काठमाडौँ ।
राष्ट्रियसभाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का सांसद नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएको छ ।
राष्ट्रिसभाको आजको बैठकमा भएको मतविभाजन प्रक्रियाको मतपरिणाम सुनाउँदै सभाको अध्यक्षता गरिरहनुभएका उपाध्यक्ष उर्मीला अर्यालले दाहालका पक्षमा ३९ मत परेकाले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गर्नुभयो ।
त्यसअघि दाहालका प्रतिस्पर्धी विपक्षी दलका उम्मेदवार नेपाली काँग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ मत परेको थियो । दुवै प्रस्तावको मतदानमा ५६ सांसद सहभागी हुनुभयो भने एक सांसद तटस्थ बस्नुभएको थियो । कुल ५९ सदस्यीय हुने सो सभामा हाल ५८ सदस्य कायम हुनुहुन्छ ।
विज्ञापन
दाहाललाई अध्यक्ष पदको उम्मेदवारका लागि माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीले प्रस्ताव गर्नुभएको थियो भने नेपाल कम्युनिष्ट पार्टी ( एमालेका ) सांसद देवेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले समर्थन गर्नुभएको थियो ।
सभाका नवनिर्वाचित अध्यक्ष दाहाललाई बधाई दिँदै उपाध्यक्ष अर्यालले कार्यकालको सफलताको कामना गर्नुभयो ।
नेपाली कांग्रेसका उम्मेदवार शर्मालाई अध्यक्ष पदमा नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले प्रस्ताव गर्नुभएको थियो भने काँग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंहले समर्थन गर्नुभएको थियो ।
सभाको अर्को बैठक यही फागुन ३० गते बुधबार १ बजेर ९ मिनेटमा बस्नेछ । रासस
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु