काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रिय पुँजीपतिहरूलाई छानिछानी लखेटिरहेको आरोप लगाएका छन् । मिनबहादुर गुरुङ र यति होल्डिङ्सले राष्ट्रिय पुँजी निर्माणमा योगदान गरिरहेकाले उनीहरूमाथि सरकारले छानिछानी दुःख दिने काम गरेको ओलीको जिकिर थियो ।
विज्ञापन
विज्ञापन
पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले आइतबार च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले नेतृत्व गरिरहेको माओवादी केन्द्रले त राष्ट्रिय पुँजीको निर्माणमा योगदान दिइरहेका गुरुङ र यति होल्डिङ्सबिरुद्ध गायत्री मन्तर जपेजस्तो जपेर लखेट्ने काम गरिरहेको बताए ।
यति होल्डिङलाई खेद्नेहरू दलाल पुँजीवादीहरू भएको भन्दै ओलीले यस्ताहरूको विरोध गर्न पाउने अवस्था समेत मुलुकमा नरहेको बताए । सरकारको गलत कार्यको विरुद्ध बोल्दा सांसदले समेत समातिनु परेको उल्लेख गर्दे उनले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा दलाल पुँजीवादहरूले मुलुकमा तमासा देखाइरहेको बताए ।
उनले धनिपूर्जाको आधारमा जग्गा खरिद गर्ने गुरुङलाई किन समातेको रु भनी सरकारलाई प्रश्न समेत गरे । अध्यक्ष ओलीले भने ‘अहिलेको सरकारले राष्ट्रिय उद्योगपति छानिछानी लखेट्छ । त्यो मीनबहादुर गुरुङलाई किन समातेको, किन कारबाही गरेको ? ५÷६ जनाले किनिसकेको जमिन, उसले धनिपूर्जा हेर्यो , भएको मान्छेसँग किन्यो त । अनि, सरकारी जमिनलाई आफ्नो बनाउने, आफ्नो बनाउन लाग्ने, आफ्नो बनाउन लगाउने भ्रष्टाचार गर्नेहरु त तिनीहरू हुन नि । ती ठूला कुरा गरेर हिँड्ने । अनि, अर्कोसँग धनिपूर्जा हेरेर मालमा गएर, भूमि सुधारमा गएर पास गरेको होला नि ।
सरकार अड्डामा गएर पास गरेको होइन ? त्यसरी पास गरेर जग्गा किनेको मान्छे उसलाई किन त्यस्तो ? अनि, के मिनबहादुर गुरुङ भागेर हिँड्थ्यो ? अनि यो सबै सम्पती तिमीहरू खाऊ भनेर छोडेर हिँड्थ्यो ? होइन । त्यो मनाङतिरको हो कि मुस्ताङतिरको हो । भारी बोकेर हिँड्ने, खाली खुट्टा हिँड्ने, त्यो गुरुङ, पुँजी हुने भनेर आँखाले देख्न नसक्ने । यो राष्ट्रिय पुँजीपतिलाई खेद्ने कुरा हो ।
यति होल्डिङलाई किन खेदेको ? यति होल्डिङलाई खेदनेहरु दलाल पुँजीवादीहरू हुन् । त्यसकारण उनीहरू खेद्छन् । किनभने त्यो राष्ट्रिय पुँजी हो । सोलुको एउटा शेर्पा, भारी बोकेर हिँड्यो रे बच्चैदेखि । त्यस्तो शेर्पाले यहाँ आएर हवाईजहाज पनि उडाएको छ । पर्यटन पनि चलाएको छ । होटल पनि चलाएको छ । हेलिकप्टर पनि चलाएको छ । यसो गर्न पाइन्छ ? भारी बोकेर हिँड्ने शेर्पाले । यो त राष्ट्रिय पुँजी बाहेक हुनै सक्दैन ।
उसले विदेशमा लगेर स्विजरल्याण्डमा जम्मा गर्दैन । उसले माल्दिभसमा लादैन, श्रीलङ्का लादैन । बंगालदेश, भारत लाँदैन । मुम्बईमा होटल छैन । यस्ता देशैमा केही गर्छु भन्ने पनि चलाउन दिइन्छ ? त्यसैकारण यिनीहरू भनेका भन्यै छन् । माओवादीहरू गायन्त्री मन्त्र जप्दैनन् । ओम्नी, ओम्नी, ओम्नी, यति, यति, भाटभटेनी, भाटभटेनी, मिनबहादुर, मिनबहादुर गुरुङको छोरोलाई गरिखान दिनु हुँदैन भनेर जपिरहन्छन् । राष्ट्रिय पुँजीपतिहरूलाई छानिछानी लखेटेको छ । त्यसको विरुद्धमा कोही बोल्यो भने एउटा सांसद बोल्यो समातिन्छ । एउटा सचिव टिप्पणी उठाउँदा खेरी बाउ बिरामी भएर उपचारका निम्ति जाँदा प्लेनको सिटबाट तानेर तमासा देखाइन्छ । दलाल पुँजीवादीहरूको तमासा हो यो ।’
अध्यक्ष ओलीले काँग्रेस र माओवादी केन्द्रलाई सहकारीको अर्थ नै थाहा नभएको टिप्पणी समेत गरे । कांग्रेस सहकारीको पक्षमा नरहेको र माओवादी केन्द्र सुनजस्तो मोटो रकम जम्मा गर्ने धन्दामा रहेकाले उसलाई त्यसबारे कुनै मतलब नै नभएको ओलीको भनाई थियो ।
उनले भने ‘अरू पार्टीहरू खास गरी कांग्रेस र माओवादी । कांग्रेस सैद्धान्तिक हिसाबले नै, नीतिगत हिसाबले नै सहकारीको पक्षमा छैन । ऊ हुँदैन । अर्कोलाई नीतिको अर्थ नै छैन । माओवादीलाई कुनैपनि नीतिसँग सरोकार छैन । नीतिसिती भन्ने कुरा माओवादी भन्ने पार्टीसँग कुनै सरोकार छैन । उसले फाइदा मात्रै जान्दछ । यो सहकारीको बाटो हिँडेर दिनमा क्विन्टल क्विन्टल सुन ल्याएजस्तो फाइदा के छ उसलाई । उसलाई त थोकमा ढ्याकढयाक फाइदा चाहियो । यसो हेर्दा पनि टिलिक्क टल्कने फाइदा चाहियो । मोटोमोटो रकममा फाइदा चाहियो । ऊ यस्ता खुद्रा कुरामा अल्झिने जात नै होइन । त्यसकारण माओवादीको नीति बेग्लै छ । ऊ सहकारी जान्दैन । मतलब छैन । र, काँग्रेस नीतिगत रूपमा नै यसमा छैन । यसका पछाडि राजनीतिमा पनि दुई प्रकारको छ । उहिल्यै देखि एउटा राष्ट्रिय राजनीति । अर्को निर्देशित राजनीति । एउटा राष्ट्रिय राजनीति, अर्को दलाल राजनीति । आदेखि होइन, उहिल्यैदेखि । एउटा राष्ट्रिय पुँजी छ, अर्को दलाल पुँजी छ । एउटा राष्ट्रिय नीति छ, अर्को दलाल नीति छ । दलाल पुँजीवाद भनेको पुँजीमा मात्रै हुँदैन । एउटा राष्ट्रिय सांस्कृतिक नीति हुन्छ । अर्को, दलाल सांस्कृतिक नीति हुन्छ । एउटा राष्ट्रिय संस्कृति, अर्को दलाल संस्कृति । त्यसकारण राष्ट्रिय भन्ने हाम्रो कित्ता हो । अरूको कित्ता दलाल ।’
अध्यक्ष ओलीले बैङ्कहरूले गरिवका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि पनि व्यक्त गरे । ठूला पुँजिपतिहरुलाई खोजेर अर्बौँ लगानी गर्ने बैङ्कहरूले अझै पनि गरिबलाई भने ऋण दिँदै नदिएको अध्यक्ष ओलीले बताए । उनले साना बैङ्क तथा वित्तिय संस्थाले बाख्रा पालन जस्ता व्यवसायको लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको स्पष्ट पाए ।
अध्यक्ष ओलीले गरिबलाई पनि बैङ्कहरूले कुनै व्यवसाय गर्नका लागि सिड मनिको रूपमा ऋण प्रवाह गर्नुपर्ने बताए । सहकारी संस्थाहरूसँग सरकारले पनि सहकार्य गरेर अघि बढ्नुपर्ने उनले बताए । ओलीले भने ‘बैङ्कहरूले कि त अहिलेजस्तै ठूलाठूला पुँजीपति खोजेर लगानी गर्ने, तल साँच्चै जसलाई ऋण चाहिएको छ, उस कहाँ बैङ्कको ऋण पुग्दैपुग्दैन । जो अर्बपति छ, उ सँग मात्रै ऋण पुग्छ ।
ठूलाकोमा ऋण नपुगोस् भन्ने होइन । ठूलो उद्योगका लागि त्यो पनि आवश्यक छ । ठूला उद्योग, ठूला व्यवसाय सञ्चालन पनि गर्नुपर्छ । त्यसकारण ठुलाका लागि पनि आवश्यक छ । तर त्यहाँ मात्रै होइन । गरिवका, जहाँ सिड मनि छैन । जहाँ व्यवसाय सुरु गर्नका लागि केही छैन । हो त्यस्तो ठाउँमा लोनको व्यवस्था हुनुपर्छ । त्यस्तो ठाउँमा माइक्रो फाइनान्स पुग्यो भने पनि बिलकुल इन्डिभिजियोल कहाँ पुग्छ । त्यसबाट मुनाफा हुँदैन । ’ अध्यक्ष ओलीले राष्ट्रिय अर्थतन्त्रको निर्माणको सबैभन्दा महत्वपूर्ण माध्यम सहकारी हुने भएकाले त्यसको विकासमा लागि सरकारलाई पनि सचेत गराए ।
फेसबुक प्रतिक्रियाहरु