चितवन । भरतपुरमा रहेको आरम्भ कलेजले स्थापनाको छोटो समयमा नै उत्कृष्ट नतिजा ल्याएर आफूलाई अब्बल कलेज साबित गरिरहेको छ । यस वर्ष पनि बिएचएम एवं बिआइटीएम दुबैमा आरम्भ कलेज चितवन प्रथम हुन सफल भएको छ ।
सेमेस्टर परीक्षाको नतिजामा चितवन प्रथम भइसकेको आरम्भ कलेज तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा त्रिविको बिएचएमतर्फ नेपाल पाँचौँ, नेपाल चौथो हुँदै अहिले नेपाल तेस्रो बन्न सफल भएको हो । यो नतिजालाई हेर्दा आरम्भ कलेजको यात्रा अब गोल्डमेडलतिर अगाडि बढिरहेको पाइन्छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले व्यवस्थापन संकायतर्फ ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी म्यानेजमेन्ट (बिआइटीएम) र ब्याचलर अफ होटेल म्यानेजमेन्ट (बिएचएम) को पढाई सञ्चालन गरेको छ । यस वर्ष बिएचएमको पहिलो सेमेस्टरको परीक्षामा कलेजको दोस्रो ब्याचका छात्र सबिन श्रेष्ठ ३.९८ जिपिएसहित चितवन जिल्ला प्रथम र त्रिवि तेस्रो भएका छन् । सोही परीक्षामा सोही सुप्रिया घर्ती क्षेत्रीले जिपिए ३.९७ र छात्र अञ्जल लामाले जिपिए ३.९४ ल्याएका छन् । उक्त परीक्षामा आरम्भ कलेजबाट जिपिए ३.८ भन्दा माथि १३ जना, ३.६ भन्दा माथि १२ जना र ३.२ भन्दा माथि २२ जनाले ल्याएका छन् ।
कलेज स्थापनाको वर्ष पहिलो सेमेस्टरको परीक्षामा बिएचएमकी छात्रा ङवाङ बम्जन तामाङ ३.९२ जिपिए ल्याएर नेपाल पाँचौँ र चितवन प्रथम भएकी थिइन् । दोस्रो सेमेस्टरको परीक्षामा पनि उनले जिपिए ३.९४ ल्याई नेपाल चौथो र चितवन दोस्रो भएकी थिइन् ।
बिआइटीएमतर्फ यस वर्षको पहिलो सेमेस्टरको परीक्षामा पनि कलेजको नतिजा राम्रो आएको छ । कलेजकी छात्रा सेजल खड्की ३.८४ जिपिएसहित जिल्ला प्रथम भएकी छन् । उक्त परीक्षामा सौरभ पौडेलले ३.८०, अमन महतोले ३.७८, आरम्भ पौडेलले ३.७७, क्रिस्टिना सुनारले ३.७५ र एलिस गुरुङले ३.७४ जिपिए ल्याएका छन् । जिपिए ३.६ भन्दा माथि १० जना, ३.४ भन्दा माथि १४ जना र ३.२ भन्दा माथि ११ जनाले नतिजा ल्याएका छन् ।
चारवर्षे स्नातक तहको पाठ्यक्रममा आधारित बिएचएम र बिआइटीएम विषयमा वर्षका दुई सेमेस्टरका दरले कुल आठ सेमेस्टर पढाई हुने प्राचार्य सुरज शिवाकोटीले जानकारी दिए । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कम्तीमा डी ग्रेड (एक दशमलव आठ जिपिए) ल्याएका विद्यार्थीले १२ कक्षा सकेपछि सिम्याट परीक्षा उत्तीर्ण गरेर सहजै भर्र्ना हुन पाउने उनले बताए । कलेज स्थापनादेखि अहिलेसम्मको नतिजाले आफूहरु निकै उत्साहित भएको र अबको यात्रा आफ्ना विद्यार्थीलाई त्रिवि प्रथम बनाएर स्वर्णपदक दिलाउने रहेको प्राचार्य शिवाकोटीले बताए । उनले बिएचएमको अन्तिम वर्षका दुई वटा सेमेस्टरमा इन्टर्नसीपको व्यवस्था गरिएको र त्यस्तो इन्टर्नसीपका लागि अमेरिकामा ४३ वटा पाँचतारे होटेलसँग सहकार्य गरिरहेको कम्पनीसँग सहकार्य गरिरहेको नेपाली कम्पनीसँग आरम्भले सम्झौता गरिसकेको प्राचार्य शिवाकोटीले जानकारी दिए ।
आरम्भ कलेजको बिएचएमका विभागीय प्रमुख दीपेन्द्र सुवेदी कलेजले क्रमशः नतिजामा सुधार गर्दै त्रिवि प्रथम हुने दिशामा अगाडि बढिरहेको बताए । उनले अहिलेको नतिजाको क्रमलाई हेर्दा भावी दिनमा सहजै त्रिवि प्रथम हुने सम्भावना रहेको दाबी गरे । कलेजको बिआइटीएमका विभागीय प्रमुख झविलाल भुसालले कलेज स्थापनाकै वर्ष र यस वर्ष पनि बिआइटीएमका विद्यार्थीले जिल्ला प्रथम भएकाले भावी दिनमा त्रिविकै उच्च स्थानमा नतिजा ल्याउन सक्ने प्रशस्त सम्भावना रहेको बताए । उनले आरम्भ कलेजमा बिआइटीएमतर्फ त्रिविको पाठ्यक्रमका अतिरिक्त आर्टिफिसियल इन्टिलिजेन्सी, साइबर सेक्युरिटी, मेसिन लर्निङलगायत विषयमा पढाइ भइरहेको विभागीय प्रमुख भुसालले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु