सिंगो गठबन्धनलाई जिताउन प्रतिबद्धता व्यक्त गर्छौं। यसो भन्दै गर्दा आदरणीय पुष्पकमल दाहाललाई भन्नैपर्छ हाम्रो पार्टीको सोझो सभापति हुनुहुन्छ। भोलिको दीनमा ढाँट्ने काम नहोस्।’

जवाफमा प्रचण्डले पनि रेणुको जित अपरिहार्य रहेको भन्दै त्यसपछि गठबन्धनलाई २० वर्षसम्म लैजाने प्रतिबद्धता गरे। ‘तपाइँ चितवनबासी जनताले उत्साहपूर्ण भोट हालेर रेणु दाहाल र चित्रसेन अधिकारीको टिमलाई भोट हाल्नुभयो भने म निकै उत्साहित हुनेछु। यो गठबन्धनलाई १०-१५-२० वर्ष लैजाने मेरो प्रतिबद्धता हुनेछ,’ प्रचण्डको दाबी थियो।

उनले यो गठबन्धन राष्ट्र, जनता र लोकतन्त्रको आवश्यकता भएको बताए। उनले थपे, ‘समृद्धि र विकासको आवश्यकता हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भनेर भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ।’

त्यस्तै अध्यक्ष नेपालले रेणु दाहालले भरतपुरमा विकास गरेको भन्दै विजयी बनाउन आग्रह गरे। उनले भरतपुर महानगरलाई थप विकास गर्न रेणुको एजेण्डा प्रशंसनीय भएको बताए। त्यसैले गठबन्धनलाई इमान्दारीताका साथ पालना गर्न भरतपुरबासीलाई उनले अनुरोध गरे।

प्रधानमन्त्री देउवाले पनि रेणुलाई जीताउनु कांग्रेसको कर्तव्य रहेको बताए। देउवाले रेणुलाई जिताएपछि गठबन्धन बलियो हुने र यसमा कांग्रेसले कुनै बखेडा झिक्न नहुने बताए । ‘उहाँ (रेणु)ले जितिसक्नुभएको छ। हाम्रो पार्टीले कुनै बखेडा गर्ने काम छैन। रेणु दाहालजीलाई चितवनमा जिताउने कांग्रेसको झन् कर्तव्य हुनेछ। कुनै पनि शंका नहुने स्थितिबाट सहयोग गर्नुपर्छ। बेरुजु नभएको महानगरको मेयर हो रेणुजी,’ देउवाले भने।

उनले रेणु दाहालको नेतृत्वमा भरतपुरको हरेक गल्ली कालोपत्रे भएको, स्मार्टसीटी बनाउने घोषणा गरेको र काठमाडौंभन्दा महँगो भइसकेको दाबी गरे।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस