आइतवार, अशोज २०, २०८१
  • होमपेज
  • समाचार
  • प्रकाशमानको ‘प्रतिष्ठा’ र निधिको ‘निष्ठा’ गुमेको महाधिवेशन !
समाचार

प्रकाशमानको ‘प्रतिष्ठा’ र निधिको ‘निष्ठा’ गुमेको महाधिवेशन !

कांग्रेस सभापतिको चाहना राखेर उम्मेदवार बनेका प्रकाशमान सिंह ३७१ मतमा खुम्चिएपछि उनले दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गरे ।

 

विज्ञापन

कांग्रेसको महाधिवेशन शुरू हुनुअघि देउवाबाट पार्टी चल्न नसक्ने र उनको विकल्पमा संस्थापन इतरको साझा उम्मेदवार चाहिने तर्क सिंहले गर्ने गरेका थिए । साझा उम्मेदवार तय गर्नका लागि हुने छलफलमा संस्थापन इतरको साझा उम्मेदवार आफैँ हुनुपर्ने अड्डी राख्थे । उनकै निवास चाक्सीबारीमा कैयौंपटक छलफल भयो । तर, जित्ने उम्मेदवारको पक्षमा उनी देखिएनन् ।

विज्ञापन

 

 

प्रकाशमान सिंहले शेखर कोइरालालाई ‘जुनियर उम्मेदवार’ करार गरेर पार्टीमा आफ्नो अस्तित्वको वकालत गरे । कांग्रेसको ठूलो हिस्साले चाहेको रूपान्तरण र पुस्तान्तरणको बहसलाई सिंहले तिलाञ्जली दिए । संस्थापनइतर समूहबाट सभापतिमा विद्रोही उम्मेदवार बने ।

सभापतिमा उम्मेदवारी दर्ता गरेपछि सिहंले भनेका थिए, ‘शेखर उम्मेदवार हुँदा पार्टीमा हामी धेरै बाहिर हुने भयौं । म उम्मेदवार हुँदा रामचन्द्र पौडेल मात्रै बाहिर रहन्छन् । मेरो उम्मेदवारीले धेरैलाई न्याय हुन्छ ।’

 

तर, महाधिवेशनको निर्वाचनले पार्टीभित्र सिंहको असली हैसियत देखाइदिएको छ । पहिलो चरणमा खसेको कुल ४६ सय ७९ मतमध्ये सिंहको पक्षमा जम्मा ३७१ मत अर्थात् ७.९ प्रतिशत मात्रै मत आयो ।

कात्तिक २८ मा सर्लाहीको हरिवनमा कांग्रेस कार्यकर्तासँग प्रकाशमानको उम्मेदवारी किन अनुपयुक्त हुन्छ भन्ने प्रसंगमा शशांक कोइरालाले भनेका थिए, ‘प्रकाशमानलाई काठमाडौंबाहिर कसैले चिन्दैनन् ।’ आखिर, महाधिवेशनले त्यही कुरा प्रमाणित गरिदियो ।

सिंहको पक्षमा लज्जास्पद परिणाम आएपछि उनले सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवासँग ‘बार्गेनिङ’ गरे । देउवाले आफूलाई सभापति जिताउन सहयोग गरे सरकारमा उपप्रधानमन्त्री दिने वचन दिएको चर्चा छ ।

प्रकाशमान उपप्रधानमन्त्रीमा लोभिए । हिजोसम्म देउवाबाट पार्टी चल्दैन भन्दै आएका उनी अब देउवाविना पार्टी चल्दैन भन्दै मतदाता प्रतिनिधिसँग भोट माग्न उभिए । किनकी, उनलाई तत्कालै देउवाबाहेक अरूले उपप्रधानमन्त्री बनाउन सक्दैनथ्यो ।

नेपाली राजनीतिमा ‘लौहपुरूष’को उपमाले चिनिएका गणेशमान सिंहका जेठा छोरा हुन्, प्रकाशमान सिंह । कांग्रेसभित्र उनै गणेशमानको विरासतको छत्रछायाँमा हुर्किएका प्रकाशमानको पार्टीभित्र बलियो प्रभाव छ भन्नेहरूको आँखा चौधौं महाधिवेशनमा खुलेको छ । उनीहरूले भन्न थालेका छन्– प्रकाशमान रूपान्तरणको पक्षमा छैनन् ।

 

गणेशमानले भन्ने गरेका थिए, ‘राजनीतिबाट नैतिकता झिकिदियो भने व्यापार हुन्छ ।’ प्रकाशमानले ठ्याक्कै त्यही गरे । ३७१ मतको व्यापार गरेर सरकारमा क्षणिक लाभ रोजे । यो मतको व्यापारबाट पाएको लाभले यसपालि माघको जाडो त जसोतसो टर्ला तर, त्यसपछिका वर्षमा प्रकाशमानको राजनीतिमा कुनै उज्यालो भेटिने छैन ।

स्थानको खोजीमा सभापतिको उम्मेदवार बनेका प्रकाशमानको न त पार्टीभित्र बलियो स्थान रह्यो न त पार्टीबाहिरको छवि नै राम्रो रह्यो । नजिकिएको संसदीय निर्वाचनमा उनले महाधिवेशनको प्रभाव बेहोर्ने निश्चितप्रायः छ । पार्टीमा रूपान्तरणका पक्षधरले संसदीय निर्वाचनमा प्रकाशमानलाई सघाउलान् भन्नेमा सन्देह छ ।

प्रकाशमानले महाधिवेशनमा कांग्रेसका करीब नौ लाख कार्यकर्ताको होइन, आफ्नो व्यक्तिगत स्वार्थको सम्बोधन खोजे । उम्मेदवार बन्ने बेलामा होस् वा दोस्रो चरणमा समर्थनको क्रममा उनले आफ्नो प्रतिष्ठा कायम राख्न सकेनन् । पार्टी जहाँसुकै पुगोस्, तर व्यक्तिगत लाभमा नै उनी रोमाञ्चित बनेको देखियो ।

कांग्रेसको १४ औं महाधिवेशनपछि कांग्रेसको ठूलो हिस्साले प्रकाशमान र विमलेन्द्रको अनुहार सम्झनेछन्– दोस्रो पुस्ता उदयको अवरोधकका रूपमा ।
दोस्रो चरणको निर्वाचनपछि सभापतिमा शेरबहादुर देउवाले जिते । प्रकाशमानले फेसबुकमार्फत बधाई दिए, तर कमेन्ट लेख्न नमिल्ने बनाएर । यसबाट प्रस्ट हुन्छ कि उनी महाधिवेशनपछि कांग्रेसकै कार्यकर्तासँग कति डराएका छन् भन्ने । कमेन्टमा तथानाम गालीको वर्षा हुन्छ भन्ने पूर्वानुमान गरेरै उनले फेसबूक एकाउन्टमा कमेन्ट गर्न नमिल्ने बनाए ।

गणेशमानले पार्टीको संरक्षण र प्रवद्र्धनका लागि मुखैमा आएको प्रधानमन्त्री पद त्यागेका थिए । तर, कांग्रेसमा पुस्तान्तरणको अभियानले सार्थक निष्कर्ष पाउने बेलामा प्रकाशमानले भने त्यो साख जोगाउन सकेनन् । उनी गणेशमानका छोरा त हुन्, तर उनका सच्चा अनुयायी भने हुन सकेनन् ।

….

कांग्रेसमा निष्ठाका पर्याय थिए, महेन्द्रनारायण निधि । उनका छोरा विमलेन्द्र निधिले पनि अहिलेसम्म पार्टीमा महेन्द्रनारायणकै विरासत बेचिरहे ।

उनी कांग्रेसमा मधेशको खम्बाका रूपमा परिभाषित थिए । चौधौं महाधिवेशनले उनको यो परिभाषाको खास्टो पनि उतारिदिएको छ ।

शेरबहादुर देउवाको साथ र समर्थनमा राजनीतिक लाभ लिइरहेका निधिले संस्थापन खेमाबाट विद्रोह गरेर सबैभन्दा पहिले सभापतिको उम्मेदवारी घोषणा गरेका थिए । देउवाकै कारण कांग्रेस बिग्रिएको र सुधारका लागि नेतृत्वको पुस्तान्तरण हुनुपर्ने तर्क अघि सारेर चुनावी प्रचारमा थिए, उनी ।

तर, कांग्रेसमा उनको हैसियत २५० मतको रहेछ । अर्थात्, कुल ४६ सय ७९ मतको पाँच प्रतिशत मात्रै । कांग्रेसका आदर्श विश्वेश्वरप्रसाद कोइरालाले ‘संरक्षण’ र ‘प्रोजेक्सन’ गरेका नेतामध्येका हुन् निधि ।

 

निधिको पक्षमा जनमत नै नभएको बेला विश्वेश्वरले नै टिपेर जनकपुर महाधिवेशनपछि निधिलाई नेपाल विद्यार्थी संघको सभापति बनाएको कांग्रेस नेताहरू बताउँछन् । त्यसअघि शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको सभापति थिए । सँगसँगै राजनीतिक करिअर शुरू गरेका देउवा पार्टीको फर्स्टम्यान भइसकेको ईर्ष्या निधिमा घर गरेकाले मात्रै उनी पार्टी सभापतिको उम्मेदवार बनेको महाधिवेशनको क्रममा देखियो ।

उनी नेतृत्व परिवर्तनको पक्षमा हुन्थे भने दोस्रो चरणको निर्वाचनमा सभापतिमा देउवालाई समर्थन गर्दैनथे । निधि पनि पार्टीमा दोस्रो पुस्ताको उदय नचाहने नेता मध्येमा दरिए ।

सभापतिका उम्मेदवार भएकै कारण निधिले पार्टीमा सर्वस्व गुमाइसकेका थिए । प्रतिनिधि चयनका क्रममा देउवाले धनुषामा उनको निर्वाचन क्षेत्र नै तहसनहस बनाइदिएका थिए । कुनै पनि जिल्लामा उनी पक्षका जिल्ला सभापति चयन हुन सकेका थिएनन् । निधिका लागि त्यसको क्षतिपूर्ति नयाँ पुस्ता पार्टीमा उदय हुँदा नै हुनसक्थ्यो । तर, उनले त्यसको आंकलन गर्न सकेनन् र आफ्नो शर्मनाक हारका कारण देउवालाई समर्थन गर्न पुगे ।

महाधिवेशनमा रूपान्तरण र पुस्तान्तरणको एजेण्डा बोकेको पक्ष निधिलाई चित्त बुझेन । उनले पनि पार्टीमा रूपान्तरणको पक्षलाई ‘जुनियर’ करार गरे ।

मूल राजनीतिक दलको नेतृत्व डायनामिक र परिवर्तनको बेगलाई आत्मसाथ गर्नसक्ने हुँदा मात्रै जनताको मुहारमा ‘रूपान्तरण’ देखिन्छ । तर, प्रकाशमान र विमलेन्द्रले महाधिवेशनका क्रममा आफ्ना मतदाता र आमजनताको अनुहार सम्झिने दुष्प्रयास गर्नै चाहेनन् ।

कांग्रेसको १४ औं महाधिवेशनपछि कांग्रेसको ठूलो हिस्साले प्रकाशमान र विमलेन्द्रको अनुहार सम्झनेछन्– दोस्रो पुस्ता उदयको अवरोधकका रूपमा ।

उनीहरूको साथले देउवाले त पार्टीको सभापति जिते । आगामी चार वर्ष पार्टीमा उनकै रजगज चल्नेछ । शेखर कोइरालाले पार्टीमा प्रभावशाली नेताको हैसियत कायम गरे ।

पार्टीमा देउवाले आगामी चार वर्ष शेखरलाई नै सम्बोधन गर्नुपर्ने बाध्यात्मक परिस्थिति बनेको छ । आगामी चार वर्ष सिंह र निधि पार्टीमा कहीँ कतै खोज्दा पनि फ्रन्ट लाइनमा नदेखिने अनुहार बनेका छन् ।

त्यसैले त पुराना वामपन्थी विश्लेषक नीलाम्बर आचार्यले भनेका होलान्– शेखर कोइरालाले सम्मान जितेका छन्, शेरबहादुर देउवाले सभापति पद । सभापतिका अन्य प्रत्यासीले दुवै कुरा हारेका छन् ।लोकआन्तरबाट साभार

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस