चितवन । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेणु दाहालले भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बताउनुभएको छ । मेयरमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै दाहालले दोस्रो कार्यकालमा आफ्नो संकल्प पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विज्ञापन
‘भरतपुरलाई देशकै हेर्न लायक, गर्व गर्न लायक । देशकै नमुना स्मार्ट सिटीको जुन संकल्प छ । त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उहाँले बताउनुभयो । दोस्रो कार्यकाल नै आफ्नो अन्तिम कार्यकाल भएको बताउँदै उहाँले जनतालाई निराश नबनाउने दाबी गर्नुभयो ।
विज्ञापन
मेयरमा निर्वाचित दाहालले १२ हजार ४४६ मतान्तरले नेकपा एमालेका विजय सुवेदीलाई पराजित गर्नुभएको हो । दाहालले ५२ हजार २८ मत प्राप्त गर्दा सुवेदीले जम्मा ३९ हजार ५८२ मत ल्याउनुभयो ।
आफूले सोचेभन्दा बढी मत पाएको भन्दै उहाँले पहिलो कार्यकालमा गरेको कामबाट परीक्षण भएर आएको बताउनुभयो । पहिलो कार्यकालमा अधुरा रहेका कामलाई दोस्रो कार्यकालमा पुरा गर्ने उहाँको भनाइ थियो ।
आफूले दिने योगदानमा कुनै कमि नगर्ने भन्दै उहाँले नगरको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्दै जाने बताउनुभयो । महानगरमा निर्माणाधीन सिटी हल, प्रशासनिक भवन, नारायणी नदी तटबन्धन, क्रिकेट रंगशाला, रिङरोड लगायतका ठूला गौरवका आयोजनालाई प्राथमिकता दिने उहाँको भनाइ थियो ।
महानगरमा ढल व्यवस्थापनका लागि डीपीआर तयार भइसकेको दाबी गर्दै उहाँले आगामी आर्थिक वर्षदेखि सुरु हुनेगरी काम थाल्ने जानकारी दिनुभयो । उहाँले अबको कार्यकालमा महानगरमा बेरोजगारीको अन्त्य गर्ने दाबी समेत गर्नुभयो ।
फेसबुक प्रतिक्रियाहरु