चितवन ।चितवनको भरतपुरस्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मुख्य मैदानमा दुबो रोप्न सुरु गरिएको छ ।
आज (बुधबार) भूमी पूजा गरी दुबो रोप्ने काम सुरु गरिएको रंगशाला निर्माण रहेको धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले जानकारी दिए । अध्यक्ष धुर्मुससंगै उपाध्यक्ष गुञ्जना घिमिरे ‘सुन्तली’ भूमि पूजामा सरिक थिइन् । ‘हाम्रो आज महत्वपूर्ण दिन हो, मुख्य मैदानमा दुबो रोप्ने कामको थालनी भएको छ’ अध्यक्ष धुर्मुसले भने ‘अब केही महिनामै मुख्य मैदान खेल्न योग्य हुने छ ।’
विज्ञापन
मुख्य मैदानमा माटो सम्याउने काम सकिएपछि दुबो रोप्न सुरु गरिएको हो । अब केही महिनापछि मैदान खेल्न योग्य हुनेछ । रंगशालामा अहिले ३ हजार क्षमताको प्याराफिट निर्माण भइसकेको छ । अन्य प्याराफिट निर्माणको काम द्रुत गतिमा भइरहेको छ । अहिले दुई वटा भिआइपी टावर मध्ये टावर–१ को फुटिङको डन्डी बिछ्याउने काम भइरहेको फाउण्डेशनका अध्यक्ष धुर्मुसले जानकारी दिए ।
विज्ञापन
करिव ३ अर्ब अनुमानित लागतको यस परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको छ । कोरोना माहामारीका बेलामा पनि रंगशाला निर्माणको काम निरन्तर भइरहेको छ । ‘अहिले सुरक्षित रुपमा कामदारहरुलाई रंगशाला निर्माणमा खटाएका छौँ, भित्र अरुलाई प्रवेश निषेध गरेका छौं, कामदारहरुलाई बाहिर निस्कन पनि बन्देज गरेका छौँ’–अध्यक्ष धुर्मुसले भने ।
अहिले रंगशालाको ३ सय ६० वटा पिलरमध्ये सबै पिलर ठड्याइसकिएको छ ।
फेसबुक प्रतिक्रियाहरु