चितवनको सौराहामा नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र चलिरहेको थियो।
निर्वाचन नगरी ध्वनि मतका आधारमा अध्यक्षदेखि १९ पदाधिकारीसहित ३०१ जनाको नामावली केपी शर्मा ओलीले वाचन गर्न थाले।
विज्ञापन
त्यसमा असन्तुष्टि जनाउँदै नेता भीम रावलले निर्वाचनबाटै नेतृत्व चयन गर्नुपर्ने अडान राखे। उनी अध्यक्ष पदमा ओलीलाई चुनौती दिने मनस्थितिमा थिए।
विज्ञापन
ओलीले अन्तिमसम्म सम्झाउन कोसिस गरे तर, रावलले मानेनन्। सर्वसम्मत हुने दाउमा रहेका ओलीलाई चुनौती दिँदै रावलले अध्यक्षमा उम्मेदवारी दिए।
रावलकै साथ लागेर तत्कालीन उपमहासचिव घनश्याम भुसालले पनि उपाध्यक्षमा उम्मेदवारी दिए।
ओलीको सूचीमा नपरेका तत्कालीन सचिव भीम आचार्यले पनि त्यही पदम उम्मेदवारी दिए।
यी तिनै नेता माधवकुमार नेपालले गठन गरेको नयाँ पार्टीमा नलागी गत असार २७ गते राति भएको दस बुँदे सम्झौताका आधारमा एमालेमै बसेका नेता थिए।
नवौं महाधिवेशनमा माधव नेपाल प्यानलबाट रावल उपाध्यक्ष, भुसाल उपमहासचिव र आचार्य सचिवमा विजयी भएका थिए।
तर, दसौँ महाधिवेशनमा तिनै नेताले उम्मेदवारी दिएका पदमा जित्न सकेनन्। रावलले त एमालेको केन्द्रीय सदस्य पद समेत अस्वीकार गरेका छन्। यद्यपि अहिले पनि उनी एमालेकै नेताका रुपमा सक्रिय छन्।
दसौँ महाधिवेशनमै अध्यक्ष ओलीले जे जे दियो त्यही पद चित्त बुझाउनेमध्ये थिए, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट।
दस नेताका नामले चिनिने उनीहरुले एमालेमै संघर्ष गर्दै, आफ्ना एजेण्डा कार्यान्वयन गराउने योजनासहित माधव नेपाललाई साथ दिएका थिएनन्।
अर्थात, एमालेबाट विद्रोह गरेर अर्काे पार्टी बनाउन सकिन्छ भन्ने उनीहरुलाई पटक्कै विश्वास लागेन।
महाधिवेशनबाट रावल, भुसाल र आचार्यहरू पाखा लागे पनि ज्ञवाली, शाक्य, पन्त, भट्टराई र विष्ट भने नवौँ महाधिवेशनकै जिम्मेवारीमा दोहोरिन पाउँदा खुशी नै थिए।
महाधिवेशनमा अध्यक्ष ओलीले प्रतिनिधि छनौटमा एकलौटी गरेको भन्दै नजित्ने चुनावमा जान नचाहेका यिनै दस नेताहरुले जिल्ला तहमा आफ्नो प्रभाव र ठाउँ खोज्ने प्रयत्न थाले।
त्यसकै निरन्तरतास्वरुप उनीहरुले जिल्ला अधिवेशनमा पनि आफ्नो शक्ति देखाउन खोजेका थिए। तर यो अधिवेशनबाट उनीहरु एमालेभित्र झन् कमजोर सावित भएका छन्।
धक्का
पुस २३ गते एकैसाथ एमालेमा ६३ वटा जिल्लाको सम्मेलन उद्घाटन गरियो।
त्यसपछि फरक फरक मितिमा विभिन्न जिल्लामा भएको नेतृत्व चयनमा रावल, भुसाल र भट्टराईले थप धक्का ब्यहोरे।
एमालेमा आफ्नो पहिचानको परीक्षण गरेका उनीहरुलाई ओलीकै शक्तिले असफल पारेको दस नेतामध्येका एकले स्वीकार गरे। लामो कुराकानी गर्दै ती नेताले भने, ‘दसौँ महाधिवेशनको प्रतिनिधि चयनमा मात्रै होइन, प्राय सबै जिल्लामा अध्यक्ष ओली पक्ष हाबी भयो।’
मंगलबार बेलुकासम्म निर्वाचन र सहमतिका आधारमा नेतृत्व चयन भएका ५२ जिल्लामध्ये भोजपुरबाहेक ५० जिल्लामा ओली पक्षकै जिल्ला अध्यक्ष निर्वाचित भएका छन्।
भोजपुरमा माधव नेपाललाई साथ नदिएर एमालेमै बसेका शरणकुमार राई सर्वसम्मत अध्यक्ष चयन भएका छन्।
उनी तत्कालीन नेकपा विभाजित हुँदा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको समूहको अध्यक्ष भएका थिए। त्यसपछि एमाले फर्किएर माधव नेपालले बनाएको समानान्तर कमिटीको पनि उनी अध्यक्ष भए।
अहिले ओलीनिकट स्थायी कमिटी सदस्य शेरधन राईको समेत मन जित्दै उनी भोजपुर एमालेको सर्वसम्मत अध्यक्ष हुन सफल भएका छन्।
तर कतिपय ठाउँमा माओवादीबाट आएकासमेत जिल्ला कमिटीको नेतृत्वमा पुगेपछि विद्रोहको स्वर सुनिएको छ।
अर्घाखाँचीसहितका जिल्लामा सर्वसम्मतिका नाममा विभेद गरिएको भन्दै केही नेता कार्यकर्ताले एमाले छाडेको घोषण पनि गरेका छन्।
योगेश असफल
योगेश भट्टराईको गृहजिल्ला ताप्लेजुङ र भीम रावलले आफ्नो पक्षका उम्मेदवार बनाएको कैलालीमा नमज्जासँग पराजित भए।
रुपन्देहीमा घनश्याम भुसालनिकट नेतालाई अध्यक्ष बनाउने प्रयास पनि सफल भएन। हारिने डरले चुनावमै सहभागिता नजनाएको भन्दै त्यहाँका एक जिल्ला नेताले असन्तुष्टि जनाए।
‘चुनावमा गएको भए हारजित जे भए पनि हुन्थ्यो, तर सर्वसम्मति भनेर साथीहरुले सम्झौता गरेर केही पदमा चित्त बुझाए,’ जिल्ला तहका ती नेताले नेपालखबरसँग भने, ‘जिल्ला नेतृत्वमै प्रतिस्पर्धा गरेको भए आफ्नो स्ट्रेन्थ थाहा हुन्थ्यो, त्यो पनि गर्न चाहेनन्।’
ओली हावी
माओवादी केन्द्र र दस बुँदे सहमतिबाट आएका नेताहरुसहितको पार्टी भएकोले अध्यक्ष ओली तथा अन्य थुप्रै नेताहरु एमालेलाई नेकपाको निरन्तरता भन्दै आएका छन्।
नेकपाकै निरन्तरता भएकैले कैलालीमा लेखराज भट्टले समर्थन गरेका रतन थापा विजयी भएका छन्।
सुदुरपश्चिम इन्चार्ज समेत रहेका भट्टले साथ दिएका थापाले भीम रावलले समर्थन गरेका रणबहादुर चन्दलाई हराएका हुन्।
कैलालीमा रावल, ताप्लेजुङमा भट्टराई, गुल्मीमा गोकर्ण विष्टहरुले आफ्नो पक्षको नेता जिताउन नसक्नु उनीहरुको जनाधार गुम्दै गएको एक केन्द्रीय नेताले बताए।
केन्द्रीय तहका पदाधिकारीहरुले आफूले समर्थन गरेको जिल्ला कमिटीमा समेत जिताउन नसक्नुले उनीहरुको साख घट्दै गएको देखिएको ती नेताले टिप्पणी गरे।
‘पदाधिकारी र केन्द्रीय तहका नेताले गृहजिल्लामा समर्थन गरेको व्यक्तिले निर्वाचन हार्छ भने त्यहाँ उसको जनमत नभएको देखाउँछ,’ ती नेताले नेपालखबरसँग भने, ‘तलको स्थिति कमजोर हुँदै गएपछि त्यसको असर संसदीय निर्वाचन पर्छ।’
माधवले कमजोर
तर, एमालेबाट माधवकुमार नेपाल र झलनाथ खनाल जस्ता पार्टी बनाएका नेताहरुको बहिर्गमनले पनि ओली पक्ष एकछत्र हाबी हुन पाएको हो।
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले माधव नेपालसहितका नेता बाहिरिएकै कारण दस नेताहरु कमजोर बनेको स्वीकार गरे।
‘माधव नेपाल, झलनाथ खनाल लगायतका एमाले बनाउने नेताहरुले नयाँ पार्टी बनाउँदा ५५ जना केन्द्रीय सदस्य लिएर जानुभयो, अहिले अध्यक्ष ओली पक्ष हाबी हुनुको कारण त्यही हो,’ ज्ञवालीले नेपालखबरसँग भने, ‘जब हाम्रो संख्या थोरै हुन्छ, अनि हामी अल्पमतमा पयौँ।’
माधव नेपालले जिल्ला तहकासमेत धेरै नेताहरु लगेको उनले स्वीकार गरे।
‘पहिलेदेखि जिल्लामा बहुमत संख्या माधव कमरेडसँग थियो, तर, उहाँले धेरै साथीहरु लिएर गएपछि स्वभाविक रुपले ओली पक्षले प्राय धेरै जिल्लाको नेतृत्व पाएको हो,’ ज्ञवालीले थपे।
नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई ४३ मतले हराउँदै ओली अध्यक्ष बनेका थिए।
ओली अध्यक्ष बने पनि नेता नेपालको प्रभाव देशभर थियो। त्यसबेला ७५ मध्ये ३८ जिल्लाको नेतृत्व नेपाल पक्षले पाएको थियो।
हारको डरले सर्वसम्मत
अर्का एक स्थायी कमिटी सदस्यका अनुसार चुनावमा जाँदा हारिने डरले गर्दा कतिपय जिल्लामा उपाध्यक्ष, सचिव लगायतका पदाधिकारी पद लिएर पनि सर्वसम्मत गरिएको हो
‘संख्या नै थोरै भएपछि चुनावमा जाँदा हारिने निश्चित हुन्छ,’ ती नेताले भने, ‘सहमति गर्दा उपाध्यक्ष, सचिव पाइन्थ्यो। अनि तिनै पद लिएर अस्तित्व जोगाउने प्रयास गरियो।’
‘माधव नेपालले यति राम्रो संगठन भएको पार्टीको लहरा चुँडाएर जानुभयो, अब देशभर एकपटक अध्यक्ष ओली पक्षकै बर्चस्व र दबदबा हुन्छ,’ ती नेताले भने।
तर, उपाध्यक्ष ज्ञवाली भने जितिने सम्भावना देखिएका जिल्लामा चुनावमा गएको दाबी गर्छन्।
‘हामी पहिलादेखि बलियो भएको स्थानमा चुनावमा गएका हौं, जित्ने प्रयत्न पनि गरियो तर, सोचेजस्तो भएन,’ उनले भने।
एमालेमा अब कुनै गुट बनाउन नदिने अध्यक्ष ओलीको चेतावनीले पनि दस बुँदे गरेर बसेका नेताहरुले आफ्नो शक्ति दह्रोसँग देखाउन सकेका छैनन्।
‘समूह र गुट बनाएर जाने भन्दा पनि वैचारिक रुपमा अघि बढ्नुपर्छ,’ ज्ञवालीले थपे, ‘एजेण्डामा सहमति वा असहमतिको कुरा गर्नुपर्छ, समूह बनाएर हिँड्नु राम्रो हुँदैन।’
फेसबुक प्रतिक्रियाहरु