शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • एमाले पतन भइसकेको छ, विधान महाधिवेशन पनि तमासा हो : माधव नेपाल
समाचार

एमाले पतन भइसकेको छ, विधान महाधिवेशन पनि तमासा हो : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेले यही असोज १५ देखि १७ सम्म गरेको पहिलो विधान महाधिवेशनलाई तमासाको संज्ञा दिएका छन्।

पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकअघि बिहीबार एमाले नेता भानुभक्त जोशीलाई एमालेमा स्वागत गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

विज्ञापन

एमालेमा कुनै विचार, सिद्धान्त र दृष्टिकोण नरहेको बताउँदै अध्यक्ष नेपालले पतनको दिशामा पुगिसकेको पनि उल्लेख गरेका छन्।

विज्ञापन

‘नेकपा एमाले पतनको दिशामा गइसकेको छ’, उनले भने, ‘अन्तिम प्रयास गर्दा पनि यो पार्टीलाई ठीक ठाउँमा ल्याउन नसकिने निष्कर्ष हामीले निकालेका थियौँ। अहिले भानुभक्त कमरेडले पनि त्यही निचोड निकाल्नु भयो।’

अध्यक्ष नेपालले गोदावरीमा सम्पन्न विधान महाधिवेशनलाई पनि तमासाको संज्ञा दिए। ‘पछिल्लो पटक एमालेले गरेको विधान महाधिवेशनको तमासाबाट यसलाई सुधार्न नसकिने भयो भनेर कमरेड भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गर्नु भएको छ’, उनले भने, ‘उनीहरुले सबैतिर भ्रम फैल्याइरहेका छन्। एमालेको भ्रममा बसिरहेको त्यो पंक्तिमा पनि सत्यतथ्य कुरा पुर्‍याउनुपर्ने आवश्यकता छ।’

एमाले वैचारिक विचलनको दिशामा गइसकेको उनले बताए। ‘एमाले वैचारिक विचलनको दिशामा अघि बढिसकेको छ। राष्ट्रियताको मामिलामा आत्मसमर्पण गरिसकेको छ’, नेपालले भने, ‘यी सबै कुराले गर्दा लामो समयसम्म अन्तरसंघर्ष सामना गर्ने आँट केपी ओलीमा भएन। नले केन्द्रीय कमिटी नै विघटन गर्न खोजे।’

अध्यक्ष नेपालले एमालेमा कुनै छलफल र बहस नै नहुने गरेको पनि बताए। ‘ओलीले सिंगो पार्टी नै आफ्नो कब्जामा राख्न खोजे। त्यहाँ सामूहिकता छैन, छलफल केही हुँदैन’, उनले भने, ‘एउटा व्यक्तिको कम्पनीका रुपमा एमाले रुपान्तरित भइसकेको छ।’

उनले अब आफूहरुले क्रान्तिकारी धारलाई सशक्त रुपमा अघि बढाएर जाने बताए। ‘हाम्रो क्रान्तिकारी धारले समाजवाद स्थापित गर्ने बाटोमा अघि बढ्नेछ। हामी त्यही क्रममा एकतावद्ध भएर अघि बढौँ’, उनले भने, ‘एमालेमा झुक्किएर बस्ने कयौँ साथीहरु पनि अब क्रान्तिकारी धारमा विस्तारै समाहित हुनुहुन्छ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस