चितवन । नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) एवम् बागमती प्रदेश प्रहरी प्रमुख अरूण पौडेललाई शनिबार चितवनमा सम्मान गरिएको छ । बालकुमारी माध्यमिक विद्यालयले उक्त विद्यालयका पूर्वविद्यार्थी डिआइजी पौडेललाई सम्मानित गरेको हो ।
डिआइजी पौडेलले बालकुमारी माविबाट २०४७ सालमा एसएलसी दिएका थिए । २०५४ साल चैतबाट प्रहरी निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गरेका डिआइजी पौडेल हाल प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत छन् ।
बालमाविद् पूर्वविद्यार्थी सम्मान २०८२ ग्रहण गरेपछि समारोहमा बोल्दै डिआइजी पौडेलले विगतमा बालकुमारी माविका विद्यार्थी एसएलसी नतिजामा बोर्डफर्स्ट, बोर्डसेकेण्ड हुने गरेको स्मरण गरे । उनले गुणस्तरीय शिक्षाको खोजीमा आफू स्याङ्जादेखि चितवनसम्म आई बालकुमारी माविमा पढेको बताए । डिआइजी पौडेलले बालकुमारीको पुरानो साखलाई पुनः फर्काउन सरोकारवाला सबै जुट्नु पर्ने बताए । उनले यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबध्दता जनाए ।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका-२ का वडाध्यक्ष मनोज रानाभाटले बालकुमारी माविको शैक्षिक गुणस्तर वृध्दिका लागि वडाले आवश्यक सहयोग गर्दै आएको जानकारी दिए । उनले वडाबाट विद्यालयलाई स्मार्ट बोर्ड, ल्यापटपलगायत सहयोग गरिएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल भट्टराईले शैक्षिक सुधारका लागि बालकुमारी माविले आफ्नो गति लिइरहेको बताए । यस वर्षको एसइई नतिजाले पनि यस कुरालाई पुष्टि गरेको उनको भनाइ थियो ।
कार्यक्रममा बालकुमारी माविका प्रधानाध्यापक आनन्दराज सापकोटा, पूर्वप्रधानाध्यापक सरस्वती रिजाल, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तारामित्र पण्डित, बालमाविद् अलुम्नाई एसोसिएसनका अध्यक्ष वामदेव शर्मा, पूर्वविद्यार्थीहरू सनदकुमार पिया, नरेन्द्र कँडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयका सहायक प्रधानाध्यापक सुरेन्द्र पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा शिक्षक रमानिधि पन्तले स्वागत मन्तव्य राखेका थिए ।
फेसबुक प्रतिक्रियाहरु