गैँडाकोट, ३ माघ । नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवमको आज शुक्रबार १३ हजार दर्शकले अवलोकन गरेका आयोजकले जनाएको छ । आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार शुक्रबार पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो ।
स्थानीय उत्पादनसँगै स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको सापकोटाले बताए । सापकोटाकाअनुसार महोत्सवमा नवलपुरबाट मात्रै नभइ चितवन र तनहुँ सहित अन्य क्षेत्रबाटसमेत दर्शकहरु आएका छन् । पुस २५ गतेदेखि सुरु भएको महोत्सव माघ १० गतेसम्म सञ्चालन हुने सापकोटाले बताए ।
संघका महासचिव एवम् महोत्सव सचिवालय संयोजक तेजनारायण पाण्डेकाले महोत्सवमा ओपेरा हाउस, जलपरी, मुस्ताङको चौरीले समेत दर्शकहरुको मन खिचेको बताए । महोत्सवमा कृषि प्रदर्शनी, अटो, रेष्टुरेन्ट, व्यापारिक गरी २५० स्टल तथा बालउद्यान रहेका पाण्डेको भनाइ छ । महोत्सवले स्थानीय कृषि र उत्पादनलाई बजारीकरणमा सघाउने विश्वास लिइएको पाण्डेले बताए ।
संघका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सवका मूल संयोजक छवि कँडेलले स्थानीय कृषि र स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमन गरिएको कँडेलको भनाइ छ । महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।
विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको भन्दै कँडेलले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।
यसैबीच, महोत्सवको सांस्कृति कार्यक्रम अन्तर्गत शुक्रबार श्रीकृष्ण बम मल्लसहितका कलाकारहरुले प्रस्तुती राखेका छन् । शुक्रबार दिनभर महोत्सव परिसरमा श्रीकृष्ण बम मल्लसहित लक्ष्मी बम मल्ल, सीता परियार, रिता थापा, रवि रिमाल तथा स्थानीय कलाकारहरुले प्रस्तुती राखेका महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए ।
लम्सालकाअनुसार शनिबार महोत्सवमा चर्चित गायिका ज्योति मगरसहितका कलाकारहरुको प्रस्तुती रहनेछ । शनिबार महोत्सवमा मगरसहित दीप काफ्ले, एन्जिला रेग्मी, राजन गुरुङको प्रस्तुती रहने लम्सालको भनाइ छ ।






फेसबुक प्रतिक्रियाहरु