झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका अस्तित्वका लागि मात्र होइन मुलुककै स्वाधीनताका लागि माओवाद केन्द्र बलियो बन्न आवश्यक रहेको बताएका छन् ।
नेकपा माओवादी केन्द्र झापाले बिर्तामोडमा गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
विज्ञापन
उनले अहिलेको अन्तरास्ट्रिय शक्ति सन्तुलन र त्यसबाट नेपालमा पर्नसक्ने असरको बारेमा लामो चर्चा गर्दै मुलुकको स्वाधीनताका लागि जनता र देशका लागि समवेदनशील र सबैलाई सन्तुलनमा राख्नसक्ने शक्ति माओवादी केन्द्र नै भएको बताए ।
विज्ञापन
पछिल्लो केही दिन पूर्वी नेपालमा केन्द्रित रहनुभएका अध्यक्ष प्रचण्डले माओवादीप्रति बढेको आकर्षणले २०६४ कै निर्वाचनको झल्को दिइरहेको बताए । आफूले लगातार मोरङ, सुनसरी र झापाका जनतासित गरेको छलफल र सबै प्रदेशमा गरिएको पार्टीको परामर्श बैठकबाट पार्टीलाई नयाँ उचाइमा उठाउने विश्वास पैदा भएको उल्लेख गर्दै उनले अब आफू पूरै आट गरेर समाज निर्माणको अभियानमा अघि बढेको बताए ।
अध्यक्ष प्रचण्डले थपे, ‘झापामा जति अन्तर संवाद र अन्तक्रिया भयो, म केमा पुगेको छु भने हाम्रो एउटा अभियान सुरु भयो । त्यसको नेतृत्व झापाले गर्नेछ । झापा बिद्रोहको ऐतिहासिक विरासतबाट आएका झापाली जनताले अब प्रतिक्रान्ति, दलाली र जालझेललाई साथ दिने छैन।`
नक्कली भूटानी शरणार्थी, गिरिबन्दु टिस्टेट जस्ता माफिया र तस्करीसित जोडिएका घटना झापामा भएको र आज आफूले संयोगवस गिरिबन्दु टिस्टेटको भूमि टेकेर पीडितसित छलफल गर्ने अवसर पाएको बताए । आफूले नेतृत्व गरेको सरकारले माफिया र दलालहरुविरुद्व थालेको कदम चाल्दा नै सरकार ढालिएको स्पष्ट गर्दै उहाँले पछिल्लो समय नक्कली भूटानी शरणार्थी काण्डका अभियुक्त पक्राउ र त्यसपछि अनुसन्धानको सुई बुढानिलकण्ठ र बालकोट तिर सोझिएपछि माफियाहरुको मध्यस्थतामा कांग्रेस एमाले रातारात एक भएको बताए ।
सुशासन, सामाजिक न्याय र समृद्धिको एजेन्डासहित भ्रष्टाचारका फाइल खोल्दैगर्दा सरकार छाड्नुपरेकाले सरकार छाडेपछि जनताको आकर्षण वृद्धि भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब विगतमा भएका कमीकमजोरीको समीक्षा गर्दै पार्टी संगठन पुनर्गठन गरेर जनपरिचालनसहित अघि बढ्ने बताए ।
‘माओवादी केन्द्र आफु सच्चिएर जनताको ऐजेण्डामा अगाडि बढ्दा देश बनाउन सकिन्छ । हामीले आफ्नो वर्ग,सहिद बेपत्ता परिवार, घाइते पाङ्गहरूसँग छलफल अन्तक्रिया गर्दै कमिकमजोरी सच्याउने बाचा गर्दै अघि बढ्दा पार्टी निर्माण गर्न सकिन्छ ।अहिले पार्टी प्रति जनताको विश्वास र भरोसाले पार्टी निर्माण गर्न सकिन्छ भन्ने विश्वास म मा पैदा भएको छ । मलाई जनयुद्धको तयारी गरेको जस्तै जोश आएको छ´-अध्यक्ष प्रचण्डले भने । उनले केन्द्रीय समिति बैठकपछि पार्टीसँग जनताको सम्बन्ध सुधारका लागि एउटा अभियान लिएर पूर्वदेखि पश्चिमसम्म जाने बताए ।
आफ्नो पार्टीको जोड अब सत्ता समीकरण बनाउने भत्काउनेतर्फ केन्द्रित नहुने स्पष्ट गर्दै सरकारका गलत क्रियाकलापको भने सडक र सदनबाट निरन्तर प्रतिवाद गर्ने र आफूले त्यसको थालनी सदनबाट गरिसकेको बताए । दुई तिहाइ छ भनेर मनपरी नगर भनेर सम्झाउदा प्रचण्डले बंगलादेश बनाइदिन्छु भन्यो भनेर कोकोहोलो मच्चाउने गरेको चर्चा गर्दै उनले यो त्रसित मानसिकताको उपज भएको बताउनुभयो।
संविधान पल्टाउदा जतातै माओवादी एजेन्डा गणतन्त्र, संघीयता, समावेशिता, समानुपातिक, महिला, दलित, जनजाति, मधेशीका अधिकार मात्रै देख्ने गरेकाले कतिपय शक्ति र व्यक्तिलाई संविधान मन नपरेको उल्लेख गर्दै उनले आफूहरुले कुनै नाममा जनताका अधिकार कमजोर हुन नदिने बताए ।
फेसबुक प्रतिक्रियाहरु