शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • मुद्दा फिर्ता लिए पनि ओलीलाई समर्थन गर्न सकिँदैन : उपेन्द्र यादव
समाचार

मुद्दा फिर्ता लिए पनि ओलीलाई समर्थन गर्न सकिँदैन : उपेन्द्र यादव

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गल्ती स्वीकार गरेको प्रतिक्रिया दिएका छन्।

बुधबार मन्त्रिपरिषद्ले मुद्दा फिर्ता लिने निर्णय गरेकोप्रति प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री ओलीकै नेतृत्वमा रहेको सरकारले मुद्दा चलाएको र अहिले आएर ओली नेतृत्वकै सरकारले फिर्ता लिएर गल्ती स्वीकार गरेको बताए।

विज्ञापन

मधेसका माग भने अझै पूरा नभएको यादवको भनाइ छ। उनले भने, ‘अहिले जति पनि मुद्दा फिर्ता गरिएको छ, त्यो प्रशासनिक कार्य हो, गलत मुद्दा लगाइएका कारण ती फिर्ता हुनैपर्ने थियो, तर त्यसलाई मधेसको माग भन्दै प्रधानमन्त्रीले मधेसी जनतालाई भ्रममा पार्ने काम भइरहेको छ।’

विज्ञापन

मधेसको माग पूरा भयो कि भएन भन्ने कुरा मधेसी जनताले नै महसुस गर्नुपर्ने उनले बताए। ‘ढाँटेर, छलेर अब काम चल्दैन,’ उनले भने, ‘मधेसको पहिचान, राज्यको पुनः संरचना, समानुपातिक समावेशी, नागरिकताको विषय, संविधान संशोधनलगायतका माग नै मधेसको मुख्य माग हुन्।’

यी माग पूरा नभएसम्म मधेसको अधिकार स्थापित नहुने अध्यक्ष यादवले बताए। पहिला फसाउने, मुद्दा लगाउने अनि त्यसपछि त्यसैको बार्गेनिङ गर्दै वार्ता गरेर आन्दोलन समाप्त गर्ने शासकहरुको नीति नै रहने उनको भनाइ छ।

‘प्रधानमन्त्री ओलीले अहिले मधेससँग त्यही गेम खेल्दैछन्,’ उनले भने, ‘मधेसको मुख्य मुद्दामा उनी प्रवेश नै गर्न चाहेका छैनन्।’ सरकारले अहिले गरेको निर्णयबारे पार्टीमा कुनै छलफल नभएको उनले बताए।

जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीसँग वार्ता गर्दै फिर्ता लिनुपर्ने २४ थान मुद्दाको फाइल बुझाएका थिए। त्यसमध्ये १५ थान मुद्दा सरकारले फिर्ता लिएको छ भने अन्य मुद्दा फिर्ताको प्रकृयामा रहेको नेताहरु बताउँछन्।

तर, जसपाका प्रभावशाली नेताहरु ओलीसँग सत्ता समीकरण गर्न नसकिने अडानमा छन्। संसद विघटन गर्नेजस्तो अलोकतान्त्रिक कदम चाल्ने ओली जनअधिकारका लागि संवेदनशील नभएको उनीहरुको भनाइ छ। अध्यक्ष उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु ओलीसँग कुनै हालतमा सहकार्य नहुने अडानमा छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस