सोमवार, पुस ८, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुर महानगर कामबाट विकासको अनुभुती गराउदै, सिटिहल ६ लेन सडकको काम तीव्र
समाचार

भरतपुर महानगर कामबाट विकासको अनुभुती गराउदै, सिटिहल ६ लेन सडकको काम तीव्र

चितवन।

 

विज्ञापन

भरतपुर महानगरको गौरवको आयोजनाको रुपमा लिइएको सिटीहल र पुलचोक गोन्द्र्याङ ६ लेन सडक विस्तारको काम सन्तोषजनक भइरहेको छ ।

विज्ञापन

ठुला ठुला आयोजना निर्माणको काम समयमै सम्पन्न नभईरहँदा सिटी हल र ६ लेन सडक भने तोकिएको म्याद भित्र सक्ने गरी काम भइरहेको छ । दुबै आयोजना निर्माणका लागि इण्डो–सगुन–रौताहा जेभीसँग ठेक्का सम्झौता भएको थियो ।

 

नारायणगढको पुल्चोक–गोन्द्राङ ६ लेन सडकको काम १५ प्रतिशत सम्पन्न भएको छ । निर्माण सम्झौता भएको एक वर्षमा १५ प्रतिशत काम सम्पन्न भएको हो । भरतपुर महानगरकै गौरवको आयोजनाको रुपमा लिइएको उक्त सडक विस्तारका लागि गत वर्षको असोज २६ मा इण्डो सगुन जेभीसँग सम्झौता भएको थियो ।

 

आयोजनाको साइट क्लिरियन्स र विद्युतीय पोल हटाउने काम भइरहेको छ । केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) देखि गोन्द्र्याङसम्म बिजुलीको पोल हटाउने काम लगभग सम्पन्न भइसकेको छ । यता बसपार्क, हाकिमचोक, रिजालचोक, चौबिसकोठी र नारायणगढमा पनि बिजुलीको पोल हटाउने काम भइरहेको छ ।

 

यस्तै अहिले पर्खाल लगाउने, ढल र कल्भर्ट निर्माणको काम पनि तिव्र गतिमा भइरहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर बिजय दराईले सुरुवाती चरणमा अहिलेको कार्य प्रगति सन्तोषजनक नै मान्न सकिने बताए । साइट क्लियर गर्न समय लाग्ने उनले बताए ।

 

साइट क्लियर र ढल निर्माण सम्पन्न भएपछि कालोपत्रे गर्न धेरै समय नलाग्ने भएकोले अहिलेको कामलाई सन्तोषजनक नै मान्न सकिने उनको भनाई छ । “सुरुवाती अवस्थामा यतीको कामलाई नराम्रो भन्न मिल्दैन, उनले भने, साइट क्लियर र ढलहरुको काम सकिएपछि कालोपत्रेको काम त तिव्र गतिमा हुन्छ ।”

 

सडक अतिक्रमण गरेर बनाइएका घर टहरा तथा संरचनाहरु भत्काउने काम पनि भइरहेको छ । यद्दपी रिजालचोकदेखि बिमानस्थल हुँदै चौबिसकोटीसम्म भने सडक अतिक्रमण गरेर बनाइएका घर टहरा तथा संरचनाहरु भत्काउने काम रोकिएको लामो समय भएको छ । सर्वोच्च अदालतबाट नै स्टे अर्डर आएकोले उक्त क्षेत्रमा घर टहरा तथा संरचनाहरु भत्काउने काम रोकिएको हो । बिमानस्थल अगाडिका केही घर तथा रिजालचोक र चौबिसकोटीका केही घर तत्काल नभत्काउनु भनी स्टे अर्डर आएकोले उक्त क्षेत्रमा काम रोकिएको हो ।

 

३३ केभी विद्युतको पोल र सडकमा पर्ने भौतिक संरचनाहरु अहिलेको मुख्य चुनौती भएको कन्ट्र्याक म्यानेजर अनिल कार्कीले बताए । सडकमा नै परेको ३३ केभी लाइनको पुरानो पोलले केही समस्या पारिरहेको उनको भनाई छ । गोन्द्र्याङदेखि बसपार्कसम्म पोल स्थानान्तरण गर्ने काम लगभग सम्पन्न भइसकेको छ । केही ठाउँमा भने अझै पोल हटाउन बाँकी छ । यस्तै केही ठाउँमा नालीमा नै विद्युतीय पोल परेकोले नालीको काम पनि प्रभावित भएको छ ।

 

यता हाकिमचोकदेखि पुलचोकसम्म पनि समस्या उस्तै छ । यस क्षेत्रमा खाने पानीको पाइप सडकमा परेकोले पनि काम प्रभावित भएको छ । उक्त पाइप खाने पानी आँफैले स्थानान्तरण गर्नुपर्छ । उता गोन्द्र्याङ, आस्थाचोक र मिलनचोकमा फ्ल्याट कल्भर्ट निर्माणमा पनि ३३ केभीको पोलले समस्या बनाएको छ । यि क्षेत्रमा पिच भत्काएर पुन: निर्माण गर्न डाइभर्सन दिन पर्छ ।

 

बिजुलीको पोल समयमा नै स्थानान्तरण नहुँदा समस्या भइरहेको कार्कीले बताए । रिजालचोकदेखि बिमानस्थल हुँदै चौबिसकोटीसम्म सडकमा पर्ने घर भत्काउन स्टे अर्डर छ । यि मुख्य समस्याहरु समाधान हुन सके काम तिव्र गतिमा हुने उनको भनाई छ । अहिलेको कार्यप्रगति सन्तोषजनक रहेको उनले बताए । साइट क्लिरियन्स सम्पन्न भएपछि काम अझै तिव्र गतिमा हुने उनको भनाई छ ।

 

तोकिएको म्याद अगावै निर्माण सम्पन्न हुने गरी काम भइरहेको उनले बताए । “काम राम्रो भइरहेको छ । १५ प्रतिशत भौतिक प्रगती छ । तयारीको हिसाबले हेर्ने हो भने २० प्रतिशत छ, उनले भने, साइट क्लिरियन्स समयमा नै नहुँदा सोचे जस्तो काम गर्न पाएका छैनौं । तर पनि तोकिएको मितिमा होइन कि त्यो अगावै काम सक्ने हाम्रो योजना छ ।” उनले अघि भने, “बिभिन्न समस्याका बाबजुत पनि अहिलेको अवस्थामा म्यादको मितिमा नै काम सकिन्छ । यो हामीले पहिले देखि नै भन्दै आएका छौं ।

 

एक अर्ब १२ करोडको लागतमा पुल्चोक गोन्द्र्याङ सडक ६ लेनको बनाइदैछ । सडक निर्माणको जिम्मा पाएको इण्डो सगुन जेभीबुले २८ महिनाभित्र काम पूरा गर्ने गरी सम्झौता गरेको छ। गत वर्षको असोज २६ मा भएको सम्झौताअनुसार २०७९ फागुन १० मा काम पूरा गरिसक्नुपर्छ।

 

उक्त सडक देशकै नयाँ मोडेलमा बन्ने दाबी गरिएको छ । गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनल चोकसम्म अहिले दुई लेन रहेको सडक केन्द्रीय बस टर्मिनलदेखि रिजालचोकसम्म चार लेन छ। यो सडकमा अहिले चौबिसकोठी, भरतपुर आरोलो र बजार क्षेत्रमा चार लेन छ। दुई लेन भएको स्थानमा थप चार लेन र चार लेन भएको स्थानमा थप दुई लेन थपिने छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली भूमिगत गरिँदै छ।

 

सडकको दायाँबायाँ ११.५ र ११.५ मिटरको कालोपत्र हुनेछ। त्यसका बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन दुवैतिर रहनेछ भने तीनदेखि चार मिटरको फुटपाथ हुनेछ। बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरक फरक छ।

 

पुल्चोकदेखि लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म अलग अलग डिजाइन भएकाले त्यसमा केही फरक हुनेछ। बीचको भागमा हरियालीसहितका फूल रोपिनेछ।

 

उता सिटी हल निर्माणको काम पनि अहिले सन्तोषजनक नै रहेको छ । सिटीहल निर्माणको २२ प्रतिशत काम सम्पन्न भइसकेको छ । डिपीसी लेबलसम्मको ढलानको काम सम्पन्न भइसकेको छ ।

 

साइट इन्जिनियर आशिश श्रेष्ठका अनुसार सिटी हलको कार्य प्रगति सन्तोषजनक छ । यही अवस्थामा निर्धारित म्याद भित्र नै काम सम्पन्न हुने श्रेष्ठको भनाई छ । अहिले ४२ जना जनशक्ति सिटी निर्माणको कामको खटिएका छन् ।

 

तोकिएको म्याद अगावै निर्माण सम्पन्न भइसक्ने प्रोजेक्ट इन्जिनियर प्रविण गुरागाईको भनाई छ । अहिले चाडपर्वको समयमा पनि काम सन्तोषजनक रहेको र छठपछि तिव्र गतिमा काम अघि बढ्ने उनले बताए । अहिले ठुला चाडपर्वका कारण निर्माणको काम केही कम भएको जस्तो देखिएको उनको भनाई छ ।

 

यस्तै केही दिन अघिको वर्षाले पनि काम प्रभावित भएको थियो । वर्षाले धानबालीमा क्षति पुराउन थालेपछि कामदारहरु धान भित्र्याउन घर जाँदा जनशक्ति कम भएको उनले बताए । छठपछि जनशक्ति थपिने र काम तिव्र गतिमा हुने उनको भनाई छ । “हामी तोकिएको म्याद भित्रै काम सम्पन्न गर्ने गरि अघि बढीरहेका छौं । अहिले चाडपर्वको समय भएकोले कामको रफ्तार केही घटेको जस्तो देखिएको हो, तर पनि सन्तोष जनक नै छ, उनले भने, छठपछि काम तिव्र गतिमा हुन्छ । अहिलेको अवस्थालाई ओभरकम गर्ने गरी काम अघि बढ्छ ।”

 

उनले अघि भने, “बीचमा वर्षाले धेरै असर गर्‍यो । हाम्रो साइट होचो ठाउँमा रहेको सबैतिरबाट पानी आएर जम्ने समस्या भयो, उनले भने, उता तराई तिर धानबाली नष्ट हुँदा कामदारहरु धान भित्राउन घर गए । छठपछि सबै आउँछन् अनी कामले तिव्रता लिन्छ ।” दिनरात गरेर भए पनि निर्धारित समयमा नै निर्माण सम्पनन गर्ने लक्ष्य रहेको उनको भनाई छ ।

 

काम रोकिन नदिन निर्माण सामाग्रीहरु भण्डारण गरेर राखिएको उनले बताए । चैत्रसम्म स्ट्रक्चरको काम सकेर ट्रस्टको काम सुरु गर्ने योजना रहेको उनले बताए । अहिले फिलिङ, कोलम कास्टिङ, डण्डी जोड्ने लगायतका काम पनि भइरहेको छ ।

 

गत वर्षको मंसिर १८ गते इण्डो–सगुन–रौताहा जेभी र सघन शहरी तथा भवन निर्माण आयोजना चितवनबीच २७ महिनामा सम्पन्न गर्ने गरी ८७ करोड ८८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

 

जिल्ला समन्वय समितिको कार्यालय पछाडि बाइपास सडकसम्मको ४ बिघा ४ कठ्ठा जग्गामा सिटी हल निर्माण भइरहेको छ । यसमा २ हजार क्षमताको मुख्य हल रहनेछ भने ३०० क्षमताको छुट्टै सिटी हल तथा पर्याप्त पार्किङ रहनेछ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस