काठमाण्डाै । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमाले एक क्विन्टल आलु भएको तर गठबन्धन एक/एक तोला मात्र भए पनि सुन भएको जिकिर गर्नुभएकाे छ । आज आइतवार काठमाण्डाैमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताउनुभएकाे हाे ।
महामन्त्री शर्माले पालिका चुनावमा कांग्रेस बलियो बन्ने देखेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू क्विन्टल र अरू एक/एक किलोको ढक भएको त्रासपूर्ण अभिव्यक्ति दिएको बताउनुभयो । केही दिनअघि नेकपा एमालेका अध्यक्ष ओलीले एक सार्वजनिक कार्यक्रममा गठबन्धनका पाँच दल एक/एक किलोको ढक भएको र नेकपा एमाले एक्लै क्विन्टल भएको अभिव्यक्ति दिनुभएको थियो ।
विज्ञापन
त्यसप्रति इङ्गित गर्दै महामन्त्री शर्माले भन्नुभयाे, ‘नेपाली कांग्रेस पार्टी बलियो ढङ्गले विजयी बन्दै गर्दा कमरेड केपी ओलीले गठबन्धनलाई एक/एक किलाका पाँच वटा ढक हुन् र एमाले एक्लै क्विन्टल हाे भन्नुभयो । हामी पाँच पार्टी एक/एक किलाका ढक होइनौँ, हामी एक/एक तोला मात्रै हौँ । एमाले चाहिँ क्विन्टल नै हो तर एक क्विन्टल आलु र पाँच वटा तोला सुनको हिसाब बजारमा गएर सोध्यो भने कमरेड केपी ओलीलाई थाहा हुन्छ ।
महामन्त्री शर्माले कांग्रेस यही वैशाख ३० गते हुने पालिका चुनावमा राष्ट्रिय रूपमा विजयी बन्ने दाबी पनि गर्नुभयाे । उहाँले कांग्रेसले पालिका चुनावमा विजयी बन्दै गर्दा विजयको कुरामात्र नसोचेको र समाजलाई एकै ठाउँमा कसरी उभ्याएर जाने ? भन्नेबारेमा पहलकदमी गरिरहेको बताउनुभयो ।
महामन्त्री शर्माले नेकपा एमालेले बाहिर एक्लै भिड्न तयार रहेको अभिव्यक्ति दिए पनि भित्र भने कमल थापासँग तालमेल गरिरहेको बताउनुभयो । उहाँले काठमाण्डाे महानगरपालिकामा यस पटक सिर्जना सिंहको नेतृत्वमा बहुसङ्ख्यक जित दर्ता गर्ने दाबी गर्नुभयो ।
फेसबुक प्रतिक्रियाहरु