
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता तथा चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार सोविता गौतमको एउटा विवादास्पद अभिव्यक्तिले यतिबेला सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा कडा आलोचना खेपिरहेको छ। एक चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले आदिवासी जनजाति समुदायको स्वाभिमान र राजनीतिक चेतनामाथि नै प्रश्न उठाउँदै उनीहरूलाई ‘बिक्न सक्ने वर्ग’ का रूपमा चित्रण गरेकी छिन्।
सम्बोधनका क्रममा गौतमले गुरुङ र थारु समुदायलाई ‘निकै सोझो’ भन्दै उनीहरूलाई ‘पैसाले किन्न सकिने वर्ग’ का रूपमा व्याख्या गरेकी छिन्। उनले भनिन्, ‘तपाईँहरू जस्तो वर्ग र समुदायलाई आज पैसाले किन्न सक्ने वर्ग हो भनेर त्यसरी सोच बनाइराखेका छन्।’
आदिवासी जनजाति अधिकारकर्मीहरूले गौतमको यो भनाइलाई समुदायको अपमान र स्टेरियोटाइपिङ (भ्रामक पहिचान) को संज्ञा दिएका छन्। दशकौँदेखि अधिकार र पहिचानका लागि लडिरहेका सचेत समुदायलाई केवल पैसाको लोभमा पर्ने सोझो समूहका रूपमा व्याख्या गर्नुले उनको संकीर्ण सोच र समुदायप्रतिको हेय दृष्टिकोण झल्काएको विश्लेषकहरूको ठहर छ।
गौतमको अभिव्यक्तिमा अर्को गम्भीर नैतिक प्रश्न पनि उठेको छ। उनले मतदातालाई पैसा बाँडिएमा लिन प्रोत्साहन गर्दै भोट भने आफ्नो पार्टीलाई दिन आग्रह गरेकी छिन्। उनले भनेकी छिन्, ‘निर्वाचनको मुखमा पैसा दिन्छन् भने नलिनुस् भन्दिनँ, लिनुस्… तर भोट यो पालि राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्छ।’
एक जिम्मेवार राजनीतिक दलको उम्मेदवारले चुनावी भ्रष्टाचार र आचारसंहिता विपरीतका क्रियाकलापलाई रोक्नुको सट्टा “पैसा लिनुस्” भन्नुले उनी र उनको दलले दाबी गर्ने नैतिक राजनीति माथि ठुलो प्रश्नचिन्ह खडा गरिदिएको छ। निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै मतदातालाई आर्थिक लेनदेनमा सहभागी हुन उक्साउनु लोकतान्त्रिक मूल्य–मान्यताको उपहास भएको नागरिक समाजको बुझाइ छ।
पहिचान र अधिकारको मुद्दामा सचेत रहेका गुरुङ, थारु लगायतका आदिवासी जनजाति समुदायको राजनीतिक परिपक्वतालाई गौतमले नजरअन्दाज गरेको देखिन्छ। कुनै एक समुदायलाई लक्षित गरेर “एउटालाई भनेपछि हुन्छ” भन्ने आशयको अभिव्यक्ति दिनुले उनले यी समुदायलाई नेतृत्व विहीन र आफ्नै विवेक नभएको समूहका रूपमा हेरेको स्पष्ट हुन्छ।
नयाँ शक्तिका रूपमा उदाएको रास्वपाकी उम्मेदवारबाट आएको यस्तो गैर–जिम्मेवारपूर्ण र जातीय अपमान झल्किने अभिव्यक्तिले चुनावी मैदानमा उनलाई महँगो पर्न सक्ने देखिएको छ।






फेसबुक प्रतिक्रियाहरु