शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • एक महिनासम्म ग्राहकहरुलाई झुलाएर यसरी ठग्छ वर्ल्ड लिंकले
समाचार

एक महिनासम्म ग्राहकहरुलाई झुलाएर यसरी ठग्छ वर्ल्ड लिंकले

काठमाडौं ।  आफूले आफूलाई नेपालकै नम्वर १ इन्टरनेट सेवाप्रदायक कम्पनी दावी गर्ने वर्ल्ड लिंक कम्युनिकेसन प्रालिले आफ्नै ग्राहकहरुलाई ठग्न नयाँ–नयाँ उपाय रच्ने गरेको खुलेको छ । कुनै न कुनै वहानामा ग्राहकहरुलाई आफ्नो पक्षमा पारेर उठाएको करोडौंको रुपैयाँ प्रचार–प्रसारमा खर्च गर्दै आएको वर्ल्ड लिंकले इन्टरनेट र नेट टिभी उपलब्ध गराउँदै आएको छ ।

‘छिटो भनेकै वर्ल्ड लिंक’ भनेर नारा नै बनाएर प्रचार गर्ने वर्ल्ड लिंकको प्रचार अनुसार सेवा छिटो र छरितो हुनुपर्ने हो तर, अवस्था ठ्याक्कै उल्टो छ । कम्पनीले प्रवाह गर्ने सेवा न त गुणस्तरीय छ न त इन्टरनेटको स्पिड नै राम्रो छ । अहिले वर्ल्ड लिंकले ५० एमबीपीएसको नेट भनेर ग्राहकहरुलाई वितरण गरिरहेको छ । तर, स्पिड भने मुस्किलले १० एमबीपीएस मात्र हुने गरेको इमाडोलका एक ग्राहकले गुनासो गरे ।

विज्ञापन

त्यतिमात्र होइन ति ग्राहकलाई त वर्ल्ड लिंकले नेट टिभीसहितको इन्टरनेट उपलब्ध गराउँछु भनेर एक महिनासम्म झुलाएको समेत रहेछ । पहिले फाइभजी राउटर र सेटअप बक्स(नेट टिभी) जोडिदिन्छु भन्दै सहमती गराएको वर्ल्ड लिंकले त्यसको भोलिपल्टै नेट त कनेक्ट गरिदियो तर, पुरानो राउटर मात्रै ल्याएर ।

विज्ञापन

नेट जोड्न पुगेका वर्ल्ड लिंकका कर्मचारी ‘अहिले यो राउटरबाट काम चलाउँदै गर्नुस्, तीन दिन भित्र तपाईकोमा फाइभजी राउटर र सेटअप बक्स आउँछ’ भन्दै नेट जोडेर निस्किए । त्यसपछिकाे तीनदिनसम्म नेट त चल्यो तर, न त सेटअप बक्स आयो न त फाइभजी राउटर नै । यसरी वर्ल्ड लिंकले ति ग्राहककाे घरमा राउट लगेर राखिदिएको २५ दिन कटिसक्दा पनि नेट टिभी जाेडिएकाे थिएन ।

ग्राहकले राउटर र सेटअप बक्सको कुरा गरेपछि शुरु हुन्थ्योे वर्ल्ड लिंकको वहानाबाजी । नेट इमाडोल शाखाले जोडेकाे थियाे । तर, ग्राहकले कहिल्यै पनि शाखामा सम्पर्क गर्न पाएनन् । वर्ल्ड लिंकको सिस्टम नै त्यस्तै रहेछ । ग्राहकले गरेको फोन मुख्य कार्यालयमा मात्र फोन उठ्ने रहेछ । २५ दिनसम्म ति ग्राहकले २० पटक भन्दा बढि फोन गरेर ‘कि टिभी जोडिदिनुस् कि राउटर फिर्ता लैजानुस् म अर्को नेट जोड्छु’ भन्दा वर्ल्ड लिंकको मुख्य कार्यालयबाट ‘२ दिनभित्र तपाईकोमा टिभी जोडिन्छ । ब्रान्चबाट तपाईलाई फोन आउँछ’ भन्ने रेडिमेड जवाफ मात्र आइरहन्थ्यो । तर, ब्रान्चबाट ग्राहकलाई कहिल्यै पनि फोन आएन । हुनत उनी ब्रान्चमै गएर कुरा गर्दा पनि ‘तीन दिनमा सेटअप बक्स आउँछ, नआए हामी तपाईकोमा अनस्टिल गरिदिन्छौं ।’ भनेर फकाई फुल्याई गरेर पठाएकाे उनले सुनाए ।

यति लामाे समयसम्म पनि इमाडोलको ब्रान्चले कुनै रेन्पोन्स नगरेपछि आक्रोशित बनेका ग्राहकले मुख्य कार्यालय जावलाखेलमा फोन गरेर ‘तपाईहरुको नेट चाहिंदैन, अब पनि अनस्टल गर्नु भएन भने तपाईको राउटर फुटाइदिन्छु’ भनेपछि फेरि पनि दुई दिनको भाका मागे । त्यतिबेलासम्म इमाडोल ब्रान्चमा सेटअप बक्स आइसकेको थियाे । तर, नयाँ यूजरहरुलाई सेटअप बक्स बाँडेर पुरानालाई कुराएरै राखेको पत्ता लाग्यो । किनकी त्यहि वरपर नेट जोड्न पुगेकाले सेटअप बक्स बोकेर गएका तिनै ग्राहकले देखेका थिए ।

यस्तो गर्दा गर्दै २८ दिन वितिसकेको थियो । २९औं दिनमा आएर सेटअप बक्स जडान भयो । तर, फाइभजी राउटरको अत्तोपत्तो छैन । बल्लतल्ल टिभीसहितको नेट जोडेका ति ग्राहक खुसी नै थिए । कहिले कहीं समान नहुँदा यस्तै हुन्छ भन्दै आफूले आफूलाई सान्तवना दिएरै बसेका थिए । तर, उनको सान्तवना १ दिन पनि टिकेन । बेलुकासम्म चलेको नेट भोली विहान उठ्दा काटिसकेकाे हुन्थ्याे । त्यसपछि उनले फेरि फोन गरे, फोन मुख्य कार्यालय जावलाखेलमा उठ्यो । त्यहाँबाट ‘डकुमेन्ट अपलोड नभएकाले नेट काटिएको’ भन्ने जवाफ आयो । तर, वर्ल्ड लिंकले के डकुमेन्ट मागेको हो भन्ने उनलाई अझसम्म थाहा छैन । हेड अफिसबाट फेरि नेट जोडिदिंदै ‘तपाईलाई आज ब्रान्चबाट फोन आउँछ, डकुमेन्ट दिनुहोला’ भन्ने जवाफ आएको थियो । तर, त्यो दिन ब्रान्चबाट फोन आएर । भोली पल्ट पनि त्यहि कहानी दोहोरीयो । हेड अफिसबाट नेट जाेडेर फेरि त्यही कुरा दाेहाेर्याइयाे तर, अर्काे दिन पनि ब्रान्चबाट फोन आएन ।

ति ग्राहकले एक वर्षको रकम तिरिसकेका रहेछन् । उनले एक वर्षका लागि भनेर किनेको इन्टरनेट वर्ल्ड लिंकले विभिन्न वहानामा काटेको काटेकै छ । वर्ल्ड लिंकमा फाेन गरेर त्यो काटेको समय पछि थप हुन्छ ? भनेर प्रश्न गर्दा हुँदैन भन्ने जवाफ आयो ।

यसरी सम्झौतामा उल्लेख गरेभन्दा इन्टरनेटको स्पिड कम हुने, समयमै रेस्पोन्स नगर्ने वर्ल्ड लिंकको ठगी धन्दामा प्रशासनमा बस्ने कसैले पनि बोल्ने आँट गर्दैनन् । वर्ल्ड लिंकका प्रवन्ध निर्देशक दिलीप अग्रवाल भने वर्ल्ड लिंकलाई पब्लिक लिमीटेड रुपान्तरण गरिसकेको भन्दै सर्वसाधारणका लागि आइपीओ जारी गर्ने पूर्वतयारीमा रहेको बताइरहेका छन् ।

झण्डै दुई वर्ष अघि वर्ल्ड लिंकमा १ अर्ब ३५ करोड रुपैयाँ वैदेशिक लगानी भित्र्याउँदा प्रवन्ध निर्देशक अग्रवालले विदेशी लगानीबाट कम्पनी निकै उत्साहित बनेको भन्दै यसको लाभ ग्राहकदेखि मुलुकले नै उठाउने दावी गरेका थिए । तर, उनको उक्त भनाईलाई अहिले ग्राहकहरुले कसरी बुझ्ने ? यी ग्राहक त प्रतिनिधि पात्र मात्र हुन् । यसरी वर्ल्ड लिंकको ठगीमा पर्ने ग्राहकको संख्या धेरै छ । एउटै ग्राहकलाई महिनौ झुलाउने इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंकले अहिले आफ्नो सेवा ५ लाख घरधुरीमा पुगेको दावी गर्दै प्रचार प्रचार गरिरहेको छ ।

वर्ल्ड लिंकको यस्तो ठगी धन्दाबारे बुझ्न खोज्दा वर्ल्ड लिंकका कस्टुमर्स सर्भिस (ग्राहक सेवा)का कर्मचारीले आधिकारिक व्यक्तिसँग टेलिफोन दिनै चाहेनन् । यस सम्बन्धमा ति ग्राहकले दूरसञ्चार प्राधिकरणमा उजुरी हालेको बताएका छन् । अब दूरसञ्चार प्रधिकरणले कसरी कारबाही प्रक्रिया अगाडि बढाउँछ, त्यो भने हेर्न बाँकी छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस