मङ्लबार, पुस २, २०८१
  • होमपेज
  • समाचार
  • जनतामा सही दृष्टिकोण दिने पार्टी माओवादी केन्द्र मात्रै हो : लीलामणि पोख्रेल
समाचार

जनतामा सही दृष्टिकोण दिने पार्टी माओवादी केन्द्र मात्रै हो : लीलामणि पोख्रेल

लीलामणि पोख्रेल

नेपाली कांग्रेस, नेकपा (एमाले), राप्रपा लगायतका पार्टीले हालैमात्र महाधिवेशन सम्पन्न गरेका छन्। नेकपा (माओवादी केन्द्र) पनि राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा छ। आगामी साता हुन गइरहेको माओवादी केन्द्रको सम्मेलनले कस्तो नीति र नेतृत्व छनौट गर्ला? यतिबेला चर्चा परिचर्चा चलिरहेको छ।

विज्ञापन

अन्य पार्टीले जसरी नै माओवादीले नेतृत्व छनौटमा लोकतान्त्रिक विधि नअपनाएको टिकाटिप्पणी पनि हुने गरेको छ। कम्युनिष्ट पार्टीको मर्म र नीति नबुझेकाले बुर्जुवा लोकतन्त्रको हवाला दिदैं गरेका टिप्पणीप्रति खासै प्रतिक्रिया जनाउन आवश्यक छैन। तर राष्ट्रिय सम्मेलनले कस्तो विचार पारित गर्छ, के कार्यदिशा तय गर्छ, संगठनात्मक व्यवस्थापन कसरी गर्छ, सांस्कृतिक बिचलनबिरुद्ध रुपान्तरणको विषयलाई कसरी सम्बोधन गर्छ र त्यसलाई कार्यान्वयन गर्न कस्तो नेतृत्व छनौट गर्छ भन्ने कुरा आम जनताले र पार्टी पङ्तीले चनाखोका साथ हेरिरहेका छन्।

विज्ञापन

नेपालको राजनीतिमा र विशेष गरी कम्युनिष्ट आन्दोलनमा भएका विभिन्न आरोह अवरोहबीच हामीले धेरै सकारात्मक र नकारात्मक शिक्षा लिएका छौं। त्यसैले माओवादी केन्द्रको सम्मेलन सामु ठूलो अभिभारा छ। त्यो अभिभारालाई पुरा गर्ने विचार–कार्यदिशा र त्यो बिचार–कार्यदिशालाई कार्यान्वयन गर्ने नेतृत्व हामीले चयन गर्नुपर्ने छ।

वि.सं २००६ सालमा चार जना क्रान्तिकारी युवाले निर्माण गरेको कम्युनिष्ट पार्टी आज दर्जनौंको संख्यामा छन्। केही खुद्रा पार्टीलाई छोडेर हेर्दा ती पार्टीको केन्द्रीय समितिमा सयौँ सदस्य छन्। यसमध्ये दक्षिणपन्थी पार्टीको नेतृत्व कम्युनिष्ट नामधारी एमालेले गरिरहेको छ भने उग्र क्रान्तिकारी राग अलाप्नेहरू पनि छन्। तर कतिपय कमी कमजोरीका बाबजुद जनतामा सही दृष्टिकोण दिने पार्टी माओवादी केन्द्र मात्रै हो। यसले अहिले राष्ट्रिय सम्मेलनको तयारीसँगै संगठनात्मक पुनर्संरचनाको प्रयासलाई घनिभूत रूपमा अगाडि बढाएको छ।

नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र) विभाजन भई २०५१ सालमा नेकपा (माओवादी) र नेकपा एकता केन्द्र गठन हुँदा साना कमिटीहरू थिए। ती चुस्त र व्यवस्थित थिए। जनयुद्धको क्रममा नेकपा माओवादी व्यवस्थित पार्टी थियो। सानो, चुस्त तर धेरै कमिटी निर्माण गर्ने गरिएको थियो। शान्ति प्रक्रियामा आएपछिको केही समयसम्म पनि कमिटी भद्दा थिएनन्। हरेक बैठकमा कमिटीका हरेक सदस्यले विचार राख्ने र अन्तर संवादबाट भएका निर्णयको स्वामित्व लिने गर्दथे। सदस्यको सक्रिय सहभागिताबाट निर्णय भएका हुन्थे, चाहे त्यहाँ फरक मत नै किन नहोस्।

शान्ति प्रक्रियालाई बुझ्ने र सफल पार्ने सन्दर्भमा माओवादी पार्टीभित्र अन्तरविरोध देखा पर्‍यो। त्यसले पार्टीलाई फुटमा लग्यो। फुटको क्षतीबाट पार्टीलाई जोगाउने तथा बलियो बन्ने क्रममा सबैले नेता कार्यकर्तालाई माथिल्लो जिम्मेवारी दिए। मुल पार्टी माओवादी केन्द्रमा भन्दा फुटेर जानेहरूमा यो समस्या बढी देखा पर्‍यो।

पार्टी फुटेको केही वर्षमा पुनः ध्रुवीकरण सुरु भयो। किरणहरु सँग जानुभएका बादलहरू विद्रोह गरेर पुन पार्टी एकतामा आउनु भयो। तर विगतमा तल्लो तहमा रहेका कमरेडहरु माथिल्लो तहमा रहनेगरी एकता गर्नुपर्ने भयो। मुल पार्टीमा रहेका कमरेडहरु एका दुईलाई छोडेर अधिकांश पुरानै पोजिसनमा थिए। ध्रुवीकरण भएर आउने कमरेडहरु माथि पुगेपछि मुल पार्टीका सोही तहका कमरेडहरूको जिम्मेवारी एकरूप बनाउन एउटै तहमा पदोन्नति गर्नुपर्‍यो। जस्ले गर्दा स्थानीय तहमा सयौं हुँदै केन्द्रसम्म आइपुग्दा हजारौंको संख्यामा भद्रगोल कमिटीहरू बने।

हजारौंको संख्याको केन्द्रीय कमिटी भएपछि बैठक हुनसक्ने कुरा भएन। यसले एकातिर संगठनात्मक संरचना अव्यवस्थित भयो भने अर्कोतिर बिचार–कार्यदिशा निर्माणको प्रक्रिया पनि ठप्प भयो। बैठकहरू कार्यक्रमबारेको मोटो छलफल र औपचारिक निर्णयमा मात्र सीमित भए। चेन अफ कमाण्डभित्र छलफल नै भएन। जताततै भद्रगोल र अराजक स्थिति देखापर्यो।

यसलाई सच्याउने प्रयासबारे घनिभूत छलफल भएर कार्ययोजना बन्दै गर्दा, सांगठनिक भद्रगोलकै बीचमा २०७४ को आम निर्वाचन आयो। संगठनात्मक व्यवस्थापन, विचार निर्माण, कार्यदिशा निर्माण, सांस्कृतिक रुपान्तरण जस्ता कमजोरी सच्याउने प्रयास सार्थक नहुँदै आमनिर्वाचनमा केन्द्रित भएपछि त झन् हामी गुण्डा, गन र गोल्ड अर्थात ‘थ्री जी’ पक्षधरजस्तो देखिन पुग्यौं।

‘थ्री जी’लाई संस्थागत गरिरहेको एमालेसँग मोर्चा बनाएर निर्वाचनमा जाँदा त्यसले झन् ठूलो प्रश्रय पायो। जनतामा बाम एकताको उर्जाले चुनावी परिणाम त अनुकुल नै आयो, तर विचार र सांगठनिक दृष्टिकोणले लगभग विघटनको अवस्थामा पुगियो। अझ एमालेसँग एकता भएपछि कम्युनिष्ट पार्टीबाट बुर्जुवा पार्टी जस्तै बन्यो माओवादी पनि।

एकीकृत पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ४ सय ४१ सदस्यीय केन्द्रीय समिति बन्यो। जुन समितिको न त बैठक बस्थ्यो, न त विचार र योजनाबारे छलफल नै हुन्थ्यो। एकजना अध्यक्ष केपी शर्मा ओली दिने र अरु सबै माग्नेजस्तो गरेर पार्टी चलाउनु पर्‍यो। पार्टी त के भन्नु, पार्टी नामको ‘केपी क्लब’ चल्यो।

हामी क्लबका अध्यक्षले निर्णय सुनाउँदा ताली पड्काउने सदस्यमा सीमित भयौं। हामी बहुसंख्यक केन्द्रीय सदस्यहरू आजको संघीय लोकतान्त्रिक गणतन्त्र जोगाएर सामाजिक न्याय हुँदै वैज्ञानिक समाजवादमा अगाडि बढ्ने सांगठनिक संरचनाको पक्षमा थियौं भने ‘केपी क्लब’ जबजको थोत्रो रटान जप्दै कम्युनिस्ट आन्दोलनलाई विघटन गर्ने प्रतिगामी सांगठनिक बाटोमा लिप्त थियो।

‘केपी क्लब’को प्रतिगामी यात्राले हामीलाई आ–आफ्नै बाटोमा लाग्नुपर्ने अवस्थामा पुर्यायो। अर्थात ‘केपी क्लब’लाई सच्याएर बृहत कम्युनिस्ट आन्दोलनको नयाँ वैचारिक र सांगठनिक बाटो कोर्ने हाम्रो प्रयत्न बेकार सावित भयो। त्यसले क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई पुन: ध्रुवीकृत गर्दै अगाडि बढाउने बाटो सिर्जना भने गर्यो। तर अहिले पनि हामी सही बाटोमा आइसकेका छैनौं, आउने प्रयत्नमा मात्र छौं।

हामीले सेल, पालिका, जिल्ला, प्रदेश लगायतका समितिहरु चुनिसकेका छौं। हामीले समितिमा अन्तर संवाद नहुने र सीमित नेतृत्वको प्रस्तावबाट निर्णय पारित हुने क्रमलाई सच्याउने प्रयास गरेका छौं। अर्थात सकेसम्म सानो, चुस्त र गतिशील र धेरै कमिटीहरू बनाउन खोजेका छौं।

यसले फेरि कमिटी प्रणालीमा उत्साह आएको छ। नेता, कार्यकर्ताहरूले उत्साह प्रकट गरेका छन्। सामाजिक सञ्जालमा होइन, सम्मेलन र बैठकमा आफ्नो बिचार र दृष्टिकोण राख्न थालेका छन्। लामो समयको सांगठनिक भद्रगोल र अराजकतालाई कम्युनिष्ट पार्टीको सांगठनिक प्रणालीमा ढाल्ने प्रयास भइरहेको छ। अहिले भइरहेको काम पूर्ण छैन, तर सकारात्मक दिशा उन्मुख भने छ।

अहिले पनि समितिहरु तीन अंकका बनेका छन। त्यसले बैठकबाट भएका निर्णयको सबैले स्वामित्व नलिने, केही नेता सर्वेसर्वा हुने र बिचार परिष्कृत हुने अवसर नपाउने समस्या आउनसक्छ। तर सांगठनिक जीवनमा विघटनकै डिलमा पुग्नेगरी अस्तव्यस्त भइसकेको कम्युनिष्ट पार्टी सही बाटोमा आउने क्रममा भएकोले माओवादी संगठनको पुनर्संरचना भएको मान्न सकिन्छ।

जाती, क्षेत्र, लिङ्ग, वर्गलाई समेटी समावेशी बनाउनैपर्ने कारणले पनि समितिहरु केही ठूला भएका छन्। धेरै तर चुस्त समावेशी समितिहरु बनाएर आगामी दिनमा सबै तहका समितिलाई दुई अंकमा सीमित गर्नैपर्छ। यो राष्ट्रिय सम्मेलनबाटै त त्यो हुनसक्ने देखिँदैन। तर बिस्तारै त्यस बाटोमा जानैपर्छ। राष्ट्रिय सम्मेलनले त्यो बाटो तय गर्ने आशा गर्न सकिन्छ।

अन्त्यमा,
कतिपयले अन्य पार्टीको उदाहरण दिँदै माओवादी केन्द्रले नेतृत्व छनोटमा लोकतान्त्रिक बिधि नअपनाएको टिप्पणी गर्ने गरेका छन्। हामी ‘केपी क्लब’को एमालेले जस्तो देखावटी निर्वाचन गर्ने पक्षमा छैनौं। न त बुर्जुवाहरूले जसरी स्वच्छन्द छाडेर नै नेतृत्व छनौट गर्ने पक्षमा छौं। कम्युनिष्ट पार्टीले जसरी नेतृत्व छनौट गर्छ, हामी त्यसरी नै गर्छौं।

नेतृत्व विकास, विचार निर्माण र कार्यदिशाको कार्यान्वयनमा को, कसरी अगाडि बढेको छ भन्ने हेरेर नेतृत्व चयन गर्ने शैलीलाई निरन्तरता दिन्छौं। सम्मेलनमा प्यानल प्रस्ताव गरेर त्यसमा छलफल गरी सकेसम्म सहमतीय प्रणालीबाटै नेतृत्व चयन गर्छौं। सहमती हुन नसक्दा बहुमतद्वारा निर्णय लिनु लेनिनवादी संगठनात्मक पद्धतिभित्रकै कुरा हो। बागमती प्रदेश सम्मेलनमा त्यो पद्धति लागु भैसकेको छ।

हाम्रो सांगठनिक जीवनको मर्म भनेको ‘विचार अभिव्यक्तिमा स्वतन्त्रता र कामकारवाहीमा एकरुपता’ हो। पिरामिड शैलीबाट नेतृत्व विकास हुँदा मात्र समितिहरु चलायमान हुनेछन्। र, क्रान्तिकारी कम्युनिष्ट आन्दोलन पनि सही ढङ्गले अगाडि बढ्नेछ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस