नेकपा (माओवादी केन्द्र)को प्रदेश सम्मेलन आज (शनिबार) हुँदैछ। सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो।
शनिबार मध्याह्न १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ। सात भौगोलिकसहित माओवादीको उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति क्रियाशील छ। आज प्रवास वाहेक ९ प्रदेशको एकसाथ सम्मेलन गर्न लागिएको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए।
विज्ञापन
प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ। विशेष र सम्पर्क समितिले अनुकूलमा सम्मेलन गर्ने बताइएको छ। प्रवास समितिको सम्मेलन शनिबार नहुने माओवादी केन्द्रले जनाएको छ।
सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी रहनेछन्।
प्रदेशमा १ मा २५९, प्रदेश २ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति गठन हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन्।
माओवादीले यसअघि यही मंसिर ११ गते पालिका सम्मेलन सम्पन्न गरेको थियो । माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म राजधानी काठमाडौंमा हुँदैछ । राष्ट्रिय सम्मेलनमार्फत माओवादीले पार्टीको आगामी कार्यदिशा निर्माण गर्ने तयारी गरेको छ।
फेसबुक प्रतिक्रियाहरु