Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • Breaking News
  • मेयर रेनु भन्छिन्– भरतपुर देशकै नमुना बन्छ
Breaking News

मेयर रेनु भन्छिन्– भरतपुर देशकै नमुना बन्छ

“६ महिनामा थपियो २६ किमि कालोपत्रे सडक, नारायणी तटबन्धनमा मनग्य बजेट “

भरतपुर । भरतपुर महानगरका मेयर रेनु दाहालले महानगरभित्र दीर्घकालिन महत्वका आयोजनाहरु कार्यान्वयनको चरणमा रहेको बताएकी छन् । १२ औँ नगरसभामा नीति तथा कार्यक्रम एव्म बजेट कार्यान्वयनको समीक्षा गर्दै उनले महानगरलाई देशकै नमुना महानगरमा रुपान्तरण गर्न थुप्रै विकास निर्माणले गति लिएको बताइन् ।
उनका अनुसार पुस मसान्तसम्म महानगरभित्र थप २६ किमि सडक कालोपत्रे भएको छ । महानगरभित्र हालसम्म ६ सय ४८ किमि सडक नयाँ कालोपत्रे बनिसकेको छ । ६ महिनामा ४ दशमलव ५ किमि सडक मर्मत र १० किमि सडक ग्राबेल गरिएको छ । ४ सय ३२ किमि सडक स्तरोन्नती अर्थात ग्राबेलिङ गरिएको छ ।
मेयर दाहालले पूर्वपश्चिम राजमार्गको नारायणी नदीमा सिग्नेचर ब्रीज निर्माणका लागि टेण्डर भैसकेको बताइन् । नारायणी तटमा सि–बिच मोडेलको विकास गर्ने काम अगाडि बढेको बताइन् । नारायणी नदी नियन्त्रण आयोजनाबाट १५ करोड ५० लाख, सघन सहरी विकास आयोजनाबाट २ करोड, पर्यटन विभागबाट ७ करोड सहित २४ करोड ५० लाख बराबरको काम भैरहेको बताइन् ।

मेयर दाहालले नारायणी नदी आसापासका वस्तीलाई डुबान हुनबाट जोगाउन तटबन्धनको काम भैरहेको बताइन् । नारायणी तटबन्धनको काम ५ खण्डमा २ अर्ब ५४ करोड ५० लाखको ठेक्का सम्झौता भएर काम अगाडि भएको जानकारी दिइन् । पुलचोकदेखि गोन्द्राङसम्म हरियाली सहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक निर्माण भैरहेको बताइन् । यस्तै वाइपास सडक ४ लेनमा विस्तार कार्य अन्तिम चरणमा पुगेको बताइन् । हुलाकी सडकको १९ किमि विस्तार, भरतपुर–मेघौली–गोलाघाट (सहायक राजमार्ग) खण्डको ८ किमि सडक निर्माणाधिन रहेको बताइन् । यस्तै निर्माणाधिन सिटी हल आगामी आर्थिक वर्षमा सम्पन्ने हुने अवस्थामा पुगेको बताइन् । भरतपुर महानगरको रिंगरोडको ८८ किमि मध्ये ४२ किमि सडक निर्माण सम्पन्न हुने चरणमा पुगेको बताइन् ।

विज्ञापन

मेयर दाहालले आगामी वर्ष २०८० लाई ‘घुमौं भरतपुर’ अभियान चलाउने बताइन् । महानगरको पर्यटन प्रवर्धनका लागि भरतपुर–पोखरा–लुम्बिनी गोल्डेन ट्रयाङगल टुरिजम् सर्किटको अवधारणालाई अगाडि बढाइएको बताइन् । महानगर क्षेत्रको पर्यटन प्रवर्धन र विकास गर्न निजी क्षेत्रको समेत सहकार्यमा पर्यटकीय गन्तव्य पहिचान गरी ६ रात ७ दिनको टुर प्याकेज घोषणा गरिएको जानकारी दिइन् ।

विज्ञापन

रेनुको कार्याकालमा के कस्ता काम भए ?
मेयर रेनु दाहाल अहिले दोस्रो कार्याकाल सम्हालिरहेकी छन् । उनी २०७४ र २०७९ मा भरतपुर महानगरको मेयर बनेकी हुन् । उनको पहिलो कार्याकालका कामबाट नगरबासी उत्साहित बनेर दोस्रो कार्याकालमा भारी मत सहित मेयरमा जिताएका थिए । उनको पछिल्लो कार्याकालमा भएका केही कामहरु यस्ता छन् । स्मार्ट स्ट्रिट लाइट जडानको काम ७८ कि.मि. दुरीमा सकिएको छ । दोस्रोे चरणमा १ सय ५० कि.मि. सडकमा स्मार्ट स्ट्रिट लाइट जडानको कार्य सुरु हुदैछ । फोहरको दिगो व्यवस्थापनका लागि ल्याण्डफिल साइट निर्माण गर्ने काम छिटै सुरुवात हुने चरणमा पुगेको छ । पछिल्लो ६ महिनामा विपद्मा परेका १ सय १५ जना विपद् प्रभावितलाई राहत वितरण गरिएको छ ।
महानगरबासीका छोरी सन्तानको रु १ लाखको १५ वर्ष अवधिको जीवन बीमा गर्ने अभियान अन्र्तगत हालसम्म २ सय १० जना छोरीहरुको बीमा भएको छ । ७ हजार लिटरसम्मको खानेपानी महसुल महानगरपालिकाले उपलब्ध गराएको छुट कार्यक्रममा १० वटा खानेपानी उपभोक्ता समितिसँग सम्झौता भएका छन् । जसमबाट १० हजार २ सय ९७ जना महानगरबासीले यो सुविधा लिएका छन् । यो वर्ष पौष मसान्तसम्म उपभोक्ता समितिबाट १ सय योजनाहरूको सम्झौता पुरा भएका छन् ।

२ सय १ योजनाको कार्य पुरा भएका छन् । खरिद ईकाइमार्फत् विभिन्न ३२ वटा योजना तथा कार्यक्रम ठेक्कामार्फत् अगाडि बढाइएको छ । तोकिएको समयमा कार्य सम्पन्न नगरेका र निर्माण कार्य अलपत्र पारेका निर्माण व्यवसायीहरूको सार्बजनिक खरिद नियमावली, २०६४ बमोजिम कारबाही प्रक्रिया अगाडि बढेको छ ।

महानगरको दिगो र योजनाबद्ध विकासका लागि पञ्चवर्षीय आवधिक योजना (२०७९÷८०–२०८३÷८४) तयार भएको छ । सडकको चौडाई निर्धारण गर्न नगर यातायात गुरुयोजना बनेको छ । बालबालिकासँग मेयर कार्यक्रम अन्तर्गत १८ विद्यालय–स्रोतकक्षाका १ हजार १ सय ५४ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । संस्थागत विद्यालयसँग समन्वय गरी कक्षा ११ मा २ सय ७४ जना र १२ मा २ सय ३९ जनालाई छात्रवृत्तिमा अध्ययनको व्यवस्था मिलाइएको छ । यो वर्ष शैक्षिक पूर्वाधार विकासका सबै ३२ वटा योजनाको सम्झौता भई काम अगाडि बढेका छन् ।

भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान गठन गरी क्रियाशील रहेको छ । दूध उत्पादक किसानलाई लक्षित गरी प्रति लिटर दूधमा ३ रुपैयाँ अनुदानको कार्यक्रमले निरन्तरता पाएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ कार्यालयबाट ५० वटा डिप बोरिङ र २ सय २५ वटा स्यालो बोरिङ वितरण भई महानगरभित्रका ५ हजार ५० बिघा जग्गामा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ ।

महानगरको पूरक बजेट २५ करोड
भरतपुर महानगरपालिकाले पुरक बजेट ल्याएको छ । १२ औँ नगरसभामा महानगरले २५ करोड ९५ लाख ४१ हजार बराबरको पूरक बजेट ल्याएको हो । उपमेयर चित्रसेन अधिकारीले पूरक बजेट प्रस्तुत गर्दै उनले पूरक बजेट ल्याउँदा थप दायित्व सृजना नहुने बताए । अख्तियारी रकम प्रयाप्त नभएमा वा कुनै सेवा वा क्षेत्रमा बढी खर्च गर्नुपरेमा स्थानीय तहले पूरक बजेट ल्याउन सक्ने व्यवस्था छ ।

थप २४ वटा नयाँ कार्यक्रम तथा शिर्षकहरुमा बजेट परेको हो । पशु विकास तथा दूध अनुदानमा १ करोड ९० लाख, विपन्न आर्थिक सहायता मृगौला डायलासिसका लागि १ करोड ५० लाख, परियोजना बैंक तयारीका लागि ९३ लाख ४१ हजार, समपुरक साझेदारी कोषमा ५ करोड, विशेष आकस्मिक कोषमा ३ करोड, वेपत्ता तथा घाइते परिवारको लागि २० लाख, विपन्न आर्थिक सहायतका लागि ५ लाख, भरतपुर आँखा अस्पताललाई १ करोड, वडास्तरीय पार्क वडा नम्बर १८ मा ३० लाख, एमआरसी सेण्टर स्थापनाका लागि ८ लाख बजेट छुट्टाइएको छ । यस्तै स्मार्ट सिटी माष्टर प्लान निर्माणका लागि १ करोड, मागमा आधरित सडक तथा अन्य पूर्वाधार निर्माणमा ३ करोड, मागमा आधरित ग्राबेलिङका लागि १ करोड, ह्युमपाइप खरिदका लागि ५० लाख बजेट छुट्टाएको छ । महानगरले चालु आर्थिक वर्षका लागि ५ अर्ब ८४ करोड ४२ लाख ५६ हजार बजेट प्रस्तुत गरेको थियो । पुस मसान्तसम्म चालु तर्फ ८८ करोड ६३ लाख १९ हजार र पूँजिगत तर्फ ५३ करोड ८३ लाख १७ हजार खर्च भएको जनाइएको छ ।

पूँजिगत तर्फ ३५ र चालु तर्फ १७ प्रतिशत खर्च भएको महानगरले जनाएको छ । महानगरले १ अर्ब ५० करोड राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा पुस मसान्तसम्म ३४ करोड २९ हजार अर्थात २२ प्रतिशत मात्रै संकलन भएको छ । “स्रोत सुनिश्चत गरेर योजना समयमै सम्पन्न गर्न पूरक बजेट ल्याएका हौँ”, उपमेयर अधिकारीले भने, “समुन्नत र सुदृद्ध महानगर बनाउन सहयोग पुग्ने अपेक्षा छ ।” महानगरले पुरक बजेट ल्याएपछि अब महानगरको कुल बजेट ६ अर्ब १० करोड ३७ लाख ९७ हजार ४ सय रुपैयाँ पुग्नेछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस