काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको टोली आज पनि अवैध संरचना भत्काउने तयारीमा छ । बिहीबार नै योजना बनाएर बसेको मेयरको सचिवालयका प्रमुख स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए । यसअघि अवैध संरचना हटाउन निर्देशन दिएका ठाउँमा आज डोजरसहित बालेन जानसक्ने सम्भावना रहेको महानगरका एक अधिकारीले बताए ।
विज्ञापन
विज्ञापन
यसअघि मेयर बालेनले शंखमुल बेसमेन्टमा सञ्चालित बर्गर हाउस, दरबारमार्गस्थित लण्डन पपको अन्डरग्राउण्ड, कोटेश्वर प्रहरी चौकीबाट उत्तरतर्फ जाने बाटोमा बनाइएको ट्रस्ट र नबिल बैंकको न्यूरोड शाखको अवैध संरचना आफैं हटाउन निर्देशन दिएका थिए ।
कोटेश्वरको ट्रष्ट कार्यालयको अवैध संरचना महानगरले बिहीबार नै हटाउन भनेको थियो । तर, बानेश्वरको अल्फाबिटा कम्प्लेक्सको अवैध संरचना हटाउन थालेपछि कोटेश्वर पुग्न सकेको थिएन । यद्यपि, स्वकीय सचिव शाहले कहाँ जाने भन्नेबारे केहीबेरमा यकिन हुने बताए । “कहाँ जाने भन्नेबारे हाम्रो प्लान बनिसकेको छ । केहीबेरमा सार्वजनिक गर्छौं,” उनले भने ।
पछिल्लो समय मेयर बालेनको एक्सनप्रति आम नागरिकले प्रशंसा गरिरहेका छन् भने व्यापारीहरु असन्तुष्ट छन् । बुधबार बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सले बनाएको संरचनामा मेयर बालेनले डोजर चलाएका थिए ।
फेसबुक प्रतिक्रियाहरु