सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पनि अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध सडकमा उत्रिने भएको छ।
पाँच दलीय गठबन्धनको अर्को सदस्य राष्ट्रिय जनमोर्चाले बुधबारदेखि एमसीसीविरुद्ध सडक आन्दोलन थालिरहँदा समाजवादी पनि सडकमा ओर्लिने भएको हो।
विज्ञापन
एमसीसीको विरोधमा यही फागुन १ गते देशभर प्रदर्शन गर्ने निर्णय एकीकृत समाजवादीनिकट जनवर्गीय संगठनहरुले लिएका हुन्।
विज्ञापन
बुधवार बसेको एकीकृत समाजवादीको मोर्चा संगठनको बैठकले फागुन १ गते देशभर एकैपटक एमसीसीको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको हो।
फागुन १ गते दिउँसो २ बजे ७७ वटै जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्ने निर्णय भएको मोर्चा-संगठन प्रमुख एवम् पार्टी उपमहासचिव डा. विजयकुमार पौडेलले बताए।
विरोध प्रदर्शनका लागि पार्टीका जनवर्गीय तथा पेशागत संगठनहरुलाई निर्देशन दिइसकिएको पौडेलले बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २ गते बस्ने संसद बैठकमा एमसीसी पेश गर्ने तयारी गरेका छन्।
तर एमसीसीलाई लिएर सत्ता गठबन्धन विभाजित भएको छ। जनमोर्चापछि अब समाजवादी पनि सडकमा उत्रिने भएको हो।
समाजवादीले एमसीसीका केही बुँदा आपत्तिजनक रहेको जनाउँदै संशोधनबिना पास गर्न नहुने बताइरहेको छ।
एमसीसी मुख्यालयले सम्झौता पास गर्न फागुन १६ गतेसम्मको अल्टिमेटम दिएको छ। अहिले गठबन्धनमा कांग्रेस र जनता समाजवादी एमसीसी पास गर्ने पक्षमा छन्। माओवादी र एकीकृत समाजवादी भने विपक्षमा छन्।
भीम रावलको समर्थन
यसैबीच एकीकृत समाजवादी पार्टीले एमसीसीविरुद्ध थालेको आन्दोलनमा एमाले नेता डा. भीम रावलले समर्थन जनाएका छन्।
समाजवादीले एमसीसी सम्झौताको विरोधमा देशव्यापी आन्दोलनको घोषणा गरेपछि त्यसको समर्थनमा रावल पनि उभिएका हुन्।
उनले एमसीसीलाई राष्ट्रघाती भन्दै त्यसविरुद्ध जसले आन्दोलन गरे पनि आफ्नो साथ हुने बताएका छन्।
‘राष्ट्रघाती प्रावधान भएको सम्झौताविरूद्ध सडक प्रदर्शनका लागि पाइला चाल्नु प्रशंसनीय छ’, रावलले ट्विटरमा समाजवादी उपमहासचिव पौडेललाई जवाफ दिँदै भनेका छन्, ‘यस्तो प्रदर्शनमा देशभक्त नेपालीले साथ दिनुपर्छ।’
फेसबुक प्रतिक्रियाहरु