रुकुम पश्चिम।
रुकुम पश्चिमको सानीभेरी नगरपालिका–१ का प्रेम पुनले विनासकारी भूकम्पमा छोरा–बुहारीसहित दुई नाति गुमाए । घरमा आइतबार पुग्दा पत्नीसँगै भत्केको घरको बाहिर उनी टोलाइरहेका थिए । माटो र ढुंगाले बनेको उनको दुईतले घर पूरै भत्किएको थियो ।
विज्ञापन
विज्ञापन
भुइँ तलाको एउटा कोठा मात्रै बचेको थियो । ‘हामी बुढाबुढी यहीं (भुइँ तलामा) सुतेकाले बाँच्यौं, छोरा–बुहारी र दुई नाति माथिल्लो तलामा सुतेका थिएँ, च्यापिएर बिते,’ उनले भने, ‘मेरो त सहारा मात्रै होइन, भूकम्पले वंश पनि नास गर्यो।’
भूकम्पले उनको बास घरबाट सडकमा पुर्याएको छ । घर छेउमै कालोपत्रे गरिएको मध्यपहाडी राजमार्ग छ । त्यहीं सडकमा उनले दुई रात बिताइसके । अझै कति दिन र रात भोकै र नांगै सडकमा बस्नुपर्ने हो, उनलाई थाहा छैन । घरमा भित्राएको खाद्यान्न पनि पुरिएको छ । घरको भग्नावशेष पन्छाउने तागत पनि उनीसँग छैन ।
जाजरकोटको बारेकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पले उनीजस्तै धेरैलाई बेसहारा र घायल बनाएको छ । सरकारले घाइतेको उद्धार चाँडै गरे पनि राहत ल्याउन भने ढिला गरेको उनले बताए । ‘अहिलेसम्म कसैले पनि एकसरो पाल, खाद्यान्न र भाँडाकुँडा दिनुभएको छैन,’ आइतबार छोरा–बुहारी र दुई नातिको दाहसंस्कार गरेका प्रेमले भने, ‘चिसोमा भोकभोकै र नांगै कति दिन सडकमा सुत्नुपर्ने हो, थाहा छैन ।’
सानीभेरी गाउँपालिकाका उपाध्यक्ष कमला रोकाले गाउँका कुनै पनि घर बस्न लायक नभएको बताइन् । ‘वडा नं १ मा ४६३ घरधुरी छन् । जसमा धेरैजसो भत्किएका छन् भने बाँकी चिरा परेका छन्,’ उनले भनिन्, ‘घरभित्र बस्न सक्ने अवस्था छैन । राहत पनि आइपुगेको छैन ।’ सानीभेरी गाउँपालिकामा ५२ सय घरधुरी छन् । जसमध्ये केही घर मात्र बस्न योग्य छन् । धेरैको बास सडक र खेतवारीमा छ ।
‘सरकारले चाँडोभन्दा चाँडो पाल, खाद्यान्न र भाँडाकुँडा पाए पीडितलाई केही राहत हुन्थ्यो,’ उनले भनिन्, ‘चिसोमा खेतबारी र सडकको बासले अर्को समस्या निम्त्याउने खतरा छ ।’ उनले पालिकाले मात्र पीडितलाई आवश्यक राहत सामग्री पु¥याउन नसक्ने बताइन् । उनले भनिन्, ‘सबैलाई राहत दिनुपर्ने भएकाले पालिका एक्लैले सक्ने अवस्था छैन ।’ आजको नागरिक दैनिकमा समाचार छ ।
फेसबुक प्रतिक्रियाहरु