काठमाडौं । नेपाल प्रहरीका एकजना प्रहरी उपरीक्षक (एसपी)माथि कारबाहीको तयारी भएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी अस्पतालमा कार्यरत एसपी डा. अर्जुन प्रसाद डुम्रेमाथि कारबाहीको तयारी गरेको हो ।
चिकित्सक समेत रहेका एसपी डुम्रेले प्रहरीको फौजी पोशाकमै बल्खुस्थित नेपाल वर्नहाट कलेजको प्रचार गरेको भिडियो सार्वजनिक भएपछि स्पष्टीकरण सोध्ने तयारी गरिएको हो ।
नेपाल प्रहरी अस्पतालको अर्थोपेडिक विभागमा कार्यरत एसपी डुम्रेमाथि प्रहरी आचरणविपरीत गतिविधि गरेको आरोप लागेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एवंम् प्रहरी नायव महानिरीक्षक (डिआईजी) विनोद घिमिरेले कुनै पनि प्रहरी कर्मचारीले तोकिएको जिम्मेवारीभन्दा बाहिर गएर गतिविधि गर्न नपाउने उल्लेख गर्दै डुम्रेको विषयमा अनुसन्धान भइरहेको बताए ।
प्रहरीको युनिफर्ममै आफ्नो पदीय मर्यादा बिर्सेर निजी संस्थाको प्रचार गरेको भन्दै प्रधान कार्यालयले डा. डुम्रेमाथि अनुशासनात्मक कारबाही गर्ने तयारी गरेको हो ।
भिडियोमा डुम्रेले आफू पनि सोही कलेजबाट अध्ययन गरेको र उक्त कलेज राम्रो भएकाले विद्यार्थीलाई त्यहाँ भर्ना हुन आग्रह गरेको देखिन्छ । कलेजले पनि उक्त भिडियो आफ्ना सामाजिक सञ्जाल पेजमार्फत पोष्ट गरी विद्यार्थी आकर्षित गर्ने प्रयास गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु