चितवन ।
मेडिकल सिटीका रुपमा परिचय बनाउँदै गएको भरतपुरमा केन्द्रीय शिक्षक अस्पताल बन्ने भएपछि यहाँका स्थानीय, राजनीतिक दल र सरोकारवाला उत्साहित भएका छन्। शिक्षक अस्पतालले सेवासँगै यहाँको विकास, रोजगारी सिर्जना गर्ने भन्दै उनीहरु उत्साहित भएका हुन्। दुई ठूला सरकारी अस्पताल, दुई वटा मेडिकल कलेज र २० भन्दा बढी साना ठूला निजी अस्पताल रहेको भरतपुरमा शिक्षक अस्पताल स्थापनासँगै स्वास्थ्य क्षेत्रको थप विकास हुने भएको छ।
विज्ञापन
भरतपुर महानगरपालिका–१५ भगवानपुरमा जग्गा उपलब्ध गराउन महानगर सहमत भएसँगै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अस्पताल बनाउने सैद्धान्तिक सहमति दिएको हो। शिक्षा मन्त्रालयले शिक्षक अस्पताल बनाउन सम्भाव्यता अध्ययन र जग्गा पहिचान समिति गठन गरेसँगै यहाँ अस्पताल बनाउन भरतपुर महानगरपालिकाले पहल थालेको थियो।
विज्ञापन
महानगरपालिका प्रमुख रेनु दाहालले सो ठाउँमा ८ बिघा १६ कठ्ठा जग्गा उपलब्ध गराएसँगै सोही ठाउँमा अस्पताल बनाउने निर्णय भएको बताइन्। महानगरपालिकाको प्रयास सफल भएको भन्दै उनले यस क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। अस्पताल बनेसँगै स्थानीयवासीको जीवनस्तर उकासिने उनको भनाइ छ। रोजगारी तथा व्यापार व्यवसाय फस्टाउनुका साथै स्थानीय उत्पादनको खपतसमेत बढ्ने उनले बताइन्। आम नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउन यो अस्पताल सहयोगी बन्ने उनी बताउँछिन्।
नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले शिक्षक आन्दोलनले स्थापित गरेको शिक्षक अस्पताल चितवनमा बन्ने निर्णयले यहाँको समग्र विकास हुने बताए। शिक्षकको छुट्टै अस्पताल हुँदै गर्दा यसबाट आम नेपालीले लाभ लिनसक्ने उनको भनाइ छ। नेकपा (एमाले)का नेता रामप्रसाद न्यौपानेले भरतपुरलाई साँच्चिकै मेडिकल सिटीको रुपमा विकास गर्न अस्पताल सहयोग पुग्ने बताए।
नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष यमबहादुर परियारले महानगरको पहलमा भएको उपलब्धि चितवनवासीका लागि गौरवको विषय भएको बताए। अन्य क्षेत्रको विकाससँगै स्वास्थ्य सेवाको विकासमा यसले थप ऊर्जा भरेको उनको भनाइ छ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले शिक्षक केन्द्रीय अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्नुपर्ने बताए। यसो हुँदा शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा टेवा पुग्ने उनको भनाइ छ। यो अस्पतालबाट चिकित्सक र सेवाग्राही दुवैले सहज सुविधा पाउने उनले बताए।
नेपालमा स्थायी शिक्षक एक लाख सात हजार, राहत ४० हजार, पाठ शिक्षक ४० हजार, विद्यालय कर्मचारी ३६ हजार, निजी स्कुलका शिक्षक एक लाख ५० हजार र पूर्व शिक्षक ३० हजार छन्। यस अस्पतालले सर्वसाधारणको पनि उपचार गर्ने छ। अस्पताल बन्दै गर्दा कार्यविधि बन्ने र शिक्षक कर्मचारीले पाउने सुविधाको बारेमा निर्णय हुने छ।
फेसबुक प्रतिक्रियाहरु