काठमाडौं । नेकपा (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने भएको छ ।
आइतबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले महाअभियोग प्रस्तावलाई न्यायपालिका र लोकतन्त्रविरद्धको षडयन्त्रपूर्ण कदम भएको निष्कर्ष निकाल्दै प्रतिवाद गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
विज्ञापन
“यो कदम अदालतमाथिको प्रहार मात्र होइन । सिंगो लोकतन्त्रमाथिको प्रहार हो । हामीले यसलाई अत्यन्तै गम्भीर र षड्यन्त्रपूर्ण कदमका रूपमा लिएका छौँ । यो स्थानीय तहको चुनाव सार्न आएको पनि हुन सक्छ भन्ने हामीले अनुमान गरेका छौँ,” उनले भने ।
विज्ञापन
उनकाअनुसार सत्तारूढ गठबन्धनले सर्वोच्च अदालतमा विचाराधीन कतिपय मुद्दालाई प्रभावित गर्नेगरी पछिल्लो कदम चालेको एमालेको ठहर छ ।
महासचिव पोखरेलले सोमबार बस्ने संसदीय दलको बैठकले महाअभियोगको प्रतिवाद गर्नका लागि आवश्यक निर्णय लिने जानकारी दिए ।
“समग्रतामा भन्दा यो कदम लोकतन्त्रमाथिको प्रहारका रूपमा र जनताले स्थापित गरेको संघीय लोतान्त्रिक गणतन्त्रविरुद्धको प्रहारका रूपमा लिएका छौँ । हामीले पार्टीको तर्फबाट गम्भीर ढंगले प्रतिवाद गर्न आवश्यक छ भन्ने निष्कर्ष निकालेका छौँ,” उनले भने ।
कसरी प्रतिवाद गर्ने भन्नेबारे चाहिँ सोमबारको संसदीय बैठकले निर्णय लिने उनले बताए । आइतबार नै सत्तारूढ गठबन्धनका ९८ जना सांसदले जबराविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए ।
फेसबुक प्रतिक्रियाहरु