शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • स्रोत सुनिश्चित गर्न महानगरले ल्यायो पूरक बजेट, अगाडि बढ्यो सिग्नेचर ब्रिजको निर्माण प्रक्रिया
समाचार

स्रोत सुनिश्चित गर्न महानगरले ल्यायो पूरक बजेट, अगाडि बढ्यो सिग्नेचर ब्रिजको निर्माण प्रक्रिया

भरतपुर । भरतपुर महानगर प्रमुख रेनु दाहालले नारायणी नदीमा सिग्नेचर ब्रिजको निर्माणको प्रक्रिया अगाडि बढेको बताएकी छन् । उनले त्यसको लागि टेन्डर आह्वान भइसकेको बताइन् ।
हाल नारायणी नदीमा रहेको पुरानो पुलको आडैमा सिग्नेचर पुल बनाउने गरी ठेक्का आह्वान भएको हो । सडक विभागको पुल शाखाले डिजाइन एण्ड बिल्डको मोडलमा सिग्नेचर पुल बनाउने गरी ठेक्का आह्वान गरेको प्रमुख दाहालले बताइन् ।
२०३६ सालमा बनेको नारायणी नदीको अहिलेको पुल निकै पुरानो भइसकेको छ । सिग्नेचर पुलको कुल लम्बाइ ४०० मिटर र चौडाइ चार लेनको बनाउने गरी ठेक्का आह्वान भएको हो । पुलमा रातको समयमा आकर्षक बत्ती पनि हुनेछ ।
शुक्रबार विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको हलमा भएको भरतपुर महानगरको १२औँ नगरसभाको अवसरमा महानगर प्रमुख दाहालले सो कुरा बताएकी हुन् ।
नगरसभामा नीति तथा कार्यक्रम एवं बजेट कार्यान्वयनको समीक्षा गर्दै प्रमुख दाहालले महानगरलाई देशकै नमुना महानगरमा रुपान्तरण गर्न थुप्रै विकास निर्माणले गति लिएको दाबी गरिन् । उनका अनुसार पुस मसान्तसम्म महानगरभित्र थप २६ किमी सडक कालोपत्रे भएको छ । महानगरभित्र हालसम्म ६ सय ४८ किमी सडक नयाँ कालोपत्रे बनिसकेको छ ।
६ महिनामा ४ दशमलब ५ किमी सडक मर्मत र १० किमी सडक ग्राभेल गरिएको छ । ४ सय ३२ किमी सडक स्तरोन्नति अर्थात् ग्राभेलिङ गरिएको छ ।
नारायणी तटमा सी–बिच मोडलको विकास गर्ने काम अगाडि बढेको उनको भनाइ छ । नारायणी नदी नियन्त्रण आयोजनाबाट १५ करोड ५० लाख, सघन सहरी विकास आयोजनाबाट २ करोड, पर्यटन विभागबाट ७ करोडसहित २४ करोड ५० लाखबराबरको काम भइरहेको दाहालले बताइन् ।
नारायणी नदीआसपासका बस्तीलाई डुबान हुनबाट जोगाउन तटबन्धको काम भइरहेको उनले बताइन् । नारायणी तटबन्धको काम ५ खण्डमा २ अर्ब ५४ करोड ५० लाखको ठेक्का सम्झौता भएर काम अगाडि बढेको उनले बताइन् ।
पुलचोकदेखि गोन्द्राङसम्म हरियालीसहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक निर्माण भइरहेको छ ।
हुलाकी सडकको १९ किमी विस्तार, भरतपुर–मेघौली–गोलाघाट (सहायक राजमार्ग) खण्डको ८ किमी सडक निर्माणाधीन रहेको उनले बताइन् । यस्तै, निर्माणाधीन सिटी हल आगामी आर्थिक वर्षमा सम्पन्न हुने अवस्थामा पुगेको उनले बताइन् । भरतपुर महानगरको रिङरोडको ८८ किमीमध्ये ४२ किमी सडक निर्माण सम्पन्न हुने चरणमा पुगेको उनको दाबी छ ।
महानगरले ल्यायो पूरक बजेट
रकम अभावका कारण योजनाहरु समयमै सम्पन्न हुन नसक्ने अवस्था देखिएपछि भरतपुर महानगरले पूरक बजेट ल्याएको छ । १२औँ नगरसभामार्फत पूरक बजेट ल्याइएको हो । भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले स्रोत सुनिश्चित गरेर योजनाहरु समयमै सम्पन्न गर्न पूरक बजेट ल्याइएको जानकारी दिए ।
उनले नगरसभामार्फत २५ करोड ९५ लाख ४१ हजारबराबरको पूरक बजेट ल्याइएको बताए । महानगरले पूरक बजेट ल्याएसँगै भरतपुर महानगरको चालू आवको कुल बजेट अब ६ अर्ब १० करोड ३७ लाख ९७ हजार ४ सय रूपैयाँ पुगेको छ ।
उपप्रमुख अधिकारीले नै पूरक बजेट प्रस्तुत गर्दै सञ्चिति कोषको रकम खर्च गर्नलाई पनि पूरक बजेट ल्याउनु परेको बताए । अख्तियारी रकम पर्याप्त नभएमा वा कुनै सेवा वा क्षेत्रमा बढी खर्च गर्नु परेमा स्थानीय तहले पूरक बजेट ल्याउन सक्नेछन् ।
कुन योजनामा कति रकम ?
भरतपुर महानगरले २४ वटा कार्यक्रम तथा शीर्षकहरुमा पूरक बजेट पारेको छ । उपप्रमुख अधिकारीका अनुसार पशु विकास तथा दूध अनुदानमा १ करोड ९० लाख, विपन्न आर्थिक सहायता मिर्गौला डायलासिसका लागि १ करोड ५० लाख, परियोजना बैंक तयारीका लागि ९३ लाख ४१ हजार, समपूरक साझेदारी कोषमा ५ करोड, विशेष आकस्मिक कोषमा ३ करोड, बेपत्ता तथा घाइते परिवारका लागि २० लाख बजेट छुट्टयाइएको छ ।
यस्तै, विपन्न आर्थिक सहायताका लागि ५ लाख, भरतपुर आँखा अस्पताललाई १ करोड, वडास्तरीय पार्क वडा नम्बर–१८ मा ३० लाख, एमआरसी सेन्टर स्थापनाका लागि ८ लाख बजेट विनियोजन गरेको उपप्रमुख अधिकारीले बताए ।
यस्तै, स्मार्ट सिटी मास्टर प्लान निर्माणका लागि १ करोड, मागमा आधारित सडक तथा अन्य पूर्वाधार निर्माणमा ३ करोड, मागमा आधारित ग्राभेलिङका लागि १ करोड, ह्युमपाइप खरिदका लागि ५० लाख बजेट विनियोजन भएको छ ।
खर्च र राजस्व संकलनमा गिरावट
भरतपुर महानगरको पुँजीगत खर्च र चालूतर्फको खर्च दुवैमा गिरावट छ । राजस्व संकलन पनि मध्यमस्तरमा छैन । एकातिर बजेट खर्च हुन नसक्नु र अर्कोतर्फ राजस्व संकलन पनि लक्ष्यनजिक नपुग्दा भरतपुर महानगर थप दबाबमा परेको देखिन्छ ।
महानगरले चालू आर्थिक वर्षका लागि ५ अर्ब ८४ करोड ४२ लाख ५६ हजार बजेट ल्याएको थियो । पुस मसान्तसम्म चालूतर्फ ८८ करोड ६३ लाख १९ हजार र पुँजीगततर्फ ५३ करोड ८३ लाख १७ हजार खर्च भएको छ । यो खर्च न्यून हो ।
प्रतिशतमा लैजाँदा पुँजीगततर्फ ३५ र चालूतर्फ १७ प्रतिशतमात्रै खर्च भएको छ । महानगरले १ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा पुस मसान्तसम्म ३४ करोड २९ हजार अर्थात् २२ प्रतिशतमात्रै राजस्व संकलन भएको छ ।
ऐनहरु अनुमोदन
भरतपुर महानगरपालिकाको १२औँ नगरसभामा विभिन्न ऐनहरु अनुमोदन गरिएका छन् । भरतपुर महानगरपालिकाले शिक्षा ऐन, २०७५ (तेस्रो संशोधन) र भरतपुर महानगरपालिका सहकारी ऐन, २०७५ (तेस्रो संशोधन)लाई सर्वसम्मतरुपमा अनुमोदन गरेको हो । यस्तै, मेलमिलापकर्ताहरुको सूचीकरण गर्ने प्रस्ताव पनि सर्वसम्मत अनुमोदन भएको छ ।
‘घुमौँ भरतपुर’ अभियान
भरतपुर महानगरले घुमौँ भरतपुर अभियान चलाउने भएको छ । महानगर प्रमुख दाहालले आगामी वर्ष २०८० मा ‘घुमौँ भरतपुर’ अभियान चलाउने बताइन् । महानगरको पर्यटन प्रवद्र्धनका लागि भरतपुर–पोखरा–लुम्बिनी गोल्डेन ट्रयाङ्गल टुरिजम सर्किटको अवधारणालाई अगाडि बढाइएको उनले बताइन् ।
महानगर क्षेत्रको पर्यटन प्रवद्र्धन र विकास गर्न निजी क्षेत्रको समेत सहकार्यमा पर्यटकीय गन्तव्य पहिचान गरी ६ रात ७ दिनको टुर प्याकेज घोषणा गरिएको जानकारी प्रमुख दाहालले दिइन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस