काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेता झलनाथ खनाललाई राजीनामा दिएर पार्टीबाट बिदा हुन सुझाव दिएका छन् ।
खनालले निरन्तर पार्टी नीतिविपरीत अभिव्यक्ति दिएको भन्दै नेपालले खनाललाई पार्टीमा बस्ने नैतिक अधिकार नरहेको बताएका हुन् । शुक्रवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, ‘उहाँलाई पार्टीबाट बिदा गरिदिनुपर्छ । यो पार्टीमा बस्ने ठाउँ नै रहेन। नैतिक अधिकारै छैन । अहिले खुरुक्क राजीनामा दिनुपर्छ, बिदा भएर जानुपर्छ ।’
खनालले पार्टीको संस्थागत निर्णयको बारम्बार उल्लङ्घन गरेको आरोप लगाउँदै नेपालले भने , ‘संस्थागत निर्णयको उल्लङ्घन गर्ने कुरामा नम्बर वान हुनुहुन्छ । उहाँको कुराको कुनै अर्थ छैन ।’
उनले संविधान र कानुनले कसैलाई पार्टी परिवर्तन गर्न नरोक्ने बताए । ‘कानुनले रोकेको मलाई थाहा छैन । संविधानले, कानुनले रोकेको छैन भने व्यक्तिको आफ्नो अधिकारको कुरा हुन्छ,’ उनले भने ।
झलनाथ खनालले हालै एक टेलिभिजन अन्तर्वार्तामा नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताएका थिए ।
साथै उनले सो अन्तर्वार्तामा एमाले फुटाएर आफूले गल्ती गरेको बताएका थिए । साथै उनले आफूले एमालेमा फर्कन चाहेको बताएका थिए ।
फेसबुक प्रतिक्रियाहरु