काठमाडौं। नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भरतपुर महानगरको मेयरमा कांग्रेसलाई सहयोग नगरे परिणाम सोचेभन्दा फरक हुनसक्ने बताएका छन्। शुक्रबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा खनालले गत स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) लाई सहयोग गरेको भन्दै यसपटक कांग्रेसलाई नेतृत्वमा सहयोग गर्न आग्रह गरे।
सभापति खनालले समूह भित्रबाट निर्देशन गरेर कार्यकर्तालाई नियन्त्रण गर्न खोज्ने कुरा राम्रो नभएको भन्दै त्यसबारेमा एकपटक सोच्न पनि पार्टीका नेताहरुलाई आग्रह गरे। उनले कार्यकर्ताहरुलाई केन्द्रबाट निर्देशित गर्न सकिने भएपनि हात समाएर मत खसाल्न नसकिने भन्दै यसले निर्वाचनको नतिजा सोचेको भन्दा फरक आउन सक्ने बताए। उनले कार्यकर्तालाई निराश बनाएर गरिएको कामले गठबन्धन र नेपाली कांग्रेस पार्टी नै धराशायी बन्ने बताए।
विज्ञापन
‘आकाश खस्यो भने के हुन्छ म भन्न सक्दिनँ। टिकट लिने र समूह भित्रबाट निर्देशन गरेर त्यसले कार्यकर्तालाई समात्ने कुरा राम्रो हो कि, कार्यकर्ताको मन जितेर निर्वाचन जित्ने कुरा? कार्यकर्ताको लेभलमा रहेका मानिसहरुलाई केन्द्रीय नेतृत्वबाट निर्देशित गर्न सकिन्छ। तर, मतदाताको हात समाएर मत हाल्न सकिँदैन’, उनले भने, ‘तसर्थ यो रिजल्ट भोलि त्यसपछिको हाम्रो सोच, हाम्रो दृष्टिकोण हाम्रो गठबन्धन कहाँ पुग्ने हो? त्यसबारेमा नेताहरुले पुनःविचार गर्नुपर्छ।’
विज्ञापन
उनले नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकाको प्रमुख कुनै हालतमा नछोड्ने पनि बताए। २०७४ सालको आफ्नो पार्टीले माओवादी केन्द्रलाई सहयोग गरेको र त्यसको पैँचो अब नेपाली कांग्रेसलाई माओवादीले तिर्नुपर्ने उनको जिकिर छ।
महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको दाबी रहने र अन्य पदमा गठबन्धनबीचमा तालमेल गरेर जान सकिने बताए। सभापति खनालले यस बारेमा पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता र पदाधिकारीहरुलाई जानकारी गराएको पनि बताए।
उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवनकै सांसद भएको र उनी चितवन जिल्लामा रहेका सबै राजनीतिक पार्टीको अभिभावक भएकोले पनि आफन्तवादलाई त्यागेर यस पटक कांग्रेसलाई महानगरको नेतृत्वमा सहयोग गर्नुपर्ने बताए।
फेसबुक प्रतिक्रियाहरु